लालपानीको लाल सम्झना

lalpaniसंस्मरण

२०५० सालको नयाँवर्षसँगै मेरो लालपानीसित साइनो जोडियो (लालपानी झापा जिल्लाको शिवगञ्ज गाविसमा पर्छ) । वैशाखमा कक्षा ७ मा भर्ना भएा म । जेठमा सानोजाँच भयो । सानो जाँच र ठूलो जाँचको प्राप्ताङ्क जोडेर पहिलो-दोस्रो, पास-फेल छुट्याइन्थ्यो । नयाँ स्कुलको नयाँ चाला । पहिले म पढेको हाङपाङ ताप्लेजुङको सरस्वती स्कुलमा एकैदिन परिणाम सुनाइन्थ्यो तर यहाँ त एक दिन एकजना विषय शिक्षकले, अर्को दिन अर्को विषय शिक्षकले प्राप्ताङ्क सुनाउँथे । शिक्षकहरुको आफ्नै परीक्षा वा घरविदाका कारण कुनै विषयको परिणाम सुन्न हप्तौँ पनि पर्खनुपर्थ्यो ।
मेरो कक्षाका पहिलो छात्र थिए खेमराज गौतम । म चाहिँ पहाडबाट बसाइँ सर्दा स्कुलको दोस्रो छात्र । तर विद्यार्थी, शिक्षक र अभिभावकसम्म पनि मैले खेमलाई उछिन्छ कि भन्ने चर्चा चलेको रहेछ । सबैभन्दा अन्तिममा शारीरिक शिक्षा विषयको प्राप्तांक सुनाइयो । तर त्योभन्दा अघि दर्जनौँपटक तत्कालिन प्रधानाध्यपकसहित प्रायःसबै शिक्षकले खेम र मेरो बीच कति अंकको फरक छ भनेर पटकपटक सोधे । २० पूर्णाङ्कको शारीरिक शिक्षामा खेमलाई १९ अंक दिइयो भने मलाई १६ अंक मात्र । म २ अंक कम्तीले दोस्रोमा खुम्चिएँ । शारीरिकजस्तो सैद्धान्तिक विषयमा पनि गणित र विज्ञान विषयमा जस्तो पूर्णाङ्क दिइएकोमा १२ वर्षे केटोको मन नकुँडिने ठाउँ नै रहेन ।
तथापि ठूलो जाँचसम्म पर्खेँ । ठूलो जाँचमा पनि त्यही सदर भयो । विद्रोहस्वरुप पुसदेखि कक्षा ८ को पढाइ शुरु भए पनि मैले जेठसम्म नाम लेखाइनँ । स्कुल चाहिँ जान्थेँ, पढ्थेँ, घर आउँथे । मेरो जोड स्थानान्तर प्रमाणपत्र दिएदेखि सुरुङ्गाको कन्काइ मावि जाने थियो । पहाडमा एकै गाउँका नरपति उप्रेतीले त्यतिबेलै सुरुङ्गामा पशुपति बोर्डिङ खोलेका थिए । त्यहाँ पनि त्यसैवर्ष कक्षा ८ शुरु गरेकाले उनी राम्रो परिणाम निकालेर सफलता पुष्टि गर्न गाउँगाउँबाट उत्कृष्ट विद्यार्थी खोज्दै रहेछन् । निशुल्क पढाइदिने भनेर उनले मेरा पिताजीसित कुरा पनि गरेका रहेछन् । मलाई भने बोर्डिङ स्कुल जान मन थिएन । किनभने सरकारी स्कुलमा जस्तो स्वतन्त्रता बोर्डिङमा हुन्न भन्ने लाग्थ्यो ।
त्यसैसाल कक्षा ८ शुरु गरेको लालपानी स्कुलले मलाई त्यति सजिलै स्थानान्तर प्रमाणपत्र दिने सम्भावना नै थिएन । त्यसमाथि स्कुलकै सबैभन्दा पुराना शिक्षकहरु कुमार सर (रामकुमार ढुङ्गेल) र पुस्कल सर (पुस्कलकुमार प्रसाई) मेरा पिताजीका बालसखा । सरकारले आन्दोलनरत दलहरुलाई वार्तामा बोलाए जसरी मलाई पनि पिताजी सरहका ती शिक्षकहरुले बोलाए । ‘तँलाई के चित्त बुझेन’ भनेर