स्पेनमा दूतावास किन?

(स्पेनमा दूतावास स्थापनाको माग गर्दै गैर आवासीय नेपाली संघले सोमबार परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई बुझाएको ज्ञापनपत्रको पूर्णपाठ)

 

ज्ञापन-पत्र

श्री मन्त्री परिषद सचिवालय

नेपाल सरकार

नेपालीहरुको बिदेश जाने क्रमको सुरुवात धेरै पहिलाबाट सुरु भएपनि सन् १९९० को दशकबाट यसले अलग मोड लिन पुगेको छ। यस् पश्चात ठूलो संख्यामा नेपालीहरु आफ्नो स्वर्णिम भविष्यको खोजीमा आफ्नो जन्मभूमीबाट टाढिएर बिदेशी भूमिमा आफ्नो श्रम अविरल रुपमा खर्चिरहेको तीतो यथार्थ हामी सबै सामु छर्लंग छ। Nepal_Spain

नेपालको भौगोलिक अवस्था, गरिबी, अशिक्षा, परनिर्भरता र अस्थिर राजनीतिक परिस्थितिले गर्दा नेपाली आमाका सन्ततिहरु सुरक्षित र सुनौलो गन्तब्यको लागि बिदेशिएका छन्। विदेशमा रहदा बस्दा पनि नेपालीहरु हरहालतमा आफ्नो मातृभूमिको हकहितका लागि संसारको कुनै पनि कुनाबाट अहोरात्र खटेर कर्तब्य निष्ठाको मार्गमा लम्किरहेको कुरा सबै समक्ष सर्वविधितै छ। संसारको कुनैपनि कुनामा रहेका नेपालीहरु आज संचार र सूचना प्रविधिको सहारामा आफ्ना सुख-दुख, अनुभव र सीपलाई देश-विदेशमा रहेका आफ्ना सम्पूर्ण दाजुभाई एवं दिदीबहिनीहरु समक्ष आदान-प्रदान गरिरहेका छन्। जेजस्तो परिस्थितिमा विदेशिनु परेपनि असल नागरिकको हैसियतले बिदेसीयका नागरिकले आफ्नो राष्ट्रप्रतिको माया, स्वदेशप्रति केही गर्नु पर्छ भन्ने भावना तथा दायित्वबाट प्रेरित भएको पाईन्छ भने राज्यको तर्फबाट पनि आफ्ना नागरिकहरु जहाँ जे जस्तो अवस्थामा रहे पनि उनीहरुप्रतिको न्युनतम दायित्वबाट अलग रहन सक्दैन। राज्य र राज्यका निकायहरु जुन प्रवासी नेपाली जनसमुदायलाई सेवा र सुबिधा प्रदान गर्न विदेशमा स्थापित छन्। ति निकायहरुबाट नेपाली जनसमुदायहरु सहज र सुलभरुपमा सेवा र सुविधाबाट लाभान्वित हुन नपाउँदा आफ्नो राज्य र राज्यका निकायहरु समक्ष ती नेपालीहरुले यदाकदा गुनासो समेत गर्नुपर्ने बाध्यता छ। कतै राज्य यी दयित्वबाट पन्छियको त होइन भन्ने खालको आवाजहरु पनि सुनिने गरेको छ। तैपनि देशको आर्थिक क्षमता तथा सम्भव्यताहरुको पनि ख्याल यस् सँगसगै आउने गरेता पनि टड्कारो समस्याको रुपमा देखिएका कुराहरुको समाधानलाई राज्यले प्राथमीकतामा राख्नुपर्दछ भन्ने सबैको मान्यता हो।

