अडियो बुकका जन्मदाता खगेन्द्र नेपाली भन्छन्, नमरुञ्जेल वाचन गर्छु

10835439_10204952283102499_7659047476483646915_o

लन्डन । झमक घिमिरे, नेपाली साहित्यमा एक अद्भूत प्रतिभाशाली अवोला । शारिरिक रुपमा असक्त भएपनि सशक्त धेरैका लागि प्रेरणाको श्रोत हुन् उनी । बोल्न नसक्ने र खुट्टाले लेख्ने यी लेखिकाको कलमले हर प्रकारका विभेद, कुसंस्कार र अन्धविश्वासको विरोध गर्दै वैचारिक स्वतन्त्रताको शंखघोष गरेको ठान्नेहरु अधिक छन् । भौतिक शरीर पूर्ण नभएपनि उनी महान श्रष्टाको पंक्तिमा रहिन् । यिनै घिमिरेलाई अब सुन्न सकिने छ ।

मदन पुरस्कार सहित नेपाली साहित्यमा सर्वाधिक पुरस्कार र सम्मान दिलाउन सफल घिमिरेको आत्मजीवनीपरक निवन्ध जीवन कांडा कि फूल सुन्ने किताव (अडियो बुक) का रुपमा आउने तयारी अन्तिम चरणमा छ । अडियो बुकका जन्मदाता खगेन्द्र नेपालीले आफ्नो वाचनको छैटौं अडियो बुकका लागि छनोट गरेका हुन् घिमिरेको उक्त कृति । ‘आउंदो महिना अडियो बुक सार्वजनिक गर्ने तयारीमा छु’, नेपालीले भने, ‘झमकको आत्मबल र जीवनीबाट प्रभावित भएर उनको रचना अरु जनमानसमा समेत थप फैलियोस् भन्ने मनसायले यो प्रोजेक्ट गरें ।’

सुन्ने किताव आठ घण्टा लामो हुनेछ । किताव सार्वजनिक भएपछि सम्भव भएसम्म अपाङ्गहरुका लागि काम गर्ने हरेक संघसंस्था, व्यक्ति र दृष्टिविहीनलाई निशुल्क वितरण गर्ने सोच नेपालीको छ ।

खगेन्द्र नेपाली

खगेन्द्र नेपाली

२७ वर्ष लन्डनस्थित बीबीसी नेपाली सेवामा बिताएर अवकास लिनुअघि दश वर्ष उक्त सेवाको प्रमुख रहेका नेपालीलाई रिटायर्ड लाइफ घरमै बिताउनु थिएन । रेडियोमा बोलेको आफ्नो लामो अनुभव मिल्दो जुल्दो क्षेत्रमै खर्चने सोच 
आएपछि उनले नेपालमा प्रयोगै नभएको अडियो बुक चलनको न्वारन गरे । उनलाई नेपालको इतिहासमा अडियो बुकका जन्मदाता पनि भन्छन् ।

उनले पहिलो अडियो बुक विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त ल्याए सन् २००६ नोभेम्बरमा । त्यसै साल अप्रिलमा बीबीसी नेपाली सेवाबाट अवकास पाएपछि उनले लगत्तै आफ्नो बोल्ने कला अडियो बुकतर्फ सारेका थिए । त्यसपछि नेपालीले डायमनशमशेर राणाको सेतो बाघ, रमेश विकलको अविरल बग्दछ इन्द्रावती, योगी आनन्द अरुणको सन्त गाथा र लक्ष्मीप्रसाद देवकोटाका उत्कृष्ट कविताहरुको अडियो बुक सार्वजनिक गरिसकेका छन् ।

नेपालीले अडियो बुकका धेरै विशेषता ठम्याएका छन् । जस्तो गृहिणीले भान्सामा खाना बनाउंदै गर्दा सुन्न सक्छन् । दृष्टिविहीन र आंखा उस्तो नदेख्ने वृद्धवृद्धा लाभान्वित हुने नै भए । व्यस्त जीवनशैली बांचेका जागिरेहरुले पनि गाडी हांक्दा, अभ्यास गर्दा वा होलिडेमा सुन्न सक्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री