सोधे । मैले आफूमाथि अन्याय भएको कुरा मात्र भनिनँ स्कुलमा शैक्षिक सामग्री नभएको, पुस्तकालय नभएको, विज्ञानका लागि प्रयोगशाला नभएको, टिफिनमा खेल्ने शैक्षिक सामग्री नभएकोसम्म भन्न भ्याएँ । मेरो बालहठका अघि उनीहरुको केही लागेन । बरु पिताजीलाई मनाएछन् । अनि उनकै दबाबमा सानो जााच भइसकेपछि असार महिनामा म भर्ना भएँ । ८४ जना विद्यार्थी भएको कक्षामा मेरो रोलनम्बर थियो ८१ ।
लालपानी स्कुलमा प्रारम्भका दिनको अर्को अनुभव अहिले पनि सम्झन्छु । त्यहाँ रोल नम्बर अनुसार कक्षामा बस्नुपर्थ्यो । त्यसोगर्दा केटाकेटी सँगसँगै पनि पर्थे । म यसअघि पढेका दुईवटा स्कुलमा त केटीहरुको लहर अलग्गै हुन्थ्यो । केटाहरुको अलग्गै । यहाँ पहिलोपटक केटीसित बस्नुपर्‍यो । त्यसदिन म पढाइमा केन्द्रीत हुनै सकिनँ । अभ्यस्त हुन मलाई अरु केही महिना लाग्यो ।
कक्षा ८ देखि हामीले धेरै अतिरिक्त क्रियाकलापमा लाग्ने मौका पायौँ । त्यसो त एकहप्ता लामो खेलकुद सप्ताह पनि हुन्थ्यो । कद सानो भएकाले म दौड, भलिबल, फुटबल, हाइजम्प, लङजम्प, छेलो फाल्न सक्दिनथेँ । मेरो रोजाइ दिमागी प्रतिस्पर्धाहरुमा हुन्थ्यो । गणित दौडमा लगातार तीन वर्ष पहिलो हुने मौका अरुलाई दिइनँ । हाजिरीजवाफ मेरो पेवा जस्तै नै भयो । त्यसबाहेक आफैलाई अनौठो लाग्ने भलिबलमा एकपटक पनि नेट नकटाई दोस्रो पुरस्कार पनि पाएँ । भएको के थियो भने हाम्रो सदन (टोली) को कुनै खेलाडी अनुपस्थित भैदियो । म जगेडा खेलाडीले ठाउँ भर्नुपर्ने भो । एकपटक सर्भिस गर्ने पालो आएको थियो । साथीहरुले बल माथि फाल्ने त्यसपछि मच्चाएर मुड्कीले हानेर नेट कटाउने भने । मैले त्यसै गरेँ तर मुड्कीको शक्तिभन्दा भलिबलको शक्ति बढी भयो । मेरो मुड्की भुइातिर लत्र्यो । मैले नेट कटाउनै सकिनँ । हाम्रो सदनमा ढकनकुमार बर्देवा थिए । उनी गाउँमै भलिबल, फुटबल, रनिङ, हाइजम्प, लङजम्पका राम्रा खेलाडी गनिन्थे । उनकै कारण हाम्रो टीम दोस्रो भो । र, मैले पुरस्कारस्वरुप एउटा स्टिलको गिलास पाएँ ।
अर्को रमाइलो मैले गायनमा पनि दोस्रो पुरस्कार पाएँ । प्रतियोगिताहरुमध्ये एउटा गीत गाउने पनि थियो । हाम्रो सदनभरि कोही गाउने निस्किएन । अब के गर्ने ? सजिलै हात उठाउने सवालै भएन । बिहान बहिनी र बहिनीकी साथीलाई घरमा बोलाएँ । म आफैँले धिन्ताङ-धिन्ताङ मादल बजाएँ अनि रिहर्सल गरेँ । लिड श्वर मेरो थियो उनीहरुले मलाई छोप्थे । दिउासो स्कुलमा ..घामको किरण फैलियो एसियाको शीरैमा….गाइयो । हाम्रो टीम दोस्रो भयो । फेरि पाइयो स्टिलको गिलास पुरस्कार । अहिले त न भाँती पुर्‍याएर दुई लाइन कुनै गीत गाउन सक्छु न मादल बजाउन नै ।
