सोमबार, जेठ १३ २०७६ | Mon, May 27, 2019
नेपालको समय: १९:०९ | UK Time: 14:24

मान्छेको रङ

विनेपाली
२०७१ फागुन १ गते १६:३६

10649507_1004167359596678_5573982303579185096_nपुस्तक समीक्षा

सधै सधै केही न केही रमाइला वाक्याशंहरुका साथ फेसबुकमा उपस्थित भई रहने आन्विका गिरी यस्तै मार्च २०१४ तिरको कुनैै एक दिन अब त अति भो सबै चिज छोडेर भूमिगत नै हुनु पर्ला लागेको छ लेखिन र फेसबुक संसारबाट बेपत्तै भइन् । अचानक २०१५ को जनवरीको अन्तिम सातातिर होला फेरि उदाइन आफनो पुस्तकको खोल सहित फेसबुकमा ।

मान्छेको रङ ।

नाम देख्ने बित्तकै पढुँ पढुँ लाग्यो । सोचे संसारमा लाखौं मानिसहरु छन्, तिनको आफनो आफनो दैनिक क्रियाकलाप, उनीहरुले देखाउने व्यवहारलाई नै उनले नाम दिइन् क्यारे। तर मैले सोचेको भन्दा थोरै भिन्न कथा वस्तुसहित तयार भएको रहेछ ३७८ पृ.बाक्लो मान्छेको रङ त । यो एउटा सामाजिक उपन्यास हो । कथामा नेपाली समाजका सानो सानो कुराहरुलाई पनि राम्रै केलाएको छ, अझ थारु समाजको राम्रो चित्रण गरिएको छ । विशेषगरी एउटै कथाले नेपालको राजनैतिक उथलपुथलदेखि मानिसको मनोवैज्ञानिक उथलपुथललाई धेरै राम्रोसंग केलाइएको छ। कथा काठमाण्डौको पुतलीसडकबाट शुरु भएर काठमाण्डौं कै कुनै गल्लिमा पुगेर टुगिंन्छ । पुस्तकमा खासै शीर्षक वा खण्ड बनाइएको छैन, यद्यपि मुख्य पात्रहरुको कथाहरु ५ वटा ठूला साना अंशहरुमा बाँडिएका छन् जसमा पात्रहरुले प्रथम पुरुष “म” को रुपमा कथालाई अगाडि बढाइएको छ । धेरै पात्रहरु भए पनि कथा एउटी माया नामकी पात्रको जीवनको सेरोफेरो नै घुमेको छ, जो एक हठी, दृढ र आफनो लक्ष्यसम्म पुग्नको लागि हदैसम्मको जिद्दी पात्र हुन् ।
छोटो छोटो वक्यांश सरस र सरल भाषामा तयार भएको यो पुस्तक जिज्ञासै जिज्ञासाले पढाइमा खासै पूर्णविराम लिन खोज्दैन अघिल्लो एउटा “पवन” च्याप्टर बाहेक । पढ्दै जाँदा २०/२५ तिर पुग्दा पवनको भन्दा मायाको पार्ट अगाडि हुनुपर्थ्यो भन्ने लाग्दै रह्यो। लेखकको एउटा कला हो जुन एउटा कथाको अन्त्यबाट अर्काे कथालाई जोड्न बनाइएका खण्डहरु। सुरुको