गोरखा भर्तीको २०० अौं वर्षाेत्सव मनाउन नयाँ च्यारिटी गठन

 

तस्वीर :फ्लीकर/अलान अबेक्रम्बी

तस्वीर :फ्लीकर/अलान अबेक्रम्बी

लण्डन । गोरखाहरु बेलायती सेनामा भर्ती भएको दुई शताब्दी पुगेको अवसर मनाउन युके मातहतको जर्सी आइल्याण्डमा नयाँ च्यारिटी गठन गरिएको छ ।
युके अधीनस्त भएपनि फ्रान्स नजिक अवस्थित जर्सीमा द गोरखा वेलफेयर ट्रष्ट जर्सी नामक च्यारिटी संस्था गठन गरिएको स्थानीय वेभ पोर्टल आइल्याण्ड न्युजले जनाएको छ ।
गोरखाहरुले बेलायती राजमुकुटको सेवा गर्न थालेको आगामी वर्ष २०० वर्ष पुग्दैछ र सो अवसरलाई बेलायतभर विभिन्न कार्यक्रम गरी मनाउन लागिएको छ ।
जर्सीका धेरै सैनिक अधिकृतहरुले गोरखा अफिसरका रुपमा काम गरेकाले बेलायत र गोरखा रेजिमेण्टप्रति जर्सीको विशेष सम्बन्ध रहेको बताइएको छ ।
नवगठित ट्रष्टले गोरखा वेलफेयर ट्रष्टसित नजिक रहेर काम गर्ने बताइएको छ । सो ट्रष्टले गोरखाहरुको उदगम भूमि नेपालमा मानवीय कार्य र सेवाका लागि सहयोग जुटाउने लक्ष्य राखेको छ ।
गोरखा रेजिमेण्टमा काम गरेका नौ अफिसर अहिले जर्सीमा बसोबासरत छन् । जसमध्ये छ जना सो ट्रष्टको ट्रष्टिज रहेका छन् । ट्रष्टका अध्यक्षमा पूर्व सेकेण्ड गोरखा राइफल्सका नाइजल हज रहेका छन् ।
च्यारिटी घोषणा कार्यक्रममा ट्रष्टका संरक्षक तथा जर्सीका गनर्भर सर जोन म्याकोल, जर्सीका ब्यालिफ सर माइकल बर्ट लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा आमन्त्रित करिब १३० पाहुनालाई दाल, भात र तरकारी खुवाउन दुई जना गोरखा सेफलाई लगिएको थियो । सो कार्यक्रमका मुख्य वक्ता गोरखा वेलफेयर ट्रष्टका निर्देशक कर्णेल विलियम सटलहुड रहेका थिए ।
कार्यक्रममा बोल्दै गभर्नर म्याकोलले जर्सी गोरखा सैनिकहरुप्रति ऋणी रहेको बताए ।
सो ट्रष्टले सन् २०१५ मा गोरखा रेजिमेण्टको दुई शताब्दीका अवसरमा विभिन्न कार्यक्रम राखेको छ भने नेपालमा रहेका गोरखा सैनिक र उनीहरुका परिवारलाई सहयोग गर्न सहायता संकलन गर्ने भएको छ ।
गोरखाहरु उनीहरुको असाधारण लडाकुपन, सहनशीलता, वफादारी, निस्वार्थ सेवा र लडाइामा अदम्य साहसका लागि नामुद छन् ।
अफगानिस्तानबाट फर्केपछि राजकुमार हृयारीले भनेका थिए – गोरखाहरुको साथमा हुनु जतिको सुरक्षित ठाउँ अरु छैन ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री