घरधनीले छाडेकै चाबी प्रयोग गरेर चोर्नेहरु युकेमा बढे

डोरम्याटमुनी चाबी लुकाउने मुख्य स्थान बनेको छ । अनलाइन तस्वीर

डोरम्याटमुनी चाबी लुकाउने मुख्य स्थान बनेको छ । अनलाइन तस्वीर

लण्डन । घरको मूलद्वारको चाबी प्रयोग गरेर गरिने चोरीमा वृद्धि भएको प्रहरीको आधिकारिक तथ्यांकले देखाएको छ ।
गतवर्ष मात्र युकेमा भएका ६ हजारभन्दा बढी चोरीका घटनामा चोरले घरको ढोका नफोडी छाडिएका चाबी प्रयोग गरेको तथ्यांकले देखाएको छ ।
इन्स्योरेन्स कम्पनी एलभी इक्वेलले गरेको अनुसन्धान अनुसार २९ प्रतिशत घरधनीहरुले घरको चाबी घरबाहिर लुकाउने गरेको बताएका छन् । उनीहरुका अनुसार चाबी लुकाउने मुख्य स्थानहरुमा डोरम्याट मुनी, फूल वा विरुवाको भााडामा वा बगैँचामा राखिएको मूर्ति रहेका छन् ।
सूचनाको हकको प्रयोग गर्दै एलभी इक्वेलले प्राप्त गरेको प्रहरीको आँकडाअनुसार यसबाहेकका अन्य किसिमका चोरीहरु भने युकेमा घटेका छन् ।
यसरी सुरक्षाको जोखिम मोलेर चाबी छाड्नुको मुख्य कारण यदि घरधनी घरमा नभए पनि परिवार र साथीसंगीले सजिलोसित घरभित्र प्रवेश पाउन् भन्ने रहेको सर्भेले देखाएको छ ।
सर्भेमा सहभागीमध्ये एक चौथाईले अपर्झट आइपर्ने अवस्थाका लागि चाबी त्यसरी लुकाएको बताए भने त्यति नै संख्याका सहभागीहरुले आफूसित लैजाँदा चाबी हराउन सक्ने भएकाले त्यसरी छोडेको राय व्यक्त गरे ।
यसरी चाबी लुकाउनेहरु यसरी छोड्नुलाई सुरक्षित ठान्छन् । उनीहरुको तर्कअनुसार यसरी छोड्दा अल्पसमयका लागि छोडिने र यस्ता ठाउँहरु गोप्य हुने गर्छ । कतिपयले यसरी छोड्नु असल छिमेकीहरुका कारण पनि ठीकै भएको बताएका छन् ।
एलभी इक्वेलका डाइरेक्टर सिउलिन फर्नाण्डेज भन्छन्, “समग्र चोरी घटिरहेको बेलामा चोरहरुले चाबी प्रयोग गरेरै गर्ने चोरी भने बढिरहेको छ । यो चिन्ताको विषय हो ।”
“चोरहरुलाई थाहा हुन्छ कि मानिसहरुले जगेडा चाबी छोड्ने केही सीमित ठाउँहरु मात्र हुन्छन् । त्यसैले तिनीहरुले ढोका फोर्नुअघि ढोका वरिपरि चाबी छोडिएको छ कि भनेर खोज्छन् । उनीहरुले सहजै भेट्ने ठाउँमा चाबी छोडेर उनीहरुलाई सजिलो नबनाइदिनुहोस्”, उनी भन्छन् ।
लुकाइएको चाबी नदेखिने ठाउँमा हुनसक्छ तर पनि उनीहरुले सहजै पाउने स्थानमा हुनसक्छ । सर्भेका अनुसार धेरै मानिसहरु लेटर बक्स वा खुला झ्यालबाट भेट्न सकिने ठाउँमा चाबी छोड्छन् ।
सर्भेमा भाग लिएकामध्ये पाँचभागको एक भागले मूलढोकाको छेउमा कचौराभित्र अथवा टेबलमा चाबी राख्ने बताए । जबकि ती स्थानहरुबाट चोरले सजिलै चाबी तान्न सक्छन् र ढोका नफोडीकन घरभित्र प्रवेश गर्न सक्छन् ।
कुनै बेला चाबी पहिले थुतेर पछि चोर्ने गर्छन् ।
सर्भेमा सहभागीमध्ये २० प्रतिशतले आफूहरु घरबाहिर निस्कँदा मूलढोका वा पछाडिको ढोका बन्द नगरेको स्वीकार गरे । यसैगरी, दशौँ लाखले जगेडा चाबी बाटोमा कतै हराएको बताए ।
सर्भेमा २ हजार जना सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री