नेपाली रेष्टुरेन्टले जित्यो बेष्ट बाइट्स अवार्ड

Surya Gurung Bite

लण्डन । एनआरएनए युकेका पूर्व अध्यक्ष सूर्य गुरुङको फार्नब्रोस्थित गोरखा प्यालेस रेष्टुरेन्टले प्रथम बेष्ट बाइट्स प्रतियोगिता जित्न सफल भएको छ ।
स्थानीय न्युज एण्ड मेल पत्रिकाले आयोजना गरेको सो प्रतियोगितामा अन्य रेष्टुरेन्टहरुलाई पछि पार्दै गुरुङको नेपाली रेष्टुरेन्टले सो उपाधि हात पार्न सफल भएको हो ।
फार्नब्रो टाउनमा करिब एक दशकदेखि सञ्चालन हुँदै आएको सो रेष्टुरेन्टका आफ्नै नियमित ग्राहक छन् ।
रेष्टुरेन्टका सञ्चालक गुरुङलाई यसै साता उनकै रेष्टुरेन्टमै सन् २०१४/१५का लागि सो अवार्ड हस्तान्तरण गरिएको थियो । सो अवसरमा गुरुङले मत दिएर सो अवार्ड दिलाउन सम्भव बनाउने ग्राहकहरुलाई धन्यवाद दिने आफूसित कुनै शब्द नभएको बताए ।
सो प्रतिस्पर्धामा करी रेष्टुरेन्टहरु मतदाताहरुबीच लोकप्रिय रहेको थियो । जसमा दोस्रो र तेस्रो स्थान भारतीय रेष्टुरेन्टहरुले लिएका छन् ।
फ्लीट रोडमा रहेका गोल्डेन ट्राइन्गल र डब्ल्युइ इण्डियन रेष्टुरेन्ट प्रतियोगितामा दोस्रो र तेस्रो स्थानमा आएका छन् ।
गोरखा प्यालेस रेष्टुरेन्टले परम्परागत नेपाली परिकारहरु पस्की ग्राहकहरुलाई नितान्त आधिकारिक स्वाद प्रस्तुत गर्दै आएको छ । गोरखा प्यालेस करी, क्ले ओभन, मम, साग आलु र साग पनीर लगायतका परिकारका लागि प्रख्यात छ ।
गोरखा प्यालेस ब्रिटिश करी अवार्डका लागि पनि लगातार तीनवर्ष नोमिनेसनमा परिसकेको छ । रेष्टुरेन्टले हरेक वर्षजस्तै यसै महिना नेपालको विद्यालयलाई सहयोगका लागि च्यारिटी कार्यक्रम पनि आयोजना गरेको थियो ।
क्याटरिङ क्षेत्रमा करिब २० वर्षको अनुभव बोकेका गुरुङले आफ्नो अनुभव र रुचिको उपयोग गर्दै सो रेष्टुरेन्ट खोलेका हुन् ।
‘प्रतिस्पर्धा जित्दा खुशी लाग्छ’ उनले भने । ‘स्थानीयरुपमा लोकप्रिय पत्रिकाले आयोजना गरेको यो अवार्ड जित्नु हाम्रो लागि महत्वपूर्ण छ । म न्युज एण्ड मेल टीमलाई यस अवसरका लागि धन्यवाद दिन्छु’ उनले भने ।
‘म हाम्रा ग्राहकहरु जसले अमूल्य मत दिनुभयो उहाँहरुलाई धन्यवाद दिन्छु । हामी विश्वास गर्छौं ग्राहकहरु नै असली निर्णायकहरु हुन् । यसैगरी कडा मिहिनेत गर्ने रेष्टुरेन्टका स्टाफहरुलाई धन्यवाद दिन्छु र यो अवार्ड उनीहरुलाई नै जान्छ’ उनले थपे ।
‘गोरखा प्यालेस सञ्चालन गर्नु मेरो जिवनको महत्वपूर्ण पाटो हो । यो मेरो व्यापार मात्र होइन मेरो अभिरुचिको क्षेत्र पनि हो । रेष्टुरेन्ट चलाउन सधैँ सजिलो छैन तथापि मिहिनेत र समर्पण लगायो भने प्रोत्साहित पनि होइन्छ’ उनले भने ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री