युएईमा बितेका धामीलाई सहकर्मीहरुबाट नौ लाख सहयोग

dipendra shing dhami
अबुधाबी । गत १३ डिसेम्बरमा हृदयाघात भई मृत्यु भएका दीपेन्द्रसिंह धामीको परिवारलाई आर्थिक राहतस्वरुप सोही कम्पनीका साथीहरुले ९ लाख दस हजार नेपाली रुपैयाँ सहयोग संकलन गरेका छन् ।
दार्चुलाको मालिकार्जुन-८ बाट १४ महिनाअघि यूएई आई यहाँको एक सेक्युरिटी कम्पनीमा काम गरिरहेका धामीको सुतेकै स्थानमा हृदयाघातका कारण मृत्यु भएको थियो ।
मृतक धामीकी श्रीमतीको जीवन निर्वाह र दुई छोरीको शिक्षादीक्षामा सहयोग पुगोस् भनी सोही कम्पनीमा लामो समयदेखि काम गरिरहेका जीपी तिवारीको संयोजकत्वमा दीपेन्द्रसिंह धामी राहत तथा उद्धार समिति गत १७ डिसेम्बरमा गठन भएको थियो ।
धामीको निधन पश्चात् विभिन्न व्यक्तिहरुबाट स्वर्तस्फुर्त रकम संकलन कार्य थालिएकोमा त्यसलाई व्यवस्थित गर्न २५ सदस्यीय समिति गठन गरिएको थियो । सोही समितिको अग्रसरतामा अलएनबाट जे सागरको सक्रियतामा विभिन्न दाताहरुबाट १८ सय दिराम्स संकलन गरिएको थियो । त्यसरी नै मफरकमा रहेको मुख्य क्याम्पमा रहेको हेल्प डेस्कमा डोनेसन बक्स राखी सर्वसाधारणलाई सहयोगका लागि आह्वान गरिएको थियो । सोही कम्पनीको एस आइल्यान्डमा रहेको क्याम्पबाट केशव भट्राईको सक्रियतामा आर्थिक सहयोग अभियान चलाइएको थियो । त्यसरी नै सादियात क्याम्पबाट पनि उल्लेख्य सहयोग संकलन गरिएको थियो । सबै रकम जम्मा गर्दा ३३ हजार १ सय १६ दिराम्स अर्थात् नेपाली रुपैया ९ लाख ३३ हजार ९ सय ५८ जम्मा भएको बताइएको छ ।
अधिकांश नेपाली सेक्युरिटी गार्डहरुले कम्तीमा २० दिराम्सदेखि २०५ दिराम्ससम्म सहयोग गरेको संयोजक तिवारीले जानकारी दिएका छन् ।
संकलित रकम नेपाल वाणिज्य बैंकको दार्चुला शाखामा मृतक धामीमा ४ वषर्ीया र १० महिने दुई छोरी सिर्जना धामी र सृष्टि धामीका नाममा राखिने संयोजक तिवारीले बताएका छन् । उक्त रकमबाट त्रैमासिक रुपमा प्राप्त हुने ब्याजबाट धामीका छोरीहरुको लालनपालन तथा शिक्षादीक्षामा सहयोग पुग्ने अपेक्षा सहकर्मीहरुले गरेका छन् ।
अधिकांश नेपालीहरुले नै आर्थिक सहयोग अभियानमा सहयोग गरेको संयोजक तिवारीले जानकारी दिँदै यस अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद प्रकट गरेका छन् ।
उनको शबलाई सहकर्मी धिरेन्द्र अधिकारीले डिसेम्बर २५ मा लिएर गएका थिए । सेक्युरिटी कम्पनीले धामीको तलब, बोनस र अन्य आर्थिक सहुलियत स्वरुप आठ हजार चार सय सन्ताउन्न दिराम्स नेपाली दूताबासमा बुझाएको दीपेन्द्रसिंह धामी राहत तथा उद्धार समितिका संयोजक जीपी तिवारीले बताएका छन् । यहाँबाट पाइने बिमाको रकमबारे आफूहरुलाई जानकारी नभएको, त्यसका लागि महिनौ लाग्ने र कम्पनीले यस विषयमा आवश्यक कदम चाल्ने अपेक्षा आफूहरुले गरेको अन्य सहकर्मीहरुले बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री