खण्ड पढिरहँदा चाहिँ अलि झर्को  लाग्यो हामीले वर्षौंदेखि भोगिरहेको सामाजिक परिवेशभन्दा अलि फरक । घटनाहरु अलिकति अस्वाभाविक पनि लाग्यो, कुनै एउटा केटा एक दुई पटक देखिएकी एउटी अपरिचित र केही न कामकी फुस्रे केटीको पछि कन्सल्टेन्सिमा कति चक्कर धाएर लागेको आफ्नो अष्ट्रेलियाको भिषालाई लत्कार्दै, आमा बुवा आफनो सपना सबैलाई एकै पटक धुलोमा मिलाउँदै कोही पनि आजका युवाहरु जान्छन् जस्तो लाग्दैन मलाई । युवा वयरबन पुगे पछिका केहि भाग (दृष्य) पनि अलि असजिलो नै लाग्ने खालका छन् सुरुमा । मायाको घरमा पवन एक्कासी पुग्नु, एउटै कोठामा माया र पवन सामान्य बोलचाल मात्र गरेर दिक्कलाग्दो दिनहरु बिताउनु अलि झर्काै लाग्दो लाग्यो तर पुस्तकको अन्तिममा पुगेर मेरो मन शान्त भयो किनकी त्यो विबिध पार्टहरुको सम्बन्धलाई राम्रोसंगले खुलाइएको छ ।
मायाको खण्डमा पुगे पनि कथा सरर बग्ने खालको छ । माया एउटी केटी हो जो सानैदेखि कम्यूनिष्टका बारेमा धेरै ज्ञान राख्ने गर्छिन् । उनी अति बिद्रोही र हठी स्वभाबकी छिन् । उनीलाई सानैदेखि राजनैतिक चासो भएरपछि छापामार हुनलाई पनि घर परिवार छोडेर हिंडेकी केटी यद्यपि उनी छापामार भने होइनन् । उनको बुवाले माओवादी पार्टी त्याग गरेपछिको कहानीलाई मुख्य अंशको रुपमा पुस्तकमा प्रस्तुत गरिएको छ । मायाको बालापनदेखि क्रान्ति गर्न हिडेको यौबन वा नेपालमा गणतन्त्र आएको बेलासम्मका व्यत्तिगत स्वभावलाई अन्यन्तै मिहिनसंग केलाइएको छ। झट्ट सुन्दा खासै केही नलाग्ने तर धेरै गहिरो महत्व र अर्थ बोक्ने खालका शब्दांश र वाक्यांशहरु छन् । उदाहरणका लागि पारु र मायाको खै के विषयमा झगडा पर्छ र जीवनले उनीहरुलाई मिलाउनको लागि मध्यस्तताको काम गर्ने गर्छ । त्यहाँ भएका संवादहरुले वास्तवमै आफनो बचपना याद दिलाउने छ सबैलाई ।…… बोल्दिन। चारआना  दियो भने बोल्छौ रे? बोल्छु । मैले तुरुन्तै हसिलो अनुहार बनाएर भनें । ल माया तिमी पारु भन, पारु तिमी माया भन । एक छिन लजाएपछि पारुले माया भनी पहिला अनि मैले पारु भने । पछि मैले त्यो चारआनाको चटपटे खाए पृ.७६।

