के को विधि विधान ? त्यसो भए शेष घले पनि अवैधानिक मानौं

nrn
लन्डन । के को विधि विधान ? त्यसो भए तपाईंहरुले नै भोट हालेर अध्यक्ष बनेका शेष घले कसरी वैधानिक भए त ? एनआरएनए यूकेमा गत वर्ष भएको सहमति वैधानिक भएन भन्ने तर्क गर्दा एनआरएनए यूके विधान संशोधन समितिका संयोजक एवं आइसीसी पूर्व प्रवक्ता डा. हेमराज शर्माले गोप्य बैठकमा माथिको हप्की सहनु परेको छ ।

गत आइतबार गैर आवासीय नेपाली संघ, बेलायत अन्तर्गत प्याट्रोन काउन्सिल र आइसीसी सदस्यहरुको एउटा गोप्य बैठक थियो लन्डनस्थित नेपाली दूतावासमा । बैठक एनआरएनए यूके विवाद समाधान गर्न गठित केन्द्रको एउटा छानवीन समितिलाई बेलायतबाट एउटै आवाज मुखरित हुने गरि सुझाव प्रस्तुत गर्न डाकिएको थियो । बैठकमा सहभागी सबैजसो गत वर्ष प्रा. डा. सूर्य सुवेदीले गराएको सहमति नै कार्यान्वयन गराउने पक्षमा बोलिरहेका थिए । तर, शर्मा भने उक्त सहमतिलाई विशेष साधारण सभा मार्फत अनुमोदन गराउनु पर्ने अडानमा रहेपछि प्रमुख संरक्षक प्रा. डा सुवेदी, आइसीसी सल्लाहकार विश्व आदर्श पण्डितलगायतले यूके आइसीसी सदस्यले गरेको मतदानका आधारमा चुनिएको समितिले वैधानिकता खोज्ने काम आफैंमा अवैधानिक देखिन्छ भन्दै डा. शर्माको चर्को आलोचना गरे । श्रोतका अनुसार, बैठकमा उपस्थित सबै खनिएपछि शर्माले पछि हट्दै सहमति कार्यान्वयनमा आफू बाधक नहुने प्रतिवद्धता व्यक्त गरेको स्रोतको दावी छ । तर, शर्माले गोप्य बैठकको निर्णयमा सहमति जनाएपनि आफ्नो पदबाट तत्काल राजीनामा दिएकाले थप आशंका जन्मिएको छ । विगतमा सहमति भाड्न महत्वपूर्ण भूमिका खेलेको आरोप खेपेका शर्माले यही बेला पदबाट राजीनामा दिनुलाई कतिपयले अर्थपूर्ण ढंगले हेरेका छन् ।

उक्त गोप्य बैठकले गत वर्षको सहमतिलाई अक्षरस पालना गर्न एकमत जाहेर गर्दै ७ बुंदामा समेटिएको गोप्य निर्णय छानवीन समितिका कुलचन्द गौतमलाई बुझाउने निर्णय गरेको छ । दुईपक्षबीच हस्ताक्षर भएर सहमति भइसकेपछि त्यसैलाई कार्यान्वयन गर्न बैठकले छानवीन समितिलाई निर्देशनात्मक सुझाव पेश गरेको छ । गत वर्षको सहमति पालना गर्ने क्रममा केही कमजारी भए सच्याउने, आगामी अधिवेशन निष्पक्ष र विवादरहित बनाउन प्याट्रोन कमिटीले पर्यवेक्षण गर्ने, संस्थामा आर्थिक पारदर्शीता कायम राख्न सूर्य गुरुङ संयोजक रहेको अर्थ समितिले छानवीन गर्ने आदि निर्णय भएका थिए ।
आगामी २० डिसेम्बरमा बस्ने आइसीसी बैठकले निर्णय अनुमोदन नगर्दासम्म ‘गोप्य’ राख्ने सहमति भएपनि समाचार एकपछि अर्को गरेर चुहिएपछि बैठकका कतिपय सहभागी क्रुद्ध छन् ।

बैठकले कार्यकारी अध्यक्ष रहेका महेन्द्र कंडेलले अध्यक्ष पदको उम्मेदवारी दिंदा दिनु पर्ने रकम र सदस्यताको नामावली नबुझाएकोले उनलाई त्यो दस्तुर बुझाउन लगाउने सहमति भएको छ । आगामी २० डिसेम्बर बस्ने एनआरएनए आइसीसी बैठकले बेलायतको निर्णय अनुमोदन गर्ने आशा बैठकले राखेको छ । कहीं कतैबाट भित्री चलखेल नभए कार्यान्वयन हुने अपेक्षा छ ।

गत वर्ष २९ सेप्टेम्बर २०१३ सालमा प्रा. डा. सूर्य सुवेदीको पहलमा दुई चिरा हुन लागेको बेलायत एनआरएनलाई ‘असाधारण एकता सम्मलन’ मार्फत एक गराइएको थियो । सो समझदारीमा हालका कार्यकारी अध्यक्ष महेन्द्र कंडेल र तत्कालिन अध्यक्ष योगेन क्षेत्रीबीच एक एक वर्षको कार्यकाल अध्यक्ष ग्रहण गर्ने लगायत समझदारी भएको थियो । तर, क्षेत्रीले अध्यक्ष छाड्न नमानेपछि चुलिएको विवाद मिलाउन केन्द्रले नै हस्तक्षेप गरेको हो ।

गोप्य बैठकमा प्रमुख संरक्षक प्रा.डा.सुवेदी, संरक्षक डमर घले, आइसीसी सल्लाहकार विश्वआदर्श पण्डित, आइसीसी सदस्यहरु थर्क सेन, विनोद ज्ञवाली, विजन भट्ट, सुरेन्द्रप्रसाद श्रेष्ठ, कुल आचार्य, सूर्य गुरुङ, पशुपति भण्डारी, समाजसेवी डा. राघवप्रसाद धिताल, डा. हेमराज शर्मा लगायत सहभागी थिए । आइसीसी सदस्य सुष्मा राई भने नेपाल भएकाले अनुपस्थित थिइन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री