नेपालीलाई आफ्नो पाउँदर थाहै छैन : विष्णुबहादुर गुरुङ, उपमेयर हाउन्स्लो काउन्सिल

Bishnu-Gurung

बेलायतको राजनीतिमा उच्च ओहोदामा पुगेका नेपालीमध्ये एक हुन् विष्णुबहादुर गुरुङ । बेलायत छिरेको नौ वर्ष र लेबोर पार्टीको सदस्यता लिएको केही वर्षमै उनी लण्डनको हाउन्स्लो काउन्सिलको उपमेयर हुन सफल भएका छन् ।
मलायाको सुंगैपटानीमा जन्मेका गुरुङ पिताजीको रिटायरमेण्टसँगै पुख्र्यौली थातथलो गोरखाको तार्कु श्वरपानी फुच्चोक पुगे । पिताजीले स्थापना गरेको हिमाली स्कुलमा पाँच कक्षासम्म पढेर हाइस्कुल पढ्न उनलाई गोरखा सदरमुकाम गए । उत्तरी भेगबाट सदरमुकाम पुगेका उनलाई स्कुलमा पाखे, ढुंगे, भोटे भनेर दुव्र्यबहार गरियो । जसलाई उनले खप्न सकेनन् र गाउा फर्केर जौबारी भन्सारको परोपकार माविबाट एसएलसी गरे । ९ कक्षा पढ्दादेखि नै भर्तीको हावा लागे पनि उनी एसएलसीसम्म टिके ।
१९७६ को अक्टोवरमा उनी पिताजीको बिँडो पछ्याउँदै आर्मीमा भर्ती भए । १९ वर्ष आर्मीमा बिताएर सन् १९९५ मा सेवानिवृत्त उनी १० वर्ष हङकङको नोकरीपछि सन् २००५ मा युके आए । पञ्चायतकालमा वडाध्यक्ष भएका पिताजीबाट सामाजिक र राजनीतिकरुपमा प्रभावित बताउने गुरुङ समाजसेवा गर्दा आनन्द लाग्ने बताउँछन् । प्रस्तुत छ उनीसित गरिएको वार्तालाप  :
युकेको राजनीतिमा कसरी प्रवेश गर्नुभयो ?
मलाई बाटो देखाएकै नेपाली कम्युनिटीले हो । म यहाँ आउँदा हाउन्स्लोमा नेपालीहरु थोरै थिए । एउटा नेपाली संस्था बनाउनुपर्छ भन्ने माग थियो । हङकङमा पनि पूर्व गोरखाहरुको संस्था र ट्रेड युनियन चलाएर आएकाले सबैले मबाट आशा गरेका थिए । मैले ‘ठीक छ म सहयोग गर्छु, निर्देशित गर्छु तर कुनै पदमा बस्दिनँ’ भनेँ । यही क्रममा त्यस्तो संस्था गठन गर्ने विधि लगायत अरु कुराको समन्वय गर्दै जाँदा काउन्सिलका कर्मचारी र राजनीतिकर्मीसित परिचय हुन पुग्यो । यसबीचमा हाम्रो कम्युनिटीमा पनि अध्यक्ष गर्ने मान्छे भएन भनेर मलाई नै अनुरोध आयो । हामीले करिब दुई हजार मानिसको उपस्थितिमा भिसी कप आयोजना गर्न थाल्यौँ । यसैक्रममा मलाई लेबोर पार्टीका काउन्सिलर र पार्टीले सम्पर्क गरे । लेबोरले गोरखाहरुलाई सहयोग गरेको र बेलायतमा पेन्सन क्रेडिटको शुरुवात गरेकाले मैले लेबोर नै मन पराएँ र सदस्यता लिएँ ।

