‘संसारलाई साढे पाँच फन्को’लाई एक फन्को मार्दा

 

 

मनु ठाडामगर

मनु ठाडामगर

यसपालिको हिउँदमा करिब १५ दिन जति संगै कामगर्ने सिलसिलामा राजन सरबाट यस पुस्तकको बारेमा धेरै पटक गफहरु निस्के । छोटा छोटा तर रमाइला र रोचक जानकारी सहितको संसारभरिका मिश्रित खुराक एकै ठाउँमा पाइन्छ भन्ने वाक्याशंले नै म यस पुस्तकतिर तानिएकी हुँ । नत्र त राजधानी छोडेर दुरदराजको गाउँ छिरेकी मजस्ता पाठकलाई कुन पुस्तक बजारमा निस्किएको छ, त्यो पुस्तकको बजार अवस्था के छ, विषयवस्तु के छन् के थाहा, म बबुरोलाई ।
हुनत पुस्तकको नाम अघिल्लोपटक काठमाडौं जाँदा नै सुनेकी थिएँ । यद्यपि खै किन हो मेरो पहिलोपटक किनिएका पुस्तकका लिष्टमा परेन छ । त्यसबखत त आफैं खुब खुसीको खोजीमा भौँतारिरहेकीले होला विजयकुमारको खुशी पर्याे पहिलो रोजाइमा । यद्यपि आफनै कामको चटारोले आधा पनि खुसी समेटन सकिनँ । उनैबेला उद्धव सरले सानो र एक बसाइमै सकिने, मदन पुरस्कार बिजेता खलंगामा हमला पढ्ने सल्लाह दिनुभो । सामान्य लेखाई, ४/५ दिनको दैनिकी झैँ लाग्ने छोटो र युद्धताकाको डायरी झैँ भएकोले एक बसाइमै खतम पारेँ । यसको तुलनामा खुसी अल्लि बेजोड र त्यसमा विजयकुमारले आफनो काम र क्रियाकलापको विजयउत्सब अल्लि बेस्सी नै अहंकार हो कि ? भन्ने पनि लाग्यो । हुनत त्यति घमण्ड गर्न लायकको काम पनि गरेका छन् । मैले पनि त्यति काम गर्न सकेकेा भए त सायद त्यतिको गफ त गर्वका साथ गर्थे हुँला । तथापि खुसीलाई पूर्णता दिन सकिनँ । किनकि त्यो खुसीलाई पुस्करजीको साहस, अठोट र धैर्यताले ओभरल्याप नै गरिदियो । पछिल्लो पटकको काठमाडौं यात्रामा निस्कँदा बाटैबाट उठाएँ संसारलाई साढे पाँच फन्को र संसारलाई नियाल्ने कोशिस गरेँ पुस्कर शाहको आँखाबाटै । पुस्तक बन्यो मेरो एकान्तको, एक्लो बस यात्राको सहयात्री र बने दुई रात एक दिनको लागी मात्र भए पनि साथीहरुबाट टाढिएर एक्लिएकी म बबुरोको सबै भन्दा प्यारो साथी ।
पुस्तकका बारेमा
