विदेशी विद्यार्थीलाई घर लखेट्ने अर्को योजना

opengraph-image-85fc698c83c77d8d8cb5467a44cc12a5

लन्डन । बेलायत सरकारले युरोपेली बाहेकका विदेशी विद्यार्थीलाई घर पठाउन नयां योजना ल्याउने तयारी गरेको छ । गृहमन्त्री टेरेसा मेको प्रस्तावमा ग्रयाजुएट गरिसकेका विद्यार्थीलाई कोर्स सकिएपछि स्वदेश जान वाध्य पार्ने नीति ल्याउन लागिएको मेको भनाइ उधृत गर्दै दि सन्डे टाइम्स्ले जनाएको छ ।

यदि विद्यार्थीलाई बेलायतमै बस्न इच्छा छ भने ग्रयाजुएट गरिसकेपछि स्वदेश फर्केर पुनः वर्क भिसाका लागि निवेदन दिनुपर्ने नियम ल्याउने सरकारको योजना छ ।
भावी कन्जर्भेटिभ सरकारले विद्यार्थी भिसामा आउनेहरुलाई घर पठाएर शुन्यमा 
झार्न चाहेको गृहमन्त्री मेको भनाइ उधृत गर्दै पत्रिकाले उल्लेख गरेको छ ।
प्रधानमन्त्री डेभिड क्यामरुनले आफ्नो दल टोरी (कन्जरभेटिभ) ले मात्र अध्यागमनमा डिल गर्न सक्ने जिकिर गरे लगत्तै मेको योजना सार्वजनिक भएको हो । बेलायती अखवार डेली एक्सप्रेस्मा लेख प्रकाशित गर्दै प्रधानमन्त्री क्यामरुनले हाल प्रतिपक्षी लेवोर प्रशासनले सरकार नेतृत्व गर्दा आप्रवासी समस्या निम्त्याएको टिप्पणी गरेका थिए ।

गृहमन्त्री मे निकट श्रोतको हवाला दिंदै उक्त अखवारले कन्जरभेटिभ पार्टीको आगामी घोषणापत्रमै यस नीति ल्याउने योजना समावेश गर्न मेले दवाव दिइरहेकी छिन् भनेको छ । उनले कलेज वा विश्वविद्यालयलाई विद्यार्थी स्पोन्सर गर्दा अध्ययन सकिए लगत्तै फर्कने परिस्थिति सृजना गरिदिउन् भन्ने पनि चाहेकी छिन् । हाल विद्यार्थीले अध्ययन सकिए लगत्तै बेलायतबाटै सजिलै वर्क परमिटमा भिसा परिवर्तन गर्न सक्छन् ।

विद्यार्थीलाई आप्रवासी संख्याभित्र राखेर नियन्त्रण गर्ने सवालमा गृहमन्त्री मे र सरकारको अर्को सहयात्री दल लिव्डेम प्रतिनिधित्व गर्ने व्यापार मन्त्री भिन्स् केवलबीच मतभिन्नता छ । श्रोतका अनुसार, मन्त्री केवल थप कडा नियमको विपक्षमा छन् ।

सरकारको एउटा घटक लिव्डेमका एक वरिष्ठ नेताले भने गृहमन्त्री मेको योजनाले अर्थतन्त्रमात्र होइन, बेलायत उच्च दक्ष ग्रयाजुएट्सबाट समेत वञ्चित हुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री