व्यवसायमा रम्दैछन् पूर्व लडाकु महिलाहरु

पूर्व लडाकु पवित्रा जैशी

पूर्व लडाकु पवित्रा जैशी

लडाइँका बेलामा बन्दुकले विरोधीलाई खत्तम गर्ने अभियानमा होमिएकी सीता बिक सोडारी आजकाल उनै बन्दुक चलाउने हातले अनुहार सुन्दर बनाउने काम गर्दैछिन् ।

सीता माओवादी सेनाको कम्पनी कमाण्डर थिइन् ।

२०६० सालमा सुर्खेत घर भएका माओवादीकै लडाकु दिनेश सोडारीसँग बिहे गरिन् । उनीहरुका एक छोरी र एक छोरा छन् ।

उनीहरुले सल्लाह गरेर स्वैच्छिक अवकास लिएका थिए । त्यसो गर्दा सीताले ५ लाख र दिनेशले ६ लाख रुपैया पाएका थिए । त्यसबाट उनीहरुले हालको लम्की-चुहा नगरपालिकाको कर्णाली चिसापानीमा घर किने । सीताले त्यसमा ब्युटी पार्लर खोलिन ।

‘बाँकी पैसाले बर्दियामा खेती गर्ने जग्गा र भुरीगाउँमा घडेरी किनेका छौं,’ सीताले भनिन् ।

दिनेश एक वर्षअघि मलेसिया गएका छन् । एक्लै काम गर्नुपर्दा अप्ठ्यारो भए पनि घर र काम दुवै सीताले धानेकी छिन् । घर खर्च पसलबाट चलेको छ ।
युएन वुमनको सहयोगमा ब्युटी पार्लरसम्बन्धी तालीम लिएपछि उनले पहिलेदेखि चलाइआएको किराना पसललाई ब्यूटी पार्लर बनाइन् । स्वैच्छिक अवकास लिएका धेरै माओवादी लडाकुहरू कैलालीका बौनियाँ, लम्की, टीकापुर, सुखड, मसुरियामा केही न केही ब्यापार ब्यवसाय गरेर बसेका छन् ।

नयाँ ठाउँमा आएपछि केही समय भने उनीहरुलाई समाजमा घुलमिल हुन गाह्राे भयो । स्वैच्छिक अवकाश लिँदा सीताले सरकारबाट पाँच लाख रुपैयाँ पाएकी थिइन् । कैलालीको चिसापानीमा बस्न आउँदा ‘पाँच लाखे’ भन्दै उनको कुरा काट्थे ।

पूर्व लडाकु सुशीला साउद

पूर्व लडाकु सुशीला साउद

पूर्व माओवादी प्लाटुन कमाण्डर पार्वती भाट र उनका श्रीमान पुस्करसिंह भाट स्वेच्छिक अवकाश लिएपछि आफ्नाे घर बैतडी गएनन् । उनीहरू सुखड बजारमा व्यापार गरेर बसे । उनीहरूलाई विचारमा समाजमा बस्ने वातावरण सिर्जना आफैंले गर्न सक्नुपर्छ भन्ने लाग्छ ।

‘भन्नेले त अनेक कुरा भनिहाल्छन्,’ पार्वतीले भनिन् । शुरुमा सीतालाई ‘मान्छे मारेर आएको’ भन्दै छिमेकीले घृणा गर्ने गर्थे । नयाँ ठाउँ भएकोले सुरुमा सबैसँग घुलमिल हुन तथा सामाजिक काममा लाग्न साह्रै अप्ठ्यारो भयो । केही मानिसले ‘पहिले जे भयो, भयो अब मिलेर बस्नुपर्छ’ भन्ने सोचेपछि आजकाल सीतालाई सहज भएको छ ।

‘सुरुमा कोही बन्दुक चलाएर आएको मान्छे भनेर डराउँथे । कोही बदलाको भावनाले जंगिएर बोल्ने र निहुँ खोज्ने गर्थे । अचेल त्यस्तो छैन्,’ सीताले भनिन् । पहिले पाँच लाखे भनेर कुरा काट्नेहरू अचेल सीताका नियमित ग्राहक र असल छिमेकी भएका छन् ।

पहिले सीतालाई सामाजिक संघसंस्थामा बस्न अप्ठ्यारो भयो । आजकाल भने केही सहज भएको छ । उनी स्थानीय वचत समूहमा बसेकी छिन् । ‘स्वेच्छिक अवकास लिएपछि घर जानुभन्दा यतै ब्यापार ब्यवसाय गरेर बस्ने मन लाग्यो । यतै बसियो । आफ्नो भन्ने कोही थिएन । विस्तारै सबैसँग चिनजान भयो । आजकाल समस्या पर्दा सबैले सहयोग गर्छन । पहिलेको कुरालाई लिएर कसैसँग मनमुटाव भएको छैन्,’ पार्वतीले भनिन् ।