स्पेन र नेपालबीचमा सन १९६८ देखी मैत्री सम्बन्ध स्थापित भै हालका दिनसम्म आउँदा दुइपक्षीय ब्यापार, पर्यटन लगायत सरकारी स्तरमा समेत सम्बन्धका आयामहरु बिस्तार हुँदै गएका छन्। सँस्कृतिक विविधता तथा कला सँस्कृतिप्रतिको अधिक मोह, पर्वतारोहणप्रतिको अत्याधिक आकर्षण भएको स्पेन जस्तो राष्ट्रसँगको सम्बन्धलाई मजबुत बनाउदै गएमा पर्यटन् उद्योगलाई राष्ट्रको प्रमुख आयस्रोत भएको नेपाल जस्तो देशले यस् सम्बन्धलाई आफ्नो पर्यटन प्रबर्धनमा माध्यम बनाएर ठूलो फाईदा लिन सकिने सम्भाबना देखिन्छ भने, औधोगिक एवम् प्राविधिको क्षेत्रमा समेत अत्यन्त अगाडि रहेको यस मुलुकबाट नेपालमा लगानी भित्र्याउनको लागि समेत दुइपक्षीय सम्बन्ध बिस्तारबाट ठूलो टेवा पुग्ने देखिन्छ। अत् हिजोको परिवेशलाई मध्यनजर गरी सुरु भएको सम्बन्धलाई आजको समयको माग बमोजिमा परिस्कृत गर्दै सम्बन्धका नयाँ ढोकाहरु खोल्नुपर्ने आवस्यकता परिस्थितीसँग परिचित सबै पक्षबाट महसुस भाईरहेको छ ।

विश्व मानचित्रमा आन्ध्र महासागर र भुमध्य महासागरको सेरोफेरोमा अवस्थित पश्चिम युरोपको एक सुन्दर एवम् सम्वृद्ध राष्ट्र स्पेनमा समेत पछिल्लो एक दशकमा अध्ययन, रोजगारी तथा अन्य पेशाको सिलसिलामा नेपालीहरु आउने क्रम अत्यन्त तीव्र भएको छ, सन २००० सम्ममा केही सयको संख्यामा रहेका नेपालीहरु आजको मितिसम्ममा आउँदा स्पेनको सहज इमिग्रेसन नितीका कारण झन्डै १०,००० को संख्या नागिसकेको छ र नेपालीहरुको आगमनको क्रम दिनानुदिन बढ्दो छ। यहाँको इमिग्रेसन कानुनका केही प्रक्रियाहरु पुरा गरेको खण्डमा यहाँको श्रम अनुमति र बसोबास अनुमति पाइने भएकोले युरोपको यो मुलुक नेपालीहरुको अन्तिम गन्तब्यको रुमपा परिचित भई यहाँ नेपालीहरुको जनघनत्व दिनानुदिन बढी हो। यो बढ्दो संख्यासँगै हरेक दिन विविध समस्याहरु समेत थपिरहेका छन। यसैगरी ठुलो संख्यामा नेपाली धर्मपुत्र एवम् धर्मपुत्रीहरु रहेको स्पेनमा ती बालबच्चाहरुलाई समेत आफ्नो मातृभुमीसँग परिचित गराउनु पर्ने दायीत्व रहन्छ। झन्डै २५ बर्ष पहिला नियुक्ति भएको अवैतनिक वाणिज्यदूतबाट आजको परिस्थितिसम्म आउँदा यी समस्याहरुलाई सम्बोधन हुनसक्ने स्थिती नरहेको अवस्था छ। यती ठुलो सख्यामा रहेका नेपालीहरुको दिननुदिन सम्बोधन गरिनु पर्ने राहदानीलगायत कागजातसम्बन्धी समस्याहरु, कागजात प्रमाणीकरण जस्ता कुराहरु दैनिक समस्याको रुपमा देखिएका छन् भने विविध कानुनी प्रकृयामा यहाँको प्रहरीलगायत सरकारी निकायले समेत सम्पर्क गर्ने निकाय नरहेको एवम् यी झन्झटिला प्रक्रियहरुमा यहाँका नेपालीहरुले समेत आफ्नो प्रतिनिधित्व गर्ने निकाय नरहदा स्पेनवासी नेपालीहरु धेरै समस्याहरुबाट गुज्रिरहनु परेको छ ।