स्कुलका दिन यति सुनौला थिए । साथीहरु उमेर समूह विभिन्न भए पनि सोच निकै मिल्थ्यो । हामीले नौ कक्षाको ठूलो जाँच सकेर १० कक्षाको पढाइ शुरु हुनुअघिको फुर्सदको सदुपयोग गरेर नाटक देखाएका थियौँ । करिब दुईहप्ता कुमार सरको घरमा रिहर्सल गर्‍यौँ । नाटक देखाउने अघिल्लो दिन सुरुङ्गाबजारबाट भाडामा माइक ल्याएर भोलिपल्ट नाटक हेर्न दर्शक बटुल्नलाई माइकिङ गरियो । माइकिङ गर्नेमा कमल उप्रेती र मोहन मिश्र लगायत थिए । कमल दाइको नाटकमा खलनायकको रोल थियो तर दिनभर माइकमा चिच्याउँदा चिच्याउँदा भोलिपल्ट त उनको श्वर नै भासिएछ । नाटकमा लीलाबहादुर कार्की दाइले बाउको र सीता घिमिरे दिदीले आमाको यति सजिव अभिनय गरेका थिए कि अहिले सम्झँदा उनीहरु साँच्चिकै कलाकार थिए भन्ने निस्कर्षमा पुग्छु ।
हाजिरीजवाफमा तिनताक हाम्रो स्कुलको जिल्लाभर बोलवाला थियो । कक्षा ८ देखि नै हाम्रो स्कुलले भाग लिएको कुनै प्रतियोगितामा खालीहात फर्कनु परेको थिएन । तेस्रो कहिल्यै भएनौँ । एउटामा दोस्रो भयौँ कि जस्तो लाग्छ नत्र सबै प्रतिस्पर्धामा हामी पहिलो नै हुन्थ्यौं । दुधे, झिलझिले, तोपगाछी, शरणामति, भद्रपुर, चन्द्रगढी सबैतिर हुने प्रतिस्पर्धामा हाम्रो वर्चस्व नै हुन्थ्यो । मेरो नेतृत्वमा हुने हाजिरीजवाफको टीममा नारायण प्रसाइँ (हाल मायामी अमेरिका) र मेरा सहोदर दाजु विष्णु खपाङ्गी (हाल मनामा बहराइन) हुन्थ्यौँ । भर्खर मावि शुरु गरेको स्कुलको यस्तो तरक्कीले शिक्षक अभिभावकलाई गौरवान्वीत बनाएको थियो । हामी केटाकेटी फुलेल हुने नै भयौँ ।
कक्षा नौ पढ्दा पर्सिपल्ट ऐच्छिक गणित विषयको जाँच थियो । जिल्लास्तरीय वक्तृत्वकलामा भाग लिनका लागि त्यसैदिन विद्यालयमा पत्र आएछ । हेडसरले ‘के गर्ने, जाने हो’ भनेर सोधे म विलखबन्दमा परेँ । तैपनि जे होला जान्छु भनेर जाँच हापेर हिँडे । धनकुमार बराइली सरले मलाई भद्रपुर लैजानुभयो । रातभरको थोरै तयारीका बावजुद वक्तब्य दिएँ । तेस्रो भएछु । २०० रुपियाँ नगद पुरस्कार पाएँ । फर्कँदा सुरुङ्गाबाट बसको छतमा तुलसीबारीतिर हुइँकिदै थियौँ । चिने जानेकाले कहाँबाट आएको भनेर धनसरलाई सोधे । उहाँले सबै बेलीविस्तार लगाउनुभयो । बसको छतमै बधाई खाइयो ।
त्यसको करिब छ महिनापछि फेरि जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता दुर्गा मावि गरामनीमा हुने भयो । हाम्रो स्कुलबाट मेनुका चिमरिया (हाल क्यानाडा) र म छानियौँ । त्यतिबेला मसित स्कुल जाँदा होस् वा बजार जाँदा लाउने मात्र एक सेट लुगा थियो । शनिबार धुने अनि साताभरि त्यही लगाउने । वक्तृत्वकलामा जाने अघिल्लो दिन लुगा धोएँ । हिउँदको दिन भएकाले सर्ट सुके पनि पाइन्ट सुकेन । अब के गर्ने ? दाइको पाइन्ट घ्वाङ्लाङ घ्वाङ्लाङ घुसारेर रत्नमान श्रेष्ठ सरको साइकलमा बसेँ । मेनुका आफैँ साइकल चलाउँथिन् ।
