सबैलाई रुवाउँदै विदा भए आशिष मिश्र

 

ashish mishra

लण्डन । २१ वर्षको कलिलो उमेरमै गत सोमबार दिवङ्गत हुन पुगेका नेपाली युवा आशिष मिश्रको आज साउथ इष्ट लण्डनकाे हिदरग्रीन सिमेट्रीको क्रिमेटोरियममा हिन्दु परम्परा अनुसार दाहसँस्कार गरियो ।

लण्डनको उलवीचमा बस्दै आएका मिश्र सोमबार बिहान अोच्छयानमै बेहोस भेटिएका थिए । उनलाई उपचारका लागि अस्पताल लैजाँदा लैजाँदै मृत घोषित गरिएको थियो ।

हृदयाघातबाट उनको मृत्यु भएको अनुमान गरिएको छ ।

यसअघि साउथ इष्ट लण्डनमै ३४ वर्षीय अनिल थापाको हृदयाघातबाट निधन भएको थियो ।

स्थानीय ग्रीनीच युनिभर्सिटीमा अध्ययनरत मिश्रको अन्तेष्ठीका क्रममा समवेदना प्रकट गर्न यहाँस्थित विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, परिवारजन तथा शुभेच्छुकहरु क्रिमेटोरियममा पुगेका थिए । पण्डित विनोद पन्थीले अन्त्येष्ठी विधि संचालन गरेका थिए भने मिश्रका फूपाजु रामजी तिवारीले परिवारका तर्फबाट उपस्थित सबैमा धन्यवाद व्यक्त गरेका थिए ।

लाउँला खाउँला केही गरुँला भन्ने उमेरमै आकस्मिक रुपमा जीवन गुमाएका आशिषका बुवा आमा र परिवारको पीडाको चित्कारले सहभागीहरु सबैका आँखा रसाएका थिए । आशिषकी बहिनी निक्कीले भावविव्हल अवस्थामा आफ्नो दाजुको संस्मरण पढेर सुनाउँदा कमैले मन थाम्न सकेका थिए । त्यसपछि परिवारजनबाटै दाग बत्ती दिएर उनलाई अन्तिम बिदाई गरिएको थियो ।

नेपालमा चितवन स्थाई बसोबास रहेको मिश्रको परिवार विगत केही वर्षदेखि बेलायतमा बस्दै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री