दक्षका लागि राम्रो अवसर छ अफ्रिकामा: थापा

हिक्मत थापा आप्रवासी नेपाली माझ परिचित नाम हो। उनी गैर आवासीय नेपाली संघ (एनआरएनए) का अफ्रिका संयोजक हुन्।

Hikmat Thapa1

कैलाली टिकापुरका स्थायी बासिन्दा थापा नौ वर्षदेखि अफ्रिकी राष्ट्र नाइजेरियाको लेगोस शहरमा बस्दै आएका छन्। अफ्रिकाको सबैभन्दा ठूलो अर्थतन्त्र, नाइजेरियाको सबैभन्दा ठूलो ‍औद्योगिक घराना डांगोटे ग्रुपको फुड डिभिजनका जनरल म्यानेजरको रुपमा थापा कार्यरत छन्।

थापाकै नेतृत्वमा ११ वटा अफ्रिकी देशमा एनआरएनको समन्वय कमिटी बनेको छ।

पछिल्लो समय नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन थापा लागि परेका छन्। उनकै पहलमा डांगोटे समूहले नेपालमा ५५ अर्व रुपैयाको सिमेन्ट कारखाना स्थापना गर्ने प्रक्रियामा छ । काठमाडौमा थापासँग वी नेपालीका नेपालस्थित प्रतिनिधिले अफ्रिकामा नेपालीहरुको अवस्थाको विषयमा गरेको कुराकानी।

वी नेपाली: पछिल्लो समय अफ्रिका जाने नेपालीको संख्या निकै बढेको छ। नेपालीहरुको अवस्था कस्तो छ?

थापा: छिमेकी देश भारतको तुलनामा रोजगारीका नेपाली अफ्रिका निकै पछि हो। तर पछिल्लो दशकमा रोजगारीका लागि अफ्रिका जाने नेपालीको संख्या निकै बढेको छ। शारिरीक श्रमका लागि रोगजारीको काम छैन। अफ्रिकामा लेबर लैजान प्रतिबन्ध छ। जति नेपाली गएका छन् सबै दक्ष कामदार हुन्। अधिकंश नेपाली विज्ञको रुपमा कार्यरत छन्। सेफ, इन्जिनियर, चार्टर एकाउन्टेन्ट, डक्टर कार्यरत छन्। अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरु, राष्ट्र संघीय निकाय र अन्य निजी कम्पनीको उच्च पदमा नेपालीहरु कार्यरत छन्। द्वन्द्वग्रस्त क्षेत्रमा समेत अन्तर्राष्ट्रिय संघ संगठनमा बसेर नेपालीहरु काम गर्दै आएका छन्।

पछिल्लो समयमा पूर्वी अफ्रिकी मुलुकहरुमा डान्सवारमा काम गर्न नेपाली युवती डान्सरको रुपमा पनि पुगेका छन्। तर अन्य नेपालीसँग खासै सम्पर्कमा आउन चाहदैनन्। सम्पर्कमा आउन चाहनेलाई पनि मालिकले रोक्ने गरेको छ।

समग्रमा अफ्रिकामा काम गर्न जाने राम्रो छ। समस्याहरु सबै ठाउँमा छन्। अफ्रिकामा पनि छ। अन्य स्थानमा पनि । भाषा सबैभन्दा ठूलो समस्याको रुपमा छ।

वी नेपाली: रोजगारीका लागि कति अघिदेखि नेपालीहरु अफ्रिका जाने थालेका हुन् ?

उत्तर:  भारतीयहरु चार पाँच पुस्ताअघि देखि अफ्रिकामा बसोबास गर्दै आएको पाउँछौं। त्यस समयमा कोही भारतीयको साथ लागेर गएका पनि हुन सक्छन् । तर हाम्रो सम्पर्कमा रहनु भएका नेपाली भने ४५-५० वर्षदेखि परिवारका साथ अफ्रिकामा बस्दै आउनु भएका हुनुहुन्छ। दक्षिण अफ्रिकामा डक्टरको रुपमा कार्यरत खिमानन्द गैरेको परिवार दोस्रो पुस्तादेखि त्यहाँ बस्दै आउनु भएको छ। उहाँका छोराछोरी पनि डक्टरकै रुपमा कार्यरत रहनु भएको छ। मैले नाइजेरियामा २७ वर्षदेखि काम गर्दै बसेको मानिस भेटेको छु। शुरुको चरणमा अधिकांश नेपालीहरु भारत रोजगारीका लागि जाने र त्यहीको सम्पर्कले अफ्रिका पुग्ने गरेको देखिन्छ। अहिले पनि त्यो क्रम जारी छ। पछिल्लो समय नेपालबाट सिधै अफ्रिकी देश जाने नेपालीको संख्या पनि बढेको छ।

वी नेपाली: पछिल्लो रोजगारीका लागि आकर्षक गन्तव्य हुँदै गर्दा नेपालीहरु ठगिने र समस्यामा पर्ने गरेका छन्। यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ?