उपमेयर चाहिँ कसरी हुनुभयो ?
पार्टीको सदस्यता लिएपछि चुनावमा उठ्ने बारे बिस्तारै विचार गरौँला भनेर चुप बसेको थिएँ । तर मलाई उम्मेदवार बन्नुपर्छ भनेर आग्रह गरियो । मैले उम्मेदवारी दिएँ र पार्टीभित्रैबाटै उम्मेदवारमा छानिएँ । स्थानीय निर्वाचनमा पनि गतिलै प्रतिस्पर्धा भयो । म हानवर्थ पार्क वडाबाट काउन्सिलरमा निर्वाचित भएँ । काउन्सिलर निर्वाचित भइसकेपछि उनीहरुमध्येबाट पनि विभिन्न जिम्मेवारीका लागि फेरि चुनाव हुन्छ । मलाई ‘अहिलेसम्म नेपाली मेयर, उपमेयर भाको छैन उम्मेदवारी देऊ’ भनेर पार्टीले भन्यो । मैले उम्मेदवारी दिएँ । मेरो व्यक्तिगत सम्पर्क, सम्बन्ध र गोरखाप्रतिको सम्मानका कारण कसैले मेरो विरुद्धमा उम्मेदवारी दिएन र म सर्वसम्मत उपमेयर भएँ ।

उपमेयरका रुपमा तपाईको काम के हुने गर्छ ?
काउन्सिलमा सबैको आफ्नो आफ्नो जिम्मेवारी हुन्छ । कोही क्याबिनेटमा हुन्छन् । कोही ब्याकवेञ्चर हुन्छन् । सबैभन्दा आधारभूत जिम्मेवारी आफ्नो वडाको प्रतिनिधि भएकाले वडाभित्रका बासिन्दाको सुखदुःख हेर्नपर्ने हुन्छ । मेयरको काम सेरेमोनियल हुन्छ । इभेन्टहरुमा भाग लिने, महिनामा एकपटक काउन्सिलको बैठक बोलाउने र सबैलाई समेटेर बैठक सञ्चालन गर्नुपर्छ । मेयर नहुँदा यी काम उपमेयरले गर्नुपर्छ । यसबाहेक काउन्सिलका अन्य बैठकहरुमा भाग लिनुपर्दछ । बैठकपूर्व आफ्नो पार्टीको तयारी बैठकमा पनि पुग्नुपर्छ । मेयर र काउन्सिल लिडर पूर्णकालिन भए पनि अरुको निश्चित समयको ड्यूटी हुँदैन ।

बाहिरबाट आएर युकेको राजनीतिमा लाग्न कतिको सजिलो रहेछ ?
बेलायती पासपोर्ट लिएपछि पार्टीको सदस्यता र लेबोरको हकमा ट्रेड युनियनको सदस्यता लिएको एक वर्षपछि जो कोहीले पनि पार्टीभित्र काउन्सिलरका लागि उम्मेदवारी दिन पाउँछ । त्यसका लागि एक प्रस्तावक र एक समर्थक चाहिन्छ । त्यसपछि सर्टलिष्टमा पर्नुपर्छ । छनौटमा परेपछि पार्टीका नेताहरु, सिनियर काउन्सिलरहरुका बीचमा किन उम्मेदवारी दिएको, जितेमा के गर्ने योजना छ भन्ने पाँच मिनेटको प्रस्तुति दिनुपर्छ । त्यसमा बढी अंक पाउने छनौट हुन्छन् । यसका लागि पुराना काउन्सिलरहरु चिन्नैपर्छ । यसरी छनौट भएपछि बल्ल जनतामाझ जाने हो । यहाँको चुनावमा व्यक्तिलाई भन्दा पार्टीको नीति हेरेर भोट दिने गरिँदोरहेछ । तथापि पार्टीलाई प्राप्त भोट र व्यक्तिलाई प्राप्त भोट योग गरेर बढी मत पाउने काउन्सिलरमा निर्वाचित हुन्छ ।bishnu gurung

तपाईले काउन्सिलर भइसकेपछि केही त्यस्ता सुविधाहरु थाहा पाउनुभयो जसका बारेमा नेपालीहरुलाई थाहा छैन ?
मैले देखेको मुख्य समस्या त नेपालीहरुलाई काउन्सिलबाट पाउने सुविधाहरुका बारेमा थाहै छैन । के सुविधा, कहाँ पाउने भन्ने ज्ञान नै छैन ।

