प्रजातन्त्रबाटै तर्सिए लोकतन्त्रका ठेकेदारहरु

CIMG6009

युरोपका ठूला शहरहरु आथेन, लण्डन, बर्लिन, वा पेरिसमा, आखिर किन यति धेरै मानिसहरु तर्सिरहेका छन् ? आखिर किन उनीहरु युरोपियन राजनीतिलाई बुझ्न सकिरहेका छैनन् ? अनि उनीहरु आफैं पनि किन अरुका लागि मनोवैज्ञानिक आतंक बनेका छन् ? के यो सबै स्थायित्व गुम्ने डर हो त ? यदि स्थायित्व गुम्ने डर हो भने यहाँ स्थायित्व नै कहिले थियो ?
हो, गत आइतबारदेखि भने युरोपका आफुलाई लोकतन्त्रका मसिहा भन्नेहरु र सर्वसाधारण जनताले एउटा कुरा छर्लङ्ग बुझेका छन् । “जहाँ दबाब हुन्छ त्यहाँ प्रतिरोध हुन्छ ।” यस्तै प्रतिरोधको सूचक थियो ग्रीसको गत हप्तामा सम्पन्न निर्वाचनको परिणाम । निर्वाचन परिणाम पछिको परिणामले झन् आश्चर्य बनाएको छ, युरोपका आफुलाई राजनीतिका स्थायी ठेकेदार भन्नेहरुका लागि । तर समग्र जनताले भने कुरा यथार्थ बुझेका छन् । सायद युरोपमा कुनै यस्तो व्यक्ति थिएन होला, गत आइतबार ग्रीसमा देखिएको राजनीतिक परिदृश्य नबुझ्ने ? बर्षौंदेखिको युरोपियन युनियनको दबाब, ट्रोइका नामक संचय कार्यक्रम जुन निम्न र निम्न मध्यम वर्गमा मात्र लागु गरिएको थियो तर ठूला उद्योगपति र नव धनाढ्यहरु भने यसबाट मुक्त थिए ।
बर्षौंदेखि निरास देखिएका ग्रीसका जनताले यस पटकको निर्वाचनमा आफुहरुलाई राजनीतिको ठेकेदार ठान्नेहरु, ट्रोइका नामक गरीब जनताको रगत चुस्ने कार्यक्रम र नव उदारबादी शक्तिहरु विरुद्ध भोट दिएर बामपंथीहरुलाई आफ्नो भविष्यको निर्णय गर्न सरकारमा बसाएका छन् । यद्यपि संसारभर थुप्रै खहरे खोलाहरु नगडगडाएका होइनन् तर पनि ग्रीसका जनतासामू अर्को कुनै विकल्प थिएन । त्यसैले उनीहरुले यो भन्दा नराम्रो त पक्कै हुने छैन भनी जसरी हुन्छ पुँजीवादी शक्तिहरुको शोषण र पुरानो सडेगलेको राजनीतिबाट मुक्त हुन चाहे । यतिखेर उनीहरुमा यो बाहेक अर्को विकल्प पनि थिएन ।