थापा: राम्रोसँग जानकारी नलिइ जाँदा नेपालीहरु ठगिने गरेका छन्। पछिल्लो समयमा सुरक्षागार्डको रुपका काम लगाइदिने भन्दै नाइजेरियामा काम लगाइदिने लेगोस पुर्‌याएर अलपत्र पारिएका ५ जना नेपालीको हामीले उद्धर गर्‌यौं। बेलाबेलामा यस्तो समस्याहरु देखा परेका छन्। केन्या, तान्जानिया, युगान्डा, दक्षिण अफ्रिका जस्ता देशमा राम्रो रोजगारीको अवसर भन्दै पुर्‌याउने गरिएको छ।

युरोप लैजाने भन्दै अफ्रिकामा पुर्‍याएर विचल्ली पार्ने समेत गरिएको छ। अधिकांश अफ्रिकी देशमा नेपालीलाई अन एराइभल भिषा छ। दलालहरुले त्यसको दुरुपयोग गर्ने गरेका छन्। नाइजेरिया लगायत अफ्रिकाको अन्य स्थानमा अलपत्र परेका नेपालीहरु तीन महिने टुरिस्ट भिषामा त्यहाँ पुगेको भेटिएका छन्।

सबैभन्दा पहिलो, जाने मानिस सबैभन्दा चनाखो हुनुपर्‌यो। अफ्रिकामा शारीरिक श्रम लागि काम छैन्। त्यस बाहेक अन्यले आवश्यक कागजात बनाएर मात्रै आउनु पर्ने हुन्छ। नियुक्ति पत्र, श्रम स्विकृति जस्ता विषयमा आउने वित्तिकै ९० प्रतिशत समस्या समाधान हुन्छ।

अफ्रिका आउनुअघि त्यहाँ रहेका नेपालीहरुसँग सम्पर्क गर्दा राम्रो हुन्छ। एनआरएनको ११ वटा देशमा समन्वय समिति छ। एनआरएनको वेबसाइटमा पदाधिकारी लगायतका व्यक्तिहरुको सम्पर्क त्यसमा रहेको छ। एनआरएन सहयोगका लागि सधै तत्पर छ। एनआरएनको कमिटी गठन भएको स्थानमा पनि अन्य २० वटा जति देशका नेपालीहरुसँग सम्पर्क छ। अफ्रिकाको अधिकांश देशमा नेपालीहरु रहेका छन्। अफ्रिकाको एनआरएन त्यस्तो सहयोग गर्न सधै तत्पर छ।

कायरो(इजिप्ट), दक्षिण अफ्रिकामा नेपाली दूतावास छ र केन्यामा कन्सुलेटको कार्यालय छ। त्यहाँ सम्पर्क गरेर आउँदा ठगिने संभावना हुँदैन।

सबैभन्दा ध्यान दिनु पर्ने कुरा अफ्रिकामा काम गर्न जाँदा पैसा लाग्दैन। कम्पनीले कामदारका लागि आतेजाते टिकटको व्यवस्था गरिदिन्छ। रोजगार दिने कम्पनीले नै मेनपावर कम्पनीलाई पैसा दिन्छ र अन्य आवश्यक व्यवस्था गर्छ।

वी नेपाली: यसअघि नेपाली युवतीहरुलाई डान्सरको रुपमा अफ्रिका पुर्‌याइने गरेको बताउनुभयो । उनीहरुको अवस्था कस्तो छ?

थापा: नेपालबाट सिधै नभै भारत र मध्यपूर्वको देशबाट अफ्रिका पुग्ने गरेका छन्। उनीहरु राजी खुशीले डान्सरका रुपमा गरेका हुन्। महिनाको एक लाख नेपाली रु. सम्म कमाउने गरेको बताइन्छ । तर, उनीहरु अन्य नेपालीसँग सम्पर्कमा आउन चाहदैनन्। केही स्थानमा हाम्रो साथीहरुले सम्पर्क गर्न खोज्दा थ्रेटको पनि सामना गर्नु पर्‌यो। उनीहरु वर्क परमिट नभै तीन महिने टुरिस्ट भिषामा जाने गरेका छन्।

त्यस्ता डान्सबारमा नेपाली र हिन्दी गीतमा नग्न र अर्धनग्न अवस्थामा नाच्ने गरेका छन्। कतिपय राजी खुशीले, केही लैजानेको दवावमा परेर यौन पेशा समेत गर्ने गरेका विषय बाहिर आएका छन्।

वी नेपाली: अफ्रिकी देशहरुमा एनआरएनको गतिविधि कस्तो छ?

थापा: खाडी, युरोप र अमेरिकाको तुलनामा अफ्रिकी देशहरुमा नेपालीको संख्या निकै कम छ। अन्य देशमा जस्तो जातीय, क्षेत्रीय वा राजनीतिक दलको संगठनहरु रहेका छन्। एनआरएन नेपाली क्लबको रुपमा छ। दशै तिहार जस्तो चाडपर्वमा मनाउन र अन्य समयमा नेपालीलाई गाह्रो अफ्ठ्यारो परेको समयमा भेला हुने र सहयोग गर्ने गर्दैं आएका छन्। अफ्रिका रहेका नेपालीहरुले नेपालको सामाजिक काममा समेत सहयोग गर्ने गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री