त्यसको मतलव जति नेपालीहरु काउन्सिलर भए त्यति नेपाली समाजलाई फाइदा हुन्छ ?
अवश्य । काउन्सिलर भएपछि हामीलाई एक महिनाको इन्डक्सन दिइन्छ । त्यसकारण के के कहाँ कहाँ पाइन्छ भन्ने हामीलाई जानकारी हुन्छ । सामान्य मानिसलाई काउन्सिल ट्याक्स, हाउजिंग विनिफिट आदिका बारेमा थाहै हुँदैन । पढेर मात्र हुँदैन । कतिपय कुरा पढेकालाई पनि पत्तै हुादैन । कतिपय समस्या काउन्सिलमा पुर्याउनका लागि लामो समय टेलिफोनमा बिताउनु पर्ने हुन्छ अथवा भेट्नका लागि व्यग्र प्रतीक्षा गर्नुपर्ने हुन्छ । नेपाली काउन्सिलर हुँदा भाषाको समस्या त यसै भएन नै । काउन्सिलरमार्फत जाँदा सबै कुरा छिटो र छरितो हुन्छ ।

अहिले तपाईले काउन्सिलमा के गरिरहनुभएको छ ?
म काउन्सिलमा इन्फोर्समेण्ट र आर्म्ड फोर्सेससम्बन्धी हेर्छु । मेरो पहलमा हाउन्स्लो र छिमेकी बोरोहरुभित्र पूर्व सैनिक र बहालवाला सैनिकहरुका लागि ३६ वटा घरको कोटा पाएका छौँ । जसको उद्घाटन आगामी मार्च २३ तारिखमा हुँदैछ । यसबाहेक साफा र च्यारिटीहरुसित मिलेर सेटलमेण्टका लागि फ्यामिलीहरु हेरेर ५०० देखि ३ हजार पाउण्डसम्म सहयोग दिने गरिएको छ । काउन्सिल ट्याक्स तिर्न नसक्नेहरुका लागि थप फण्ड ब्यस्वस्था गरेको छु ।
यी योजनाहरुका बारेमा नेपालीहरुलाई कार्यक्रम गरेर जानकारी दिन मलाई मन लाग्छ तर एकातिर नेपालीहरुको कार्यब्यस्तता छ भने अर्कोतिर ज्ञान लिन चाहानेहरुको कमी । म मेरो वार्डकालाई मात्र हेर्दिनँ बोरोभरिका सबै नेपालीहरुलाई हेर्छु । त्यसैले सबै नेपालीहरुलाई केही बुझ्न जान्न चाहनुहुन्छ भने स्वागत छ ।
तपाईलाई सफल बनाउन नेपालीहरुले कसरी सहयोग गर्न सक्छन् ?
सक्रिय भएर लागिदिनुहोस् । आफ्नो वडामा भएका अभियान, छलफलहरुमा सरिक भैदिनुहोस् । प्रस्तावहरु लिएर आउनुहोस् । अस्पष्ट भएका, थाहा नभएका कुरा लिएर आउनुहोस् । यी सबै कुराको रेकर्ड काउन्सिलमा रहन्छ र जनतामा पनि जान्छ । त्यसले गर्दा नेपाली काउन्सिलरले पनि यस्तो गर्न सक्दोरहेछ भन्ने सकारात्मक छाप पर्छ र अघि बढ्न मद्दत मिल्छ ।
तपाईलाई पिताकै पालादेखि नेपालको स्थानीय निकाय सञ्चालन थाहा छ । के सिक्नुपर्छ नेपालले यहााको स्थानीय निकायबाट ?
आफ्नो वडा, क्षेत्रलाई केन्द्रमा राखी काम गर्नुपर्छ । विदेशतिर भ्रमणमा जाने भन्दा पनि आफ्ना मतदातालाई प्राथमिकतामा राखी काम गर्नु सुझाव दिन्छु ।

तपाईसित हाउन्स्लोबासीले मात्र सुझाव सल्लाह लिन सक्छन् कि हाउन्स्लोबाहिर बसोबास गर्ने नेपालीहरुले पनि ?
युकेमा स्थानीय निकाय सञ्चालनको विधि एउटै छ । तर कुनै कुनै कुराहरु काउन्सिल अनुसार फरक पर्न सक्छ । तर मूल कुरा उस्तै हुन्छ । युकेभरिका जोकोही नेपालीले परिआएको समस्या र अफ्ठेराका बारेमा मसित सम्पर्क गर्न सक्नुहुन्छ । वहाँहरुलाई सहयोग गर्न पाएँ भने मलाई खुशी लाग्नेछ ।

10848003_768167723276023_1284625999370025051_n

उपमेयर गुरुङ लन्डनस्थित नेपाली कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री (दायां) र पूर्व सैनिक सहचारी विश्वनाथ घिमिरेका साथ

प्रस्तुति ः नरेश खपाङ्गीमगर

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री