मानिसले भित्री मनबाट गर्छु भनेर आँटे पछि वा गर्ने अठोट गरे पनि जसरी पनि पूरा गर्न सकिन्छ भन्ने कुराको ठोस सबुत हो यो पुस्तक । कसैले केही काम गर्छन, त्यसको जस अपजस आ-आफनै ठाउँमा हुन्छन् । यद्यपि मानिसले कसैले थाहा पाउँछन् र ती उल्लेखनिय कामको सम्झना गर्छन् त कसैले यसलाई चाँडै बिर्सन्छन् । चाँडै बिर्सिने ब्यक्तिहरुको लागि सधैं सम्झाइ रहने र राम्रो काम गर्नेहरुको लागी पथ प्रदर्शनको साक्षी इतिहास हो यो पुस्तक ।
१४४ वटा विभिन्न शिर्षकमा लेखिएका छोटाछोटा लेखहरु जसको अलग्गै रसहरु छन् । कथा, व्यथा, पीडा, आतंक, भय, करुणा, रौद्र, लिला, सबै भावहरुको सम्मिश्रण, जीवनका यथार्थ भोगाइहरुको संगालो । अझ यसो भनौं, संसारभर छरिएर रहेका नेपालीहरुको एउटै ब्यक्तिप्रति गरिने फरक फरक व्यवहार, हेर्ने दृष्टिकोण, व्यक्ति र उसको क्रियाकलापप्रतिको प्रतिक्रियाको संगालो । लेखकले यस पुस्तकमा आफूले देखेका, भोगेका, जानेका जानकारी तथा सूचना बाँडेका छन् । कुनै कुनै लेखमार्फत् सचेत गराएका छन् । कुनै लेखले राजनैतिक दल तथा विशिष्ट भनाउँदा व्यक्तिहरुलाई ब्यंग्य पनि प्रहार गरेका छन् । एक हिसाबले एक फिरन्ता जीवनको हाँसो, ठट्टा, खुसी, सुख, दुःख, मनोरन्जन सबै प्रकारका खुराकलाई समेटेका छन् ।
लेख पढ्दै जाँदा मेरो नितान्त व्यक्तिगत जीवनको धेरै कुराहरुलाई फ्ल्यास ब्याक गराए । बाइबल शीर्षकमा पुग्दा मेरी संगिनी जो एक वर्षदेखि सम्पर्कविहीन छिन्, जसलाई मेरो सम्झनाको डब्बाबाट झण्डै झण्डै डिलिट गरी सकेकी थिएछु उनको सम्झना गरायो । किनकि उनी पनि लण्डन अध्ययन गर्न गएदेखि तिनै बाइबलको सहाराबाट जीन्दगीको रथलाई दौडाउँदै छिन् । थ्रिडीलाई आलु भिषा पढ्दै गर्दा कुनै समयमा म पनि त्यही अवस्थाबाट गुजि्रएको कहानीलाई सम्झन पुगेँ । मसंगै जेट यात्रामा निस्किएका साथीसंगीहरु जो अहिले पनि तिनै आलु भिषा लिएर जीन्दगीका दोबाटोहरु नाप्दै छन् । मनिला र थाइल्याण्ड पुग्दाका लेखहरुले खगेन्द्र पन्धाक दाइको पुस्तक एब्स्ट्रयाक्ट बैंककलाई संझना गरायो । चाइवान, वानचाई पढ्दा मेरो आफनो विगत र विकसित मुलुकको बिकसित यन्त्रसंगको पहिलो परिचय याद दिलायो । यस्ता विभिन्न कथाहरुले धेरै धेरै ब्यक्तिका ब्यक्तिगत कुराहरुलाई पनि याद दिलाउन सक्छ होला भन्ने लाग्यो । पुस्तकका १४४ मध्ये धेरै वटा लेखले मेरो मन छोयो जस्तै भोक र यात्रा, ल्याटिट्युड, घण्टा होटेल, छरपस्ट सोल्टिनीहरु, डलर खेति र अरु थुप्रै थुप्रै ।

