बेलायतका कांग्रेसी नमिले समिति भंगको तयारी

congress

लन्डन । दुई चिरामा विभाजित नेपाली कांग्रेसको बेलायतस्थित प्रवासी संगठन नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) को दुरी कायमै रहंदा समिति नै भंग हुने सम्भावना बढेको छ । विभाजित समितिका दुई पदाधिकारीबीच एकताका लागि पहल गर्न वार्ता समिति गठन भएपनि त्यसले मुर्तरुप नलिंदा नेपाली कांग्रेस केन्द्रले हस्तक्षेप गर्ने सोच बनाएको श्रोतको दावी छ । ‘विभाजनको अवस्था कायमै रहे केन्द्रले वर्तमान दुई समिति भंग गरि अर्को तदर्थ समिति गठन गरिदिने सोच बनाएको छ’, एक पदाधिकारीले भने, ‘दुई समिति नमिल्दा क्रियाशिल सदस्यता नवीकरण, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन प्रक्रिया समेत अवरुद्ध भइरहेको छ ।’ केन्द्रले क्रियाशिल सदस्यता नवीकारणका लागि गत मंसिरको समयसीमा दिएकामा विवादकै कारण त्यो प्रक्रिया अवरुद्ध छ ।

श्रोतका अनुसार, दुई समितिबीच पद बांडफांड र सदस्यता वितरण प्रक्रियामा सहमति बन्न सकेको छैन् । एक पक्षले नेपाली कांग्रेसमा आवद्ध कार्यकर्ताहरुलाई मात्र सदस्यता दिनुपर्ने अडान लिएको छ भने अर्को पक्षले खुल्ला रुपमा जसलाई पनि सदस्यता दिनुपर्ने अडान राखेको छ । चुनावका बेलामात्र एनआरएनए यूके जस्तो आफैंले शुल्क तिरिदिएर सदस्यता बनाउंदा पार्टीप्रति आस्थावान नेता, कार्यकर्ताको भावनामा चोट पुग्ने ठहर गर्दै त्यस्तो नगर्न एउटा पक्षको जोड छ ।

नेपाली जनसम्पर्क समिति, समन्वय विभाग सदस्य विज्ञान प्रसाईंको सक्रियतामा गत ९ नोभेम्बर, २०१४ मा लन्डनमा समितिका दुई अध्यक्ष चेतनाथ खनाल र लोक गुरुङ समूहका पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पूर्व अध्यक्ष र क्षेत्रीय सभापतिहरुको विशेष बैठकले एकतामा जोड दिंदै एक हुने निर्णय गरेको थियो ।
उक्त निर्णयपछि नेपाली कांग्रेस, केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले एक पत्र पठाउंदै विशेष बैठकको माइन्यूटमा एकताका लागि पहल गर्ने जिम्मेवारी दिइए अनुसार उक्त जिम्मेवारी वहन गरि पदीय दायित्व निर्वाह गर्न प्रसाईंलाई निर्देशानुसार अनुरोध गरेका थिए । पत्रमा प्रक्रियामा भएका विवरणहरुको प्रतिवेदन केन्द्रिय कार्यालय तथा सम्वन्धित विभागलाई जानकारी दिन समेत निर्देशन थियो ।

प्रसाईंले एकताका लागि आफ्नो तर्फबाट पहल भइरहेको जनाए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीका अर्का एकजना प्रभावशाली नेता डा. शेखर कोइरालाको बेलायत भ्रमणका क्रममा ति दुई नेताले आफ्ना कार्यकर्ता भेट गरि मिल्न निर्देशन दिएपछि प्रसाईंले एकताको पहल शुरु गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री