भौगोलिक रुपमा समेत लामो दुरिमा रहेको तथा अलग राष्ट्रमा भएको कारण हाल सम्म स्पेनको समेत क्षेत्र हेर्दै आएको फ्रान्स स्थित नेपाली दुतावासबाट समेत यहाँआइपर्ने समस्याहरु चाहेर पनि सम्बोधन हुनसक्ने स्थिती नरहेको यथार्थता हो। एक स्थान राहादानी नविकरणको लागि निवेदन प्रक्रिया मात्रै एक महिनाभन्दा बढी लाग्ने तथा राहादानी बनेर आउने प्रक्रिया महिनौ लाग्ने तथा कतिपय केसमा वर्षै पनि लागेको उदाहरणबाट सहजै अनुमान लगाउन सकिन्छ की स्पेनमा बढ्दो नेपालीको संख्यासँगै अव फ्रान्सस्थित दूतावासले यो कार्यभार सम्हाल्न असम्भव प्राय: छ। यसैगरी दरिलो दुई पक्षीय कुटनैतिक सम्बन्ध भएको खण्डमा स्पेन सरकारबाट समेत नेपालमा दूतावास स्थापना हुने सम्भावना खुल्ने छ भने यसबाट दुइ पक्षीय लगानी लगायत बहुआयामिक क्षेत्रहरुमा फाईदा पुग्ने देखिन्छ भने स्पेनबासी नेपालीहरुले विविध कागजी प्रक्रियाको लागि दिल्ली जानुपर्ने झन्झटबाट समेत मुक्त हुने अपेक्षा गरिन्छ। विदेशमा नेपालीको प्रतिनिधित्व गर्ने नेपालीहरुको साझा संस्थाको हैसियतले सन् २००७ मा स्थापित भएको गैर आवासिय नेपाली संघ स्पेनले यी समस्याहरुसँग पारिचित हुँदै नेपाल सरकारका विभिन्न निकायहरु समक्ष विविध समयमा ध्यानाकर्षण पनि गराउदै आएको छ एवम् नेपालीहरुका विविध समस्याहरुको समाधानमा समेत संघको आफ्नो हैसियत बमोजिम भरपुर प्रयासहरु गर्दै आएको छ तर यि कुराहरु संघको आफ्नो क्षमताको दायरा भित्रको कुरा मात्र नभैकन सरकारको स्तरबाट मात्र सम्भव हुने कुरा हो। विविध समयमा सरकारको प्रतिनीधित्व गर्नु हुने विभिन्न उच्च पदस्थ महानुभावहरु समक्ष संघले यो माग राख्दै आएको भयतापनि हालसम्म माग सम्बोधन हुन नसकेको तीतो अनुभव तथा सम्बोधन हुने भरपुर आशा राख्दै आएको छ। यसै सन्दर्भमा नेपाल सरकारद्वारा सन २०१२ गठित एक आयोगले समेत कुन­-कुन देशहरुमा नेपाली दूतावास स्थापनाको आवश्यकता रहेको छ भनि अध्ययन गरि तात्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वको मन्त्रीपरिषद समक्ष पेश गरेको रिपोर्टमा समेत स्पेनमा दूतावास स्थापनाको अत्यन्तै आवश्यकता रहेको ‍औल्याएको थियो। उक्त रिपोर्टले सिफारिस गरे बमोजिम अन्य दुई राष्ट्रमा दुताबास स्थापना भैसक्दा समेत स्पेनमा नेपाली दूताबास स्थापनाको लागि सरकारको तर्फबाट कुनै पनि तत्परता नदेखिनु स्पेनवासी नेपालीहरुको लागि अत्यन्तै दु:खको बिषय बनेको छ भने, नेपालको पर्यटन प्रबर्द्धन तथा दुईपक्षीय लगानी मैत्रीको लागि कोषेढुङ्गा साबित हुने यस कार्यबाट राष्ट्र समेत बञ्चित हुन पुगेको छ। गत जुन २०१४मा सम्पन्न गैर आवासीय नेपाली संघको सातौ यूरोपियन बैठक तथा पाँचौ महिला सम्मेलनले समेत स्पेनमा नेपाली दूतावास स्थापनाको आवश्यकतालाई टड्कारो रुपमा महसुश गर्दै आफ्नो घोषणा पत्रमा समेत उल्लेख गरेको कुरा यस् सन्दर्भमा नेपाल सरकार समक्ष अवगत गराउदछौ ।