pushkar book

पुस्तकका कमजोर पक्षः
हुनत संसारलाई फन्को मार्दाको नोटहरु हुन्, छोटा लेखहरु भएरै पनि ३५८ पृष्ठ कभर गरेका छन् । यदि लेखहरु लामा लामा हुँदो हो त महाभारतका ठेली नै हुने थिए होलान्, जसलाई मैले एकै दिनमा पढेर यसरी रमाउन पनि सक्ने थिइनँ होला । यद्यपि लेखहरु लामा छोटा जे जस्ता भए पनि म एक पाठकको नजरबाट पुस्तकका कमजोर पक्षलाई केलाउँदा केही बुँदाहरु राख्नै पर्ने हुन्छ ।
एक, धेरै लेखहरु अधुरा र अपूरा लाग्छन् । धेरै कुरा भन्न खोज्दाखोज्दै पनि अधूरै र अपूरै छोडे जस्ता । केही लेखहरु किन त्यस्तो भयो, कसरी भयो भन्ने निश्कर्षविहीन भएर टुंगिन्छन् जसले पाठकलाई खल्लो महसुस गराउँछ । उदाहरणको लागि उनी अपहरणमा पर्छन्, साइकल चोरी हुन्छ, जेलमा पर्छन् तर अपहरण पश्चातका दर्दनाक कथाहरु त्यतिकै बिलाएर गएका छन् । साइकल चोरी भए पनि अर्काे साइकल जुटाउन र जुराउन कति संघर्ष गर्नु परे होलान् पुस्तकले खासै बोल्दैन । पुलिसले चौकीठानामा लगेर थुनेपछि कसरी बाहिर आए, कसले निकाल्यो, के कस्ता प्रयत्न गर्न पर्यो पुस्तक चुप छ ।
दुई, कुनै कुनै लेखहरुले त्यति अर्थ बोक्दैन जति लेखकले महत्वका साथ समेट्ने कोशिस गरेका छन् । वाक्यांशहरु धेरै दोहोरिएका छन् जुन त्यति उपयुक्त ठाउँमा छैनन् । केही शीर्षक भित्रको विषयबस्तुभन्दा धेरै भिन्न छन् र भिन्न अर्थ बोकेका छन् जसले कथाको कहानी एकातिर पात्रहरु अर्कातिर भए झैं भान गराउँछ । जस्तै ज्याकीको आँशु, बालीका रामा आदि आदि ।
पुस्तकको कुनै पनि भागमा मूल्य देखाएको छैन । जसले ब्यापारीहरुलाई जति पैसा पनि लिन छुट दिएको छ । यद्यपि यस पुस्तकको अघिल्लो पृष्ठमा भनिएको जस्तो पुस्तक बिक्रीको १० प्रतिशत रोयल्टी गरिब बालबालिकाको शिक्षाको लागि जानेछ जुन अत्यन्त सराहनिय कामको सुरुवात भएको छ र सकारात्मक परिवर्तनको पाटो हो पनि भन्न सकिन्छ । यस पुस्तकभित्र धेरै त्यस्ता मन छुने वाक्यांशहरु छन्, जसले समाजको वास्तविक चरित्र चित्रण गर्दछन्, जस्तै उदाहरणको लागि .. म तानातान भएँ । उसले एक घण्टा जतिमा सय जति फोटा खिचे, म को हुा, मसंग त्यतिका मानिसहरु किन फोटो खिचिरहेका छन् भन्ने कुरा सायद उसले बुझेको पनि थिएन होला । (पृ. ८०) कसैलाई केको धन्दा कसैलाई केको घन्दा खै कस्लाई खानैको धन्दा भने झै वास्तवमा मानिसहरु आफनै लागि केही गरिरहेका हुन्छन् संसारमा ।
सबैभन्दा तीतो सत्य नेपालबाट संसारभर सस्तो मजदुरीको लागी नेपाली युवाहरु दिनका दिन विदेशिइरहेका छन् जसले देशको अर्थतन्त्रलाई, समाजको दैनिक जीवनयापनलाई नकारात्मक तथा सकारात्मक दुवै तरिकाले असर गरिरहेको छ । तिनै कुराहरुको चित्रण पनि यस पुस्तकमा पाइन्छ । सयौ बिर्खे विदेशमा तरकारी खेती गरिरहेका छन्, क्वालालाम्पुरबाट गिरीराजहरु आउँछन् । उनीहरुको पसिनाको कमाई काठमाडौं पठाइदिन्छन् । काठमाडौंमा उनीहरुको श्रीमतीहरुले तरकारी किनेर खान्छन् । बिर्खेहरु मलेशिया गएदेखि गाउँको बिर्खे डाँडोहरु चाहिँ बाँझै छन् । (पृ.८६)
इजरायलमा करिब १५ हजार नेपाली कामदार छन् । तर तथ्यांक आधिकारिक छैन । शिक्षा, चेतना, सीप र ज्ञान नभएका त्यस्ता कामदारले सिंगो अर्थतन्त्रलाई नै प्रभाव पार्दछ । कतिसम्म ज्ञान नभएका महिला कामदारहरु पनि आउादा रहेछन् भने जुतालाई फ्रिजमा लगेर कोचि दिने पनि नेपाली रहेछन् । (पृ. ९२)
सारांशमा भन्नुपर्दा, पुस्तक सरल र सरस भाषामा लेखिएको छ । रोचक विषयबस्तुहरु समेटिएका छन् । विभिन्न देशका विभिन्न कुराहरुको जानकारीलाई एउटा पुस्तक रुपी मालामा उनेका छन् । पेपर क्वालिटी पनि राम्रो छ र महत्वपूर्ण कुरा तपाईले किनेर पढ्नु भो भने त्यसको रोयल्टीले गरिब बालबालिकाको शिक्षालाई सहयोग पुग्नेछ । संसारलाई नजिकबाट नियालेर, केलाएर, भोगेर, देखेर आएका पुस्कर शाहकै शब्दमा भन्नुपर्दा संसार वास्तवमै विचित्रको छ । यद्यपि संसारका सूर्य, चन्द्रमा, तारा, आकाश कुनै पनि चिज फरक छैनन् । हरेक आस्थाका मानिस छन् जसले विभिन्न तरिकाले पूजा गर्लान तर सूर्य एउटै हो । व्यवहार र दृष्टिकोणमा मानिस फरक भएता पनि प्रकृतिले मानिसलाई विभाजन गरेको छैन । संसार एउटा घर हो । हामी सबैले जिउने समान अधिकार पाउनु पर्छ ।

धनकुटा । हालः बाग्लुङ्ग

प्रतिक्रिया

सम्बन्धित सामाग्री