काठमाडौंको ‘महिला मात्र’ बसबारे लण्डनमा गरमागरम बहस

तस्वीर बीबीसी

तस्वीर बीबीसी

लण्डन । महिलामाथि सार्वजनिक यातायातमा हुने दुर्ब्यबहार बढ्दै गएपछि काठमाडौँमा शुरु गरिएको ‘महिलाका लागि मात्र’ बसका बारेमा युकेमा बहस शुरु भएको छ ।
यहाँस्थित एक प्रमुख मिडिया गार्डियनले सोमबार सोसम्बन्धी एएफपीले तयार पारेको सामाचार अनलाइनमा प्रकाशन गरेपछि गरमागरम बहस चल्न थालेको छ ।
बेलायतको स्थानीय समयअनुसार दिउसो १२.५६ मा प्रकाशन गरिएको सो समाचारमा पाँच घण्टा नबित्दै ७० वटा प्रतिक्रियाहरु आइसकेका छन् ।
प्रतिक्रियाहरुमा महिलालाई समुदायबाट अलग गरिएकोमा आलोचना गरिएको छ भने कतिपयमा महिला दुर्ब्यबहारबाट बच्ने उपाय अवलम्बन गरेकोमा स्वागत पनि गरिएको छ । कतिपयले युकेमा पनि त्यस्ता किसिमको अलग सेवा शुरु गर्नुपर्ने आवाज पनि उठाएका छन् ।
त्यस्तै, विश्वका कतिपय देशमा यसअघि नै महिलाहरुका लागि अलग यातायात सेवा वा सार्वजनिक यातायातमा अलग कक्ष उपलब्ध गराइएको जानकारी पनि दिइएको छ । जसले दुर्ब्यबहार नियन्त्रणमा सहयोग गरेको दाबी गरिएको छ । यसैगरी, कतिपय प्रतिक्रियामा तेस्रो विश्वका अन्य शहरहरुको तुलनामा काठमाडौँ महिलाहरुका लागि सुरक्षित शहर रहेको जिकिर गरिएको छ ।
कतिपयले कस्तो किसिमको यातायात रोज्ने त्यहीँ (काठमाडौं) का महिलाहरुको अधिकार रहेको बताएका छन् । यतिमात्र होइन, युकेमै महिलामाथि दुर्ब्यबहार हुँदा पुरुषहरु रमिते भएको दृष्टान्त पनि प्रतिक्रियाहरुमा उठाएका छन् । त्यस्ता प्रतिक्रियाहरुको जवाफमा कतिपयले महिलामाथि भइरहेको दुर्ब्यबहारको प्रतिकार गर्न जाँदा प्रहरीको पक्राउमा मात्र होइन चोटपटक लाग्ने र ज्यानै जाने खतरा रहेको दर्शाएका छन् ।
युकेमै लण्डन र उत्तरी भागमा महिलालाई हेर्ने दृष्टिकोणमा समाजमा आकाश पातालको अन्तर रहेको प्रतिक्रियाहरुमा बताइएको छ । केहीले एसियाली मुलुकहरुमा बढ्दो महिला दुर्ब्यहार युकेमा पनि छिरेको बताएका छन् ।
‘महिलाका लागि मात्र’ बस सेवाले पुरुषहरुलाई लिंगभेदका आधारमा अधिकारबाट वञ्चित गरिएको पनि आवाज उठाएका छन् । यसैगरी, महिलाका लागि मात्र बाहेकका अन्य यातायातमा चढ्ने महिलालाई अब कसरी हेरिँदो हो (दुर्ब्यहार हुन्छ भन्ने जानीजानी आएको) भन्ने शंका पनि व्यक्त गरेका छन् ।
चारवटा मात्र सार्वजनिक यातायात अपुग भएको केहीले प्रतिक्रिया दिएका छन् भने केहीले यस्तो यातायात सेवा शुरु गर्ने व्यवसायीले के गर्दैछु भन्ने बारेमा थाहा नै नपाएको समेत बताएका छन् ।
कतिपयले महिलालाई यातायातमा हुने दुर्ब्यबहारबाट बच्न घरमै बसीबसी काम गर्ने ‘टेलीकम्युट’ शुरु गर्नुपर्ने सुझाव दिएका छन् भने केहीले महिला दुर्ब्यबहार महिलाको मात्र समस्या नभएको बरु समाजकै समस्या भएको त्यस्ता घटनामा संलग्नलाई पाठ पढाएर र कार्बाही गरेर समाधान खोज्जुपर्ने सुझाव दिएका छन् ।
महिलामाथिको दुव्र्यबहार बढ्नुमा नेपाली र भारतीय महिलाहरुले आफ्नो अधिकारका बारेमा सशक्त रुपमा उभिन नसक्नुलाई केहीले कारक ठहर्‍याएका छन् भने केहीले काठमाडौँको यातायात सेवाको कहालीलाग्दो चित्रण पनि गरेका छन् ।
उता बीबीसीयुके रोयटर्सले पनि सोही समाचार सोमबार दिउँसो प्रकाशन गरेको थियो तर त्यहाँ पाठकहरुलाई प्रतिक्रिया व्यक्त गर्ने सुविधा छैन ।

बाग्मती यातायात व्यवसायी संघले कार्यालय समयमा बालकोट कलंकी रुटमा चारवटा १७ सिटे यस्तो सेवा शुरु गर्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री