पछिल्ला बर्षहरुमा नेपाल भ्रमण गर्ने स्पानिश पर्यटनहरुको समेत उल्लेख्य मात्रमा वृद्धि भएको छ। वर्षनी झन्डै पन्ध्रहजार को संख्यामा स्पानिशहरुले नेपाल भ्रमण गरेको तथ्याङ्कले देखाउछ र दूतावासको स्थापनाले यो सख्यामा ठुलो बढोत्तोरी हुने निश्चित प्राय: छ भने ऐतिहासिक सम्बन्ध एवम भाषिक समानताको कारण समेत सम्पूर्ण दक्षिण अमेरिकी देशहरुमा समेत नेपालको प्रबर्धन गर्नेको लागि स्पेनमा दूतावासको स्थापनाले अत्यन्तै सहयोग हुने हामी स्पेनवासी नेपालीहरुको ठम्याइ रहेको छ। नेपालको अर्थतन्त्रको अत्यन्तै महत्वपूर्ण हिस्सा ओगट्ने पर्यटन क्षेत्रको बिकासमा समेत स्पेनमा दूतावास स्थापनाले ठूलो योगदान पुग्ने देखिन्छ। हरेक वर्ष गैर आवासीय नेपाली संघ स्पेनले स्पानिशहरूको माझ नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने उद्देस्यले मनाउदै आएको नेपाल प्रवर्द्धन दिवसमा स्पानिशहरूको रोचक उपस्थितिबाट समेत नेपालको प्राकृतिक सुन्दरता तथा साँस्कृतिक विविधताबाट स्पनिसहरु अत्यन्तै आकर्षित छन् र दूतावास स्थापनाको माध्यमबाट नेपालको प्रवर्धन तथा पर्यटन क्षेत्रमा ठूलो योगदान पुर्‌याउन सकिन्छ भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ ।

यी माथी उल्लेखित विषय वस्तुहरुको सम्बोधनको लागि स्पेनमा नेपाली दुतावासको स्थापना अत्यन्त जरुरी रहेको महशुस गर्दै ठुलो संख्यामा स्पेनवासी नेपाली दाजुभाइ दिदीबहिनीहरुले गैर आवाशीय नेपाली संघ स्पेनमार्फत स्वस्फुर्त रुपमा हस्ताक्षर संकलन गरि पठाउनु भएको हस्तक्षर कपीहरु समेत यसै ज्ञापन पत्र साथ नेपाल सरकार समक्ष पेश गर्दछौ।

अन्त्यमा नेपालीहरुको दिनानुदिन बढ्दै गैरहेको संख्या सँगसँगै उब्जिएका विविध समस्याहरुलाई समाधान गर्न एवम् नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‌याउने तथा दुईपक्षीय सम्बन्ध विस्तार गरी लगानी प्रवर्द्धनमा सहयोगको लागि नेपाल सरकारबाट स्पेनमा नेपाली राजादुताबास स्थापना गर्नुपर्ने आवश्यकता महसुस गर्दै गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद स्पेन सम्पूर्ण स्पेनवासी नेपालीहरुको तर्फबाट स्पेनमा नेपाली दूतावास स्थापनाको लागि यथासम्भब छिटो प्रक्रिय सुरु गर्दै स्थापना गरियोस भनि सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराउदै नेपालसरकार समक्ष जोडदार माग गर्दछ। धन्यवाद।

दीपक खरेल, आई. सि.सि सदस्य, गैर आवासीय नेपाली संघ

पुष्प तिमिल्सिना, आई.सि.सि सल्लाहकार, गैर आवासीय नेपाली संघ

एकराज गिरी  अध्यक्ष, एनआरएनए स्पेन

सन्दिप मोहन भट्टराई  महासचिव, एनआरएनए, स्पेन

बोधार्थ : सम्मनानीय राष्ट्रपतिको कार्यालय, शीतल निवास

नेपाल सरकार, पररास्ट्र मन्त्रालय

प्रतिक्रिया

सम्बन्धित सामाग्री