अनिलको आकष्मिक मृत्युले शोकमा साउथ इष्ट लन्डन, गुल्मेलीहरु सहयोगमा जुटे

Anil Jung Thapa

बिगत पांच बर्ष देखि लण्डनमा बस्दै आएका गुल्मी नेपालका ३४ बर्षीय अनिल जंग थापाको गत आइतबार बिहान लण्डन सेन्ट थोमस हस्पिटलमा आकस्मिक हृदयघात बाट  उपचार गर्दा गर्दै  मृत्यु भयो । प्रशस्तै साथीभाइ कमाएका अनिलको श्रीमती बाहेक नाताले नजिकको नातेदार कोही थिएन लण्डनमा, भलै आफन्तको भूमिका निभाउनेको कमी भने देखिएन । अमेरिकामा रहेका उनका मामा मोहन ज्ञवालीले यहांका केही समाजसेवीलाई घटनाको बारेमा बताएपछि उनको घरमा शोकाकुल अवस्थामा रहेकी स्वर्गीय अनिलकी श्रीमती सुनितालाई भेट्न पुग्नेको घुईचो छ ।

सिटिङ्ग रुमको एउटा कुनामा धपक्कै बोल्ला जस्तो नौजवानको फोटोमा क्यान्डल बालिएको छ । श्रीमती सुनिता अर्ध चेतनाको अवस्थामा माथि बिस्तारामा पल्टिएकी  छन् । तल बैठकमा उपस्थितहरु दैवको लिला भन्दै सुईय गरिरहेका थिए । “अलिकति छाती दुख्यो भनेर संगै हस्पिटल गयौं, उतै छोडेर आउनु पर्यो, मलाइ त अझै पनि फर्केर आउला जस्तो लाईराछ “, अनिलका साथी नारायण अधिकारीले बोल्दा बोल्दै गला अवरुद्द पारे । “उसले हालैका दिनमा नेपाल जाने कुरा गरि रहेकोले पनि नेपालमै लगेर दाह संस्कार गर्ने परिवारको सोचाई छ, जिउंदो जान नपाएपनि उसको आत्मालाई शान्ति मिल्ला” घटना पश्चात परिवारसंग सम्पर्क र कोओर्डिनेशन गरिरहेका लण्डन बस्ने गुल्मी अर्खलेका भरत थापाले बताए । तेक्वान्दो खेलाडी समेत रहेका अनिल स्वस्थ जीवन शैलीमा जिउने व्यक्ति भएको कुरा उपस्थित हरु बताउंदै थिए । शोकमग्न घरमा जम्मा भएका साथीभाई नेपालमा रहेका परिवारको पीडा कल्पना गर्दा अमिलो मन पार्छन् । तीसौ बर्ष गुल्मी चारपालाको बिद्यालयमा प्रध्यानाध्यापक रहेका अनिलका बुवा लक्ष्मण अवकाश पश्चात  परिवार सहित काठमान्डूमा बस्छन् । “बुवा पनि प्रेसरको बिमार भएकोले परिवारमा झन् चिन्ता थपिएको छ ” शोकाकुल सुनिता संगै रहेकी उनकी साथीले भनिन् ।

चार भाई मध्येका साइला अनिल परिवारका मात्रै होइन साथीभाईमा पनि अति नै प्रिय र मिलनसार भएर होला, दक्षिण पूर्वी लण्डनको नेपाली समुदायनै शोकमा डुबेको छ यतिखेर । मान्छेको जीवनमा मृत्युले कहांनेर पर्खेर बसेको छ भन्ने त कसलाई के थाहा, तर अकस्मात आइपर्ने यस्ता घटनाले परिवारजन लाई अकल्पनीय पीडाको भारी त दिन्छ नै, देख्ने सुन्नेलाई पनि जीवनको क्षणिकता महसुस गराई दिन्छ । उज्यालो सपना देखेर सात समुद्र पारीको सानो संसारमा रमाउदै गर्दा अचानक फुटेको त्यो जीवनको फोकोले प्रवासीहरुमाझ विदेशिनुको संवेदनशीलता अझै खडकाए जस्तो देखिन्थ्यो । मृत्युले परिवारमा दिने पीडाको मापन उमेरको हिसाबले पनि बढि हुदो रहेछ, जिउनै नपाएर जीवन छोड्न पर्नु अस्तित्वकै नजरमा पनि दुर्भाग्य हो । त्यस माथि परिणाम उही रहे पनि  परिवार संगसंगै हुंदाको सुख दुख र टाढा हुंदाका घटनाको अनुभूतिको नापतौल फरक हुने देखिन्छ । हो यही फरक कस्टकर अनुभूतिको भोगाई बाट गुज्रेको छ अहिले अनिलको परिवार ।

इमर्जेन्सीमा भर्ना भए पछि पनि होसमै रहेका अनिल हस्पिटलको बेडमै बेहोस बने पश्चात उनलाई स्थानिय हस्पिटल बाट सेन्ट थोमस हस्पिटलमा चिकित्सक सहित सरुवा गरियो । तर त्यहां भएको  मुटुको शल्यक्रिया पश्चात उनलाई मृत घोषणा गरियो । घरमै ठुलै स्केलको हार्ट एट्याक भएकालाई पनि समयमै हस्पिटल पुर्याएर बचाइने वर्तमान चिकित्सा विधिमा  साथीभाई र श्रीमतीसंगै कुराकानी गर्दै  हस्पिटल पुगेका अनिललाई लन्डन जस्तो सुविधा सम्पन्न हस्पिटलमा किन बचाउन सकिएन भन्ने चासो ब्यक्त भइरहे पनि पोस्ट मार्टम रिपोर्ट कुर्नुको विकल्प देखिएन ।

“अनिलका मामा मोहन भोलि न्यूयोर्कबाट आउंदै हुनुहुन्छ, त्यसपछि सबै तारतम्य मिलाएर नेपाल पठाउने काममा  सहयोग र समन्वय गर्दैछौ”, केही साथीहरु संगै शोकमग्न घरमा पुगेका गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष अर्जुन गौतमले बताए । उनीसंगै रहेका अर्का गुल्मी जिल्ला समाज यूकेका सल्लाहकार समाजसेवी दाशु पाण्डे शव नेपाल पठाउनको लागी मृत्यु पर्यन्त सेवा दिने फ्युनेरल कम्पनीसंग फोनमा कुरा गर्दै थिए । “झन्डै चार लाख नेरु सम्ममा पठाउन सकिने भो” फोन राखे पछि उनले भने । “पोस्ट मार्टम रिपोर्ट र मृत शरीर हस्पिटलबाट फिर्ता पाए संगै नेपाल पठाउने तयारी छ”, गुल्मेलीहरुको टिमसंगै पुगेका सल्लाहकार खड्क रेश्मीले भने । मर्दा पर्दा भन्ने भावना बोकेका गुल्मेलीहरु यो दुःखद घडीमा सहयोगको लागि सक्रिय रुपमा खटेका छन् । यस अघि समाजकै उपाध्यक्ष बिनोद ज्ञवाली त्यहां पुगेर फर्किसकेका थिए । सहयोग र समाचार दुबैका लागि घरमा पुगेको म आफैं भावुक बनेर फर्किंए ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री