युकेमा सन् २०१५ देखि काउण्टर पार्ट लाइसेन्स खारेज हुने

BMAF2T UK two part Driving Licence

तस्वीर एजेन्सीबाट

लण्डन । युकेको ड्राइभर एण्ड भेइकल लाइसेन्सिङ एजेन्सी (डिभिएलए) ले नयाँ वर्षदेखि फोटो कार्डसँगै दिइने काउण्टर पार्ट लाइसेन्स वितरण बन्द गर्ने भएको छ ।
डिभिएलएले सोमबार जारी गरेको सूचना अनुसार एजेन्सीको रणयोजना र डिपार्टमेण्ट अफ ट्रान्सपोर्टले सन् २०११ मा जारी गरेको रेड टेप च्यालेञ्ज परियोजना अनुसार काउण्टर पार्ट लाइसेन्स वितरण रोक्न लागिएको हो ।
काउण्टर पार्ट लाइसेन्स वितरण रोकावटबाट पुग्ने असरलाई पुर्ताल गर्न एजेन्सीले विभिन्न चार किसिमका सेवाहरु शुरु गर्ने भएको छ ।
यस परिवर्तनबाट सेवाग्राहीलाई कुनै असर नपर्ने एजेन्सीले बताएको छ । एजेन्सीले सवारीचालकहरुले यसबारेमा कुनै कदम चाल्न नपर्ने पनि स्पष्ट गरेको छ ।
सन् १९९८ मा फोटो कार्ड भएको लाइसेन्स शुरु गरिनु अगावै जारी गरिएका कागजका लाइसेन्सलाई यो परिवर्तनले कुनै असर नपार्ने एजेन्सीले प्रष्ट्याएको छ । त्यस्तो सवारीचालक अनुमति पत्र भएकाहरुले भ्यु ड्राइभिङ रेकर्ड सर्भिस प्रयोग गरी आफ्नो सवारीचालक अनुमति पत्रका बारेमा जानकारी लिन सक्नेछन् ।
यस कदमबाट पेनाल्टी प्वाइन्ट र ड्राइभिङ लाइसेन्सको विद्यमान प्रकृतिमा भने कुनै फरक नपर्ने बताइएको छ ।
यदि सेवाग्राहीहरुलाई काउण्टर पार्ट लाइसेन्स आवश्यक छ भन्ने लाग्दैन भने उनीहरुले आफूसित भएको काउण्टर पार्ट लाइसेन्स नष्ट गर्न सक्ने एजेन्सीले जनाएको छ । तर काउण्टर पार्ट लाइसेन्स अझै पनि एजेन्सीमा ठेगाना परिवर्तन गर्नमा काम लगाउन सकिने बताइएको छ । ठेगाना परिवर्तन अनलाइनबाटै गर्न सकिने सुविधा छ ।
कार भाडामा लगाउने कम्पनीहरु र रोजगारदाताहरुका लागि एजेन्सीले नयाँ विद्युतीय सोधपुछ सेवा प्रयोगमा ल्याउने र त्यसबाट हालमा काउण्टर पार्ट लाइसेन्स हेरेर प्राप्त गरिंदै आएको जानकारी उपलब्ध हुने पनि एजेन्सीले प्रष्ट पारेको छ । यस्तो सेवा एजेन्सीसित फोन गर्न नचाहने र समयमै त्यस्तो जानकारी अत्यावश्यक हुने व्यवसायीहरुलाई मात्र लक्षीत गरिएको छ ।
लाइसेन्स वाहकको सहमतिमा मात्र र जोसित काउण्टर पार्ट लाइसेन्सका बारेमा सूचना पाउने अधिकार छ उनीहरुलाई मात्र त्यस्तो जानकारी उपलब्ध गराइने बताइएको छ ।
सवारी चालकहरुले द भ्यु ड्राइभिङ रेकर्ड सेवाबाट हालमा काउण्टर पार्ट लाइसेन्समार्फत पाउँदै आएको जानकारी पाउन समर्थ हुनेछन् । उनीहरुले एजेन्सीमा फोन, पत्र र फ्याक्सबाट सम्पर्क राख्न सक्नेछन् । एजेन्सीका अनुसार सवारी चालकहरुलाई आफ्नो लाइसेन्सका बारेमा निशुल्क अनलाइन सेवा शुरु गरिसकिएको छ ।
प्रहरीहरुले हाल काउण्टर पार्ट लाइसेन्सबाट प्राप्त गर्दै आएको विवरण अब पुलिस नेशनल कम्प्युटरबाट पाउने छन् । अदालती प्रयोजनका लागि एजेन्सीले विद्युतीय रेकर्ड प्रयोग गर्ने बताइएको छ ।
काउण्टर पार्ट लाइसेन्सको भण्डार र वितरण अनावश्यक बोझ भएको र नयाँ व्यवस्था सवारी चालक र ब्यवसायीका लागि धेरै सुविधाजनक हुने रेड टेप च्यालेञ्ज परियोजनाको दाबी छ । यसबाट काउण्टर पार्ट लाइसेन्स हराएमा शुल्क तिर्नुपर्ने भारबाट सवारीचालकहरु मुक्त हुने र फोटो कार्डमात्र बोक्दा सवारी चालकहरुलाई सजिलो हुने बताइएको छ ।
उता दीसइजमनीडटकमले भने नयाँ परिवर्तनबाट कार भाडामा विलम्व हुने र सेवाग्राहीहरुले ठगका नक्कली इमेलको झमेलामा पर्नसक्ने विश्लेषण गरेको छ । एजेन्सीले काउण्टर पार्ट लाइसेन्सको बदलामा प्रयोगमा ल्याउने विद्युतीय सेवा शुरु भइनसकेको अवस्थामा नयाँ वर्षको पूर्वसन्ध्यामा कार भाडामा लिन लामो समय पर्खन पर्ने र भाडा समेत महंगो हुन सक्ने दाबी आलोचकहरुले गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री