प्रतियोगिताको तयारीभन्दा पनि मलाई पाइन्टको चिन्ताले सताएको थियो । किनभने पाइन्ट निकै नै ठूलो थियो । बोल्ने पालो आयो । भाग्ने कुरो आएन । मञ्चमा गएर माइक समाएपछि पाइन्टको पिरलो कता गयो गयो । निर्धक्क बोलेँ । बहुदलीय व्यवस्थामा विद्यार्थीको भूमिका थियो विषय । डा. सन्यात सेनदेखि महात्मा गान्धीसम्मको दलिल पेश गरेँ । समय सकियो । फरक्क फर्केर बसेँ ।
अब पालो आयो परिणामको । सान्त्वना, तेस्रो, दोस्रो बोलाइसकियो मेरो नाम आएन । यसअघि तेस्रो पुरस्कार पाइसकेकोले खाली हात जान पर्दैन भन्नेमा शिक्षकहरु विश्वस्त थिए । म चाहिँ अब गुल्टिएछु भन्ने निचोडमा पुगिसकेको थिएँ । कारण त्यस प्रतियोगितामा पहिले पहाडमा मसितै पढेका सुमन खरेल पनि प्रतिस्पर्धी थिए । उनले यसअघि नै रेयुकाईको राष्ट्रियस्तरको वक्तृत्वकला प्रतियोगिता जितिसकेकोले उनैले जित्छन् भन्ने लागेको थियो । अन्ततः प्रथम परिणाम घोषणा भयो । नाम मेरै थियो । सँगै बसेका सुमनले बधाई दिए । ५०० रुपियाँ पुरस्कारसहित स्कुल फर्कँदा रत्न सर र अरु शिक्षकको नाक घिरौँलाजत्रोे भएको थियो ।
अहिले सिंहावलोकन गर्दा म आफूलाई सरकारी विद्यालय पढ्न पाएकामा निकै भाग्यमानी ठान्छु । हुनत चाहेर पनि बोर्डिङ स्कुल पढ्ने हाम्रो ल्याकत थिएन नै । यदि काकताली परेर बोर्डिङमा पढेको भए मैले अंग्रेजीमा केही राम्रो बोल्न र लेख्न सक्थेँ होला तर नेतृत्व क्षमता, पढाइबाहेकका अन्य विषयका सर्वोपरि ज्ञान पाउन अवश्य सक्दिनथेँ । त्यसो त सबै सरकारी स्कुल लालपानी जस्ता हुँदैनन् । अनि सबै सरकारी विद्यालयका शिक्षक लालपानीका जस्ता पनि त नहोलान् । लालपानी स्कुलले मलाई राम्रो श्रेणीमा एसएलसी मात्र उत्तीर्ण गराएन दैनिक जीवनमा आइपर्ने अनगिन्ती परीक्षाहरु उत्तीर्ण गर्ने ज्ञान समेत दियो ।

लालपानी माविको जुनियर रेडक्रस सर्कलको अध्यक्ष भएका बेला सम्पन्न एक कार्यक्रममा तत्कालीन प्रअ डिल्लिराम मैनाली र  शिक्षक पुस्कलकुमार प्रसाइँ सरको बोचमा अाकाशे नीलो सर्ट लाएको म । रेडक्रसको झण्डामुनी । तस्वीर सौजन्य राजीव प्रसाइँ

लालपानी माविको जुनियर रेडक्रस सर्कलको अध्यक्ष भएका बेला सम्पन्न एक कार्यक्रममा तत्कालीन प्रअ डिल्लिराम मैनाली र शिक्षक पुस्कलकुमार प्रसाइँ सरको बोचमा अाकाशे नीलो सर्ट लाएको म । रेडक्रसको झण्डामुनी । तस्वीर सौजन्य राजीव प्रसाइँ

प्रतिक्रिया

सम्बन्धित सामाग्री