कैनीलाई लाग्यो बेलायतको चुनाव, मुख्य प्रतिस्पर्धा टोरीसंग

10887455_10205724009728353_384028890045117901_o

कैनी चुनावी अभियानमा बांयाबाट दोश्रो

लन्डन । आगामी मे ७ मा हुने निर्वाचनमा डाटफोर्ड बरो काउन्सिलको काउन्सिलर पदका लागि उम्मेदवारी दिएका बच्चु कैलाश कैनीको चुनावी अभियान तीव्र छ अहिले । बेलायतको न झरी, न कठ्यांग्रिदो चिसो । केही पर्वाह नगरि उनी यस सप्ताहन्त पनि मत माग्दै घर घर पुगे । तर, चुनाव नजिकिंदै जांदा पनि मतदाता र सर्वसाधारणबीच यहांको राजनीतिक सरगर्मी त्यति ताते झैं लाग्दैन । आमनागरिक शान्त देखिन्छन्, नेपाल जस्तो पर्चा टांस्दै हिंड्ने र आमसभाको रौनक पनि देखिएको छैन् । आखिर कसरी हुन्छ यहांको प्रचार प्रसार ?

कैनीकै अनुभवमा यस्तो छ बेलायतको चुनावी अभियान ः

आगामी मे ७ मा हुने निर्वाचनमा डाटफोर्ड बरो काउन्सिलको काउन्सिलर पदका लागि लेबर पार्टीको तर्फबाट मैले उमेदवारी दिंदैछु । हाल चुनाबी प्रचार प्रसारको लागि म र पार्टीका अरु साथीहरु विभिन्न कार्यक्रममा संलग्न छौं । पार्टीको कार्यक्रम संयोजकले हरेक हप्ता कुन कुन ठाउँमा के कार्यक्रम गर्ने भन्ने तय गरेर सबैजना स्वयंसेवक तथा कार्यकर्ताहरुलाई जानकारी गराउनु हुन्छ । जस अनुसार सबै भन्दा बढि घर दैलो कार्यक्रम हुंदैछ । घर दैलोमा जाँदा हरेक कार्यकर्तासंग मतदाता नामावली र ठेगाना  हुन्छ । हामी कार्यकर्ताहरु पार्टीको भावी नीति र कार्यक्रमहरु सम्बन्धि जानकारी लिएर हरेक घर दैलोमा जान्छौं । साथै यो अवसरमा विभिन्न प्रकारका सामग्री जस्तै प्रचार पुस्तिका, लिफलेटहरु पनि वितरण हुन्छ । स्थानीय बासिन्दाको कुनै समस्या तथा गुनासो भएमा सो कुराको जानकारी लिन्छौं र सम्बन्धित निकायसम्म पुर्याउंछौं  । दोस्रो खालको कार्यक्रम भनेको विभिन्न स्थानीय कार्यक्रममा पार्टीको तर्फबाट स्टल राख्ने र पार्टीको कार्यक्रमबारे प्रचार गर्न विभिन्न सामाग्री वितरण गर्ने तथा  मौखिक जानकारी दिने हो ।

त्यसै गरि टेलिफोनबाट पनि मतदाताहरुलाई सम्पर्क गरेर पार्टीको कार्यक्रमबारे जानकारी गराउंछौ । यसरी टेलिफोन र घर दैलोमा सिधा सम्पर्क गर्दा हामी हरेक मतदातालाई तपाईंले आगामी निर्वाचनमा कुन पार्टीलाई भोट हाल्ने बिचार छ भन्ने कुरा पनि सोध्छौं । धेरै जसो मतदाताले आफ्नो विचार कुनै कुरा नलुकाई भन्छन् । पार्टीसंग यी सबै कुराको जानकारी लिखित रुपमा राख्ने प्रचलन छ । साथै हामी नियमित रुपमा आफ्नो कार्यक्रम र मतदाताहरुबाट प्राप्त प्रतिक्रियालाई समिक्षा गर्छौं ।

