एनआरएनए यूके विवाद समाधानतिर, अध्यक्ष घलेको निर्णय उल्टाउन सिफारिस

 

photo_0142891051ouptpc

लन्डन । गैर आवासीय नेपाली संघ, बेलायत अन्तर्गत प्याट्रोन काउन्सिल र आइसीसी सदस्यहरुको एउटा गोप्य वैठकले आइसीसी अध्यक्ष शेष घलेको निर्णय विपरित गत वर्षकै सहमति कार्यान्वयन गर्न छानवीन समितिलाई सिफारिस गरेको छ ।
आइतवार लन्डनस्थित नेपाली दूतावासमा भएको गैर आवासीय नेपाली संघ बेलायत प्याट्रोन काउन्सिल र आइसीसी सदस्यहरुको गोप्य बैठकले एनआरएनए यूके विवाद समाधानतर्फ लान विगतको सहमति कार्यान्वयन गर्न एक मतले सिफारिस गरेको हो ।

आइसीसी अध्यक्ष घलेले एकल निर्णयद्धारा एनआरएनए यूके सहअध्यक्ष योगेन क्षेत्रीलाई निरन्तर अध्यक्षको भूमिका निर्वाह गर्न पत्राचार गरेको तीन साता नबित्दै गोप्य बैठकले पुरानै सहमति कार्यान्वयनको विकल्प नरहेको निष्कर्ष निकालेको छ ।

गत बर्ष २९ सेप्टेम्बर २०१३ सालमा प्रा. डा. सुर्य सुवेदीको पहलमा दुई चिरा हुन लागेको  एनआरएनए बेलायतलाई ‘असाधारण एकता सम्मेलन’ मार्फत एक गराइएको थियो ।

सो समझदारीमा हालका कार्यकारी अध्यक्ष महेन्द्र कंडेल र तत्कालिन अध्यक्ष योगेन क्षेत्रीबीच एक एक वर्षको कार्यकाल अध्यक्ष ग्रहण गर्ने लगायत समझदारी भएको थियो । तर, क्षेत्रीले सहमति पालना नगरि अध्यक्ष पद नछाड्ने अडान लिएपछि दुई पक्षबीच विवाद चर्किएको थियो । यही विवाद मिलाउन गठित डा. कुलचन्द्र गौतमसहितको विशेष समितिले छानवीन गरी केन्द्रलाई आगामी महिना अन्तिम प्रतिवेदन बुझाउने अपेक्षा छ ।

स्रोतका अनुसार बिहान १० बजेबाट अपरान्ह ४ बजेसम्म भएको बैठकले गत वर्ष प्रा. डा. सुर्य सुवेदीको पहलमा भएको एक/एक बर्षे कार्यकालको सहमति अनुरुप नै अघि बढ्न छानविन समितिलाई सुझाव दिने निर्णय गरेको हो ।

स्रोतका अनुसार गोप्य बैठकमा प्रमुख संरक्षक प्रा.डा.सुवेदी, संरक्षक डमर घले, पूर्व अध्यक्ष सुर्य गुरुङ, आइसीसी सदस्यहरु थर्क सेन, विनोद ज्ञवाली, विजन भट्ट, सुरेन्द्रप्रसाद श्रेष्ठ, कुल आचार्य, पशुपति भण्डारी, डा. हेमराज शर्मालगायत सहभागी थिए । सुष्मा राई भने नेपाल भएकाले बैठकमा अनुपस्थित थिइन् ।

एनआरएनए यूके कार्यकारी अध्यक्ष कंडेल र सहअध्यक्ष क्षेत्रीलाई करिब चार बजेपछि मात्र गोप्य बैठकमा बोलाई निर्णय सुनाइएको स्रोतको दावी छ । गोप्य बैठकका बारेमा बुझ्न खोज्दा संरक्षक डमर घलेले ड्राइभिङमा रहेको जनाउँदै बोल्न मानेनन् । बैठकका सहभागीलाई तीन सातासम्म केही नबोल्न अघोषित उर्दी छ ।

यसअघि आइतबार नै एनआरएनए आइसीसी महासचिव कुमार पन्तले सामाजिक संजाल फेसबुकमा ‘यूकेका साथीहरु घरभित्र देखिएको असमझदारी आपसी छलफल र एकताद्धारा घरभित्रै समाधान गर्न सक्षम छन् भन्ने अनुपम उदाहरण प्रस्तुत गर्दैछन् आज’ स्टाटस राखेका थिए । सो स्टाटसले यूके विवाद समाधानका लागि केही हुंदैछ भन्ने जनाउ आइतबार बिहानै दिएको थियो ।

अघिल्लो दिन शनिवारमात्र एनआरएनए आइसीसी पूर्व अध्यक्ष जीवा लामिछानेले सहमतिलाई नै जोड दिंदै अहिले उक्त सहमति पालना गर्दिन् भन्नु इमान्दारिता नहुने स्टाटस फेसबुकमा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री