हिन्दु अधिराज्यको माग गर्दै राप्रपा नेपालको रथयात्रा

काठमाडौं। नेपाललाई हिन्दु अधिराज्य घोषणा गरिनुपर्ने मागसहित राप्रपा नेपालले झापाबाट मेची–महाकाली रथयात्रा थालेको छ। हजारौं कार्यकर्ताको बीचमा पार्टी अध्यक्ष कमल थापाले बुधबार रथयात्रा शुभारम्भ गरे।kamal thapa

काँकडभिट्टास्थित मेची नदीबाट पूजाआजासहित सुरु भएको यात्रा महाकालीसम्म पुग्नेछ । त्यसपछि पुस १९ मा काठमाडौंको पशुपतिनाथमा पुगेर रथयात्रा टुंगिनेछ। निरन्तर १० दिनसम्म चल्ने रथयात्रामा स्थानीय रूपमा १ हजार ८ जनाको सहभागिता रहनेछ।

१ हजार ९ सय २९ किलोमिटरको रथयात्राले तराईका २२ सहित पाल्पा, स्याङ्जा, कास्की, तनहुँ, धादिङ, काठमाडौ, ललितपुर र भक्तपुर गरी ३० जिल्लालाई छुनेछ । ती स्थानमा साना र ठूला गरी १ सय ८ जनसभा आयोजना गरिएको छ ।

काँकडभिट्टामा सुरु भएको रथयात्रा बिर्तामोडमा पुगेर सभामा परिणत भएको थियो। सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले हिन्दु राज्य नेपालको पहिचान भएको बताएका थिए। ‘संसारमा धेरै राष्ट्र धर्मसापेक्ष छन्,’ उनले भने, ‘तर, तिनै राष्ट्रको उक्साहटमा लागेर नेपाललाई निरपेक्ष बनाइएको छ । यो विदेशी षड्यन्त्रको उपज हो ।’

धर्म सापेक्षताले नेपाललाई कुनै हानी नगर्ने उनको भनाइ थियो । निर्धारित समयमा संविधान आउन नसक्ने ठोकुवा गर्दै थापाले जनमतसंग्रहको विकल्प नभएको दोहोरयाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री