कैनी जीवनसंगिनी यशु कैनीका साथ

कैनी जीवनसंगिनी यशु कैनीका साथ

मेरो अनुभवमा बेलायती मतदाताहरु व्यक्ति भन्दा पनि पार्टीको नीति तथा कार्यक्रम हेरेर र उम्मेदवारको अनुभव तथा क्षमता हेरेर भोट हाल्ने गर्छन् । मेरो मुख्य प्रतिस्पर्धा टोरीसंग हुनेछ ।

म अहिले डाटफोर्ड  निर्वाचन क्षेत्र लेबर पार्टीको Trade Union Liaison Co-ordinator र लेबर पार्टीको सन् २०१४ सेप्टेम्बरमा सम्पन्न भएको पार्टीको  महासम्मेलनको लागि  डाटफोर्ड  निर्वाचन क्षेत्र लेबर पार्टी समितिको तर्फबाट एक्लो प्रतिनिधिको रुपमा सहभागी भएको थिएँ । सन् २००९ देखि म UNISON Trade Union को सदस्यको रुपमा र सन् २०१३ देखि लेबर पार्टीको सक्रिय सदस्यको रुपमा कार्यरत छु ।

म सानैदेखि राजनीतिक परिवारमा जन्मेर राजनीतिक वातावरणमा हुर्केको हुँ । मलाई सानैदेखि राजनीतिमा रुचि थियो । नेपालमा विद्यार्थी कालमा म राजनीतिमा संलग्न थिएं । मेरो राजनीतिक जीवन विद्यालयकाल देखि नै नेपाल विद्यार्थी संघको सदस्यको रुपमा सुरु भएको हो । नेपालमा पंचायती शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाको लागि २०४२ सालमा नेपाली कांग्रेसले सुरु गरेको सत्याग्रहमा सहभागी भएर पहिलो पटक प्रहरी गिरफ्तारीमा परेको थिएं ।

म करिब २३ वर्षदेखि अस्पताल ब्यवस्थापनको क्षेत्रमा काम गरिसकेको छु भने करिब १० बर्ष देखि म बेलायतको सरकारी राष्ट्रिय स्वास्थ्य सेवा (National Health Service – NHS) मा व्यवस्थापकको रुपमा काम गर्दै छु । हाल म Queen Elizabeth Hospital लण्डनमा बरिष्ठ व्यवस्थापकको पदमा काम गर्दैछु । नेपालमा शहिद गंगालाल मुटुरोग अस्पातलमा १० वर्ष प्रशासन प्रमुखको रुपमा कार्यरत रहें । हाल म University of Greenwich, लण्डनबाट अस्पताल व्यवस्थापन बिषयमा विद्यावारिधि गर्दै छु । मैले अस्पताल व्यवस्थापकको बिषयमा दुईवटा पुस्तक प्रकाशित गरेको छु । मेरो साहित्यमा समेत रुचि छ । मेरो कविताहरुको संग्रह ‘मेरो रहर’ समेत प्रकाशित भएको छ । मेरा लेख रचनाहरु नेपाली पत्रिका र प्रकाशन गृहहरुबाट प्रकाशित छन् । म नियमित रुपमा मेरो नाममा रहेको ब्लगमा समेत लेख र विचार प्रकाशित गर्छु  ।

डाटफोर्ड बरो काउन्सिल लण्डनको साउथ इस्ट स्थित केन्टमा अवस्थित छ । डाटफोर्डको जनसंख्या करिव एक लाख छ । डाटफोर्डको क्षेत्रफल करिब ७३ वर्ग किलोमिटर छ । काउन्सिलको काम स्थानिय स्तरको नीति नियमको तर्जुमा गर्ने र स्थानिय स्रोत र साधन को उपयोग गर्ने तथा स्थानिय विकास निर्माणको काम गर्ने हो । काउन्सिलरले आफूले प्रतिनिधित्व गरेको क्षेत्रको जनताको हक, हित र समस्या समाधानको लागि पहल गर्ने मुख्य काम हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री