आफ्नो व्यवसायमा सन्तुष्टि भए पनि उनीहरूमध्ये धेरै आफ्नाे पार्टीप्रति भने असन्तुष्ट छन् । ‘देश र जनताको मुक्तिका लागि भनेर युद्धमा होमियो तर हाम्रो योगदानलाई केही लाखको भनी मूल्यांकन गरेकोमा दुःख लाग्छ,’ सीताले भनिन् । लडाइँमा लाग्दा देखाएको सपना पूरा नभएकोमा पनि केही पूर्व लडाकूहरू खिन्न छन् । ‘सशस्त्र युद्धबाट केही परिवर्तन त भयो तर जुन लक्ष्य देखाइएको थियो त्यहाँ पुगिएन र आश्वासन दिइएको थियो त्यो पूरा भएन्,’ कैलालीको पण्डौन, पाल्पाको भिडन्तमा खुट्टा र मुखमा छर्रा लागेको देखाउँदै पार्वतीले भनिन् ।

दोदोधारा गाविसको बौनियाँ बजारमा करुण टेलरिङ सेन्टर खोलेर बसेकी पूर्व लडाकु शोभा सुनार टमटालाई नेतृत्वले धोका दियो भन्ने लाग्छ । ‘सशस्त्र युद्धमा होमिएकाहरूलाई वाइसिएल बनाइयो तर, पार्टी र युद्धमा नलागेकालाई टिपेर ल्याई नक्कली जनमुक्ति सेना बनाएर उनीहरूलाई राज्यबाट पाउने सेवासुविधा दिलाइयो,’ शोभाले भनिन् ।

अवकाश लिने बेलामा भएको लैङ्गिक भेदभावको शिकार पनि भएका छन् केही पूर्वलडाकु । दरख, सुखडकी पूर्वलडाकु पार्वती धामी गुरुङ र उनका लोग्ने दुवैजना सेनामा थिए । पार्वतीले स्वैच्छिक अवकास लिइन । उनका श्रीमान् नारायण गुरुङ सेनामा समायोजन भए । ‘एक छोरा र छोरी छन् । सेनामै जाने ईच्छा भएपनि छोराछोरी भएका कारण जान सकिनँ । महिलालाई हरेक कुरामा भेदभाव हुन्छ,’ पार्वतीले भनिन् ।

पूर्व लडाकु निर्मला टमटा

पूर्व लडाकु निर्मला टमटा

विगतका बारेमा पछुतो नगर्ने लडाकू पनि छन् । पूर्व लडाकू निर्मला टमटा पनि बौनियाँमा सिलाईकटाई सेन्टर चलाएर बसेकी छिन् । उनले दुई जना स्थानीय युवतीलाई काम दिएकी छन् । ‘दलित, गरिब, पिछडा समुदायको परिवर्तन होला भनेर युद्धमा होमिएँ । जुन लक्ष्य लिएर गएकी थिएँ त्यो केही हदसम्म पूरा भएको छ ।’

‘पहिले जे भयो, जे गरियो कुनै पछुतो र गुनासो छैन्,’ निर्मलाले भनिन् । लडाइँका बेलामा बन्दूक थमाए पनि पछि सेना समायोजन हुने बेलामा पार्टीले अन्त खटाएका केही लडाकू भने असन्तुष्ट छन् ।

पवित्रा २०५८ सालमा भूमिगत भएकी थिइन् । उनले पाल्पाको तानसेन, अर्घाखाँचीको धरमपानी लगायतका ठाउँमा लडेकी थिइन् । उनले लडाकूले पाउने सुविधा पाइनन् । अहिले उनी ठेलामा फलफूल बेच्छिन् । यसका लागि पनि उनले रिन लिएकी छिन् ।
पवित्राले भनिन्, ‘सबैभन्दा ठूलो पैसा रहेछ । पैसा भए मात्र केही गर्न सम्भव छ ।’

बौनियाँमा जुत्ताचप्पल बेच्ने पूर्व लडाकु सुशिला साउँद ऐडीलाई आजकाल राम्रोसँग पढेको भए हुन्थ्यो जस्तो लागेको छ । उनी नौ कक्षामा पढ्दै गर्दा माओवादी भएकी थिइन् । ‘बीचमै पढाइ छोडेर ज्यान र भविष्य नभनी युद्धमा होमिएँ । तर, सोचेजस्तो भएन । पार्टीमा ठूलो लगानी भएकोले छोड्न पनि सकिनँ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री