ग्रीसले नपत्याउँदो चुनाव गर्याे, किनभने त्यहाा नपत्याउँदो अवस्था थियो । चुनावपछि त झन् नपत्याउँदो राजनीतिको विकास भयो । बामपंथी प्रधानमन्त्री आलेक्सी छिप्रासले उग्र दक्षिणपन्थीहरुलाई साझेदार निम्त्याएर सरकारको लगनको गाँठो बाँधे । जो युरोपियन युनियनको विरुद्ध छन् । ग्रीसको वर्तमान सरकारलाई युरोपियन युनियनले अत्यन्त नकारात्मक टिप्पणी गरेका छन् । पुरानै राजनीतिक कार्यक्रमहरु संचालन नगरे युरोपियन युनियनबाट दिइने बजेट कट्टा गर्ने सम्मको धम्की दिएका छन् ।
उता पेरिसमा आलेक्सी छिप्रासको विजयमा उग्रदक्षिणपन्थी मारिने ले पेङ्गले भोज भतेर खुवाएकी छिन् भने बेलायतमा युकिपले पर्व मनायो । स्पेन, इटली, जर्मनी, आरलैण्ड र फ्रान्सका बामपंथीहरुका लागि खुसी मनाउनु स्वाभाविक थियो । ग्रीसको यसपालिको निर्वाचन परिणाम र उग्र दक्षिणपन्थीहरुसंगको मिलिजुली सरकारले अब कतै युरोपियन युनियनमा अस्थायित्व आउने त होइन भन्ने आशंका गर्नु अनुचित हुने छैन । कतै संगै आकार मिलाएर बसेका दाँतहरुमध्ये एउटा दाँत पुक्लुक्क खसेजस्तै ग्रीस युरोपियन युनियनबाट फुत्केर सानो प्वाल पर्ने त होइन ? किनभने यो निर्वाचनले ब्रसेल्सको विरुद्ध फैसला गरेको छ । युएस् विरुद्ध, इजरायल र नाटो विरुद्ध, मेन स्टि्रम मेडिया विरुद्ध, कुनै पनि कतै पनि हुने सैनिक आक्रमणका विरुद्ध, शक्तिशाली मुलुकले साना मुलुकलाई दिने दवावका विरुद्ध, विश्वब्यापीकरण र नवउदारवादका विरुद्ध फैसला गरेको छ ।
यी पंक्तीहरु लेखिरहँदा मैले एउटा प्रश्नको गाँठो फुकाउन सकिरहेको छैन । त्यो के भने आखिर ग्रीसमा कसरी बामपंथीहरु र उग्र दक्षिणपन्थीहरुबीच सरकारको लगनको गाँठो बाँधिन गयो ? के यो इस्लामीकरणका कारण हो ? त्यो हुनै सक्तैन । किनभने युरोपका दक्षिणपन्थीहरु इस्लामीकरणका विरुद्ध देखिएका छन् भने बामपन्थीहरुले इस्लामको पूर्ण समर्थन नगरे पनि विरोध गरेका छैनन् बरु आदरभाव दर्शाएका छन् । आखिर यो शक्ति केहो जसले उग्र दक्षिणपन्थीहरुसंग लगन गाँठो पार्यो ? यो शक्ति के हो जसले सिष्टमेटिक रुपमा संसारभर दबदबा रहेको मेन स्ट्रिम  मेडियाका विरुद्ध औंला उठाउने तागत दियो ? जसले तेस्रो पुस्ताका निम्ति भोट हाल्ने तागत दियो ? किन यो शक्ति यति बलियो छ जसले बाम र दक्षिणपन्थी बीचको गहिरो खाल्टो पुर्ने प्रयास गरिरहेको छ ? आखिर यो शक्ति कहाँबाट आएको छ ? कतै यो पूर्व उत्तरतिरबाट आएको शक्ति त होइन ?
