पेरिस आक्रमणपछि लन्डनमा उच्च सुरक्षा सतर्कता

लन्डनमा सशस्त्र प्रहरी उपस्थिति बाक्लो छ : टेलिग्राफ

लन्डनमा सशस्त्र प्रहरी उपस्थिति बाक्लो छ : टेलिग्राफ

 

लन्डन । बन्दुकधारीहरुले बुधवार फ्रान्सको राजधानी पेरिसस्थित एउटा व्यंग्य पत्रिका चार्ली हेब्डोको कार्यालयमा हमला गरेपछि लन्डनमा समेत सुरक्षा सतर्कता अपनाइएको छ । हमलामा ८ पत्रकारसहित १२ जनाको ज्यान गएको थियो ।

पेरिस आक्रमणको विश्वव्यापी भत्र्सना भइरहंदा लन्डनस्थित सार्वजनिक भवनहरुमा सुरक्षा व्यवस्था बढाइएको दि टेलिग्राफले जनाएको छ ।

गए राती बेलायतको संसद भवन हाउस अफ पार्लियामेन्टमा हतियारले सुसज्जित अतिरिक्त मेट्रोपोलिटन प्रहरीहरु खटाइएको छ । सशस्त्र प्रहरीहरु वेष्ट मिनिष्टर भवनको सवारी प्रवेश गेटमा तैनाथ छन् । संयोगले जर्मन चान्सलर एन्जेला मर्केलको लन्डन भ्रमणकै समयमा पेरिस हमला भएको थियो ।
गृहमन्त्री टेरेसा मेको अध्यक्षतामा अहिले बिहीवार बिहान सुरक्षा समिक्षा र नयां रणनीति तय गर्न ‘कोब्रा’ बैठक बसिरहेको छ । बीबीसीका अनुसार, आकष्मिक कोब्रा 
बैठकमा सार्वजनिक स्थल, मिडिया भवन, यातायात लगायतमा थप सुरक्षा व्यवस्थाबारे छलफल भएको छ ।

गत राती नै प्रधानमन्त्री डेभिड क्यामरुनलाई बेलायती जासुसी संस्थाहरु एमआइ फाइभ र एमआइ सिक्स्ले सुरक्षा अवस्थाबारे ‘ब्रिफ’ गरेको टेलिग्राफले उल्लेख गरेको छ ।
इराक र सिरियाबाट फर्किएका लडाकुहरुबाट बेलायतको राष्ट्रिय सुरक्षामा समेत खतरा छ । गत अगष्टमा उक्त ‘थ्रेट’ लेभल अति उच्च भएको र विना चेतावनी कुनै बेला आक्रमण हुन सक्ने अधिकारीहरुले विश्लेषण गरेका थिए । गत महिना प्रकाशित राष्ट्रिय सुरक्षा रणनीतिको वार्षिक प्रतिवेदनमा समेत आक्रमणको खतरा रहेको उल्लेख थियो । सिरिया र इराकमा विकसित घट्नाक्रमसंगै आतंककारी समूहले पश्चिमा मुलुकहरुलाई निसाना बनाइरहंदा बेलायतले पनि खतरा महशुस गरेको हो ।

उता, २४ घण्टा नबित्दै दक्षिणी फ्रान्समा अर्को एउटा आक्रमणमा एक महिला प्रहरी अधिकृतको ज्यान गएको छ भने अन्य तीनजना गम्भीर घाइते छन् । फ्रान्सले देशभर सुरक्षा व्यवस्था अत्यन्त कडा बनाएको छ । फ्रान्सेली प्रहरीले दुईजना हमलाकारीको व्यापक खोजी गरिरहेको जनाइएको छ । प्रहरीले छापा मारेर केही संदिग्ध व्यक्तिहरुलाई गिरफ्तार समेत गरेको सञ्चार माध्यमले जनाएका छन् ।

हमलापछि पेरिस शोकमा डुबेको छ । पेरिसमा आज एकमिनेट मौन धारणसहित 
राष्ट्रिय शोक मनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री