यदि उपरोक्त प्रश्नहरुका उत्तर भेटाउन कसैले चाहेको छ भने त्यो ग्रीस होइन रसिया जानु पर्ने छ । अथवा इटली वा फ्रान्सको राजनीतिलाई निधार खुम्च्याएर पढ्नु पर्ने छ । बेलायतको राजनीतिलाई अध्ययन गर्नु पर्ने छ । युरोपियन युनियनभित्र जर्मनीको दबदबालाई केलाउनु पर्ने छ । किनभने राजनीतिको यो दृश्य युरोपियन युनियनको गतवर्ष सम्पन्न निर्वाचनले संकेत गरिसकेको थियो । फ्रान्सकी उग्र दक्षिणपन्थी लि पेङ्ग, बेलायतका उग्र दक्षिणपन्थी नाइजल फाराजहरु खहरे खोलाका मुहानहरु हुन् ।
युरोपियन युनियनको निर्वाचन परिणामपछि मैले वीनेपाली डटकम मार्फत “खहरे खोलाको दम्भ” शीर्षकमा लेखेको लेखमा यी पंक्तिहरु लेखेको थिएँ । “जे होस् यसपालिको युरोपियन युनियनको निर्वाचनले युरोपभित्र कसरी राजनीतिको विकास भैरहेको छ भन्ने जानकारी दिन भने सफल रह्यो । जस्तै मध्यबाम र मध्य दक्षिणपंथीहरु साँघुरिदै गएको । दशकौंदेखि युरोपियन जनताको विश्वास प्राप्त गरेर युरोपको लोकतन्त्रको ठेक्का लिएकाहरुको हात र खुट्टा भाँचिदै गएको । यी युरोपका स्थायित्व प्राप्त गरेका भन्ने पार्टीहरुलाई परेको दवाब बेलायत, फ्रान्स, डेनमार्क र ग्रीसमा प्रष्ट देख्न सकिन्छ । राजनीतिको मध्यभागमा बसेका युरोपका ठूला पार्टीहरु इभीपी  (युरोपियन फल्क पिपल्स) पार्टी), जसमा बेलायतको कन्जरभेटिभ पार्टी पनि पर्दछ र पीइएस्  (युरोपियन सोसलिष्ट पार्टी) जसमा बेलायतको लेबर पार्टी पनि पर्दछ । यसपालिको निर्वाचन परिणामलाई हेर्दा यी पार्टीहरु अहिले आफ्नो विगतमा मात्र बाँचेका छन् भन्ने अनुभूति हुन्छ । उनीहरुको वर्तमान युकिप एवं फ्रन्ट नासिओनाल जस्ता उग्र दक्षिणपंथी धार बोकेका पार्टीहरुले अपहरण गरेका छन् ।”
अथवा यो युरोपियन युनियनले रसिया विरुद्ध गरेको कार्बाही विरुद्धको संकेत हो ? यदि हो भने युरोपियन युनियनका लागि यो फलामको च्युरा हुने छ । किनभने युरोपियन युनियनले ग्रीसलाई दिने अनुदान रोक्ने छ र ग्रीसले आफ्नो आन्तरिक श्रोतबाट राज्य संचालन गर्नु पर्ने छ र त्यसो गर्न ग्रीसले ग्रीसका ठूला बिलिनियरहरुको सम्पत्तीमाथि कर लगाउने छ र त्यो लादिएको करका विरुद्ध पूाजीपतिहरु ग्रीसका विरुद्ध होइन युरोपियन युनियनका विरुद्ध खनिने छन् । उनीहरुको नजरमा ग्रीस होइन युरोपियन युनियन यसको प्रमुख कारक बन्ने छ ।
उता दुईदिन अघि मात्र ग्रीसका अर्थमन्त्री फ्रान्स पुगेर फ्रान्सका अर्थमन्त्रीसंग भेटघाट गरिसकेका छन् । यदि ग्रीसलाई अप्ठयारै परेमा फ्रान्सेली सरकार ग्रीसलाई मद्दत गर्न तयार रहेको संकेत आइसकेको छ । यो संकेतबाट तर्सिएर युरोपियन युनियनले आफ्नो अडान छोड्ने संकेत नपाइए पनि अवस्थालाई गहिरिएर हेर्ने कुरा युरोपियन युनियनका राष्ट्रपति मार्टिन सुल्सले एक अन्तर्वार्तामा बताएका छन् । त्यति मात्र नभएर “लहरो तान्दा पहरो गर्जन्छ” भनेझैं यदि युरोपियन युनियनले ग्रीसको निर्वाचनको परिणामलाई प्रजातान्त्रिक अभ्यासका रुपमा स्वीकार नगर्ने हो र असहयोगी बन्ने हो भने युरोपियन युनियनलाई “हातको माछो फुत्क्यो दुलाभित्र हात” भनेझैं हुने छ । यसको परिणाम युरोपियन युनियनले युक्रेनबाट पनि हात धुनुपर्ने देखिन्छ र युरोपियन युनियनका प्रतिद्वन्द्वीका रुपमा देखा परेको युरेसियामार्फत चीनले ग्रीसलाई मद्दत गर्ने छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री