…. भोलि बिहान सोहोरेर फाल्नु नि हजुरबुबाले भन्दै गर्दा म मुखले हवस नभनेर मुन्टो हल्लाउथे । हजुर बुवाले देख्नुहुन्थ्यो कि देख्नुहुन्न थियो मैले कहिले सोधिनं तर दिसा सोहोर्नु पर्छ भनेर बिहानीमा म सधै भाग्थे पृ.७९।…………… हामी चिया पिइ रहेका थियौ। थापाका हरुवा शिव दाइ हस्याङफस्याङ गर्दै आई पुगे, थापाबा नरे आएन, उनले डराउँदै भने । त्यसको त्यत्रो हिम्मत । थापा बसेको ठाउँबाट उठेर कडकिए पाजीलाई बन्दुकले ठोक्न नपरोस् । यी मगरका छाउराहरुले आजभोलि टाउको खान थालेको छ। डरले भन्दा पनि तिनीसंग बन्दुक भएको कुराले रोमान्चित भए म पृ.८२।

…. मल्काइन । एउटा आवाज आयो । ….हतारमा उसले कम्मरबाट कागज झिक्यो र केही सेता डल्लाहरु राखेर हजुरआमालाई दियो । कथिला उनले सोधिन् । बहुदल ऐले , उसले मेरो हातमा पनि तीन चार ओटा डल्ला राखेर गयो । मलाई लाग्यो बहुदल मिठाइ हो । ती डल्लाहरु गुलिया थिए । मलाई लाग्यो कम्युनिष्ट पनि यस्तै गुलियो भए क्या बेश हुन्थ्यो पृ.७० । तर मायाको खण्डमा पनि केही अलि अस्वाभाबिक लाग्ने घटना र संवादहरु राखिएका हुन् कि भन्ने लाग्यो मलाई । जस्तै कक्षा ३ मा पढ्दै गर्ने केटीले आमा उपन्यास पढेर धेरै राजनैतिक कुराहरु पनि बुझेको देखाइएको छ । पात्र कक्षा ५ मा पुग्दा सम्ममा अति नै राजनितिज्ञ भइसकेको देखाइएको छ ।….नरे दाइको अपमानीले मेरो शरिरका रौं ठाडा भए पृ. ८४।

हुन त पात्र नाम मात्र माया हुन, उनलाई पुस्तकमा संसारकी सबैभन्दा जिद्दी स्वभावकी मास्कुलीन क्यारेक्टर बोकेकी केटीको रुपमा देखाइएको छ त्यसैले पनि उनलाई बच्चादेखि त्यस्तो देखाइएको होला। लेखकको लेखनशैली निकै शसक्त छ । पुस्तक पढदै जाँदा पात्रको क्यारेक्टरमा यति घुसिन्छ कि उनको जिद्दीपनलाई त्यही नै मर्माहत हुनेगरि चुटौ । वा उनको एकोहोरो क्रान्ति गर्ने, नगलने र अरुलाई समस्या पर्दा पनि आफनो जिद्दी नछोडेको देख्दा एकछिनलााई लाग्छ मानौं त्यो माया आफनी बहिनी हो र उनको जिद्दीलाई केही नसोचि थप्पड लगाई वास्तविक धरातलमा ल्याउ । पुस्तकमा गाउँ समाजमा भए गरेका घटना, छोरीलाई छोरासरह नस्विकारिएको जस्ता सामाजिक कुराहरुलाई पनि स्थान दिइएको छ भने मुख्य त क्रान्तिकारी विचारधारा भएकी मायाको जिबनमा क्रान्तिमा लागे पश्चातका दुख र पीडादायी दिनहरुलाई धेरै केलाइएको छ । युवाहरुमा एउटी युवतीलाई देखेपछिका प्रेमका कल्पनाहरु, छापामार हुन गएकी एउटी युवती भित्र रहेको प्रेमका ज्वालाहरुलाई पनि राम्रैसंग केलाईका छन् भने । मुख्यगरी माया प्रति उब्जेका सबिन र पवनको एकातिर माया/प्रेमलाई पनि राम्रोसंग प्रस्तुत गरिएको छ ।

भाषा सम्पादनमा सामान्य एक दुइ ठाउँमा मात्र उकारहरु छुट्टिएका छन्, शब्द चयन पनि धेरै नै जेण्डर सेन्सेटिभ भएर लेखिएको यो पुस्तकको मुल्य रु भने अलि महंगो छ रु ३७५। साहित्य लेखनमा बिषयबस्तु खोज्नु, पात्रहरु निर्माण गर्नु र उनीहरुलाई क्यारेक्टरमा ढाल्नु अत्यन्तै गाह्रो काम हो, यस कार्यमा लेखक आन्विका निपुर्ण देखिन्छिन । यस पुस्तकमा केही ठाउँ बाहेक पढ्दै जाँदा बिचैमा रोकेर अर्काे पुस्तक समाउनु पर्दैन यसैले एक पटक पढे राम्रै हुन्छ । रङ भन्ने बितिकै हाम्रो मनमा कालो, सेतो, निलो, पहेलो वा रातो जस्ता नामहरु आउँछन् तर लेखकले यी देखिने रङभन्दा पनि क्रोध, स्नेह, माया, पागलपन आदीमा कस्तो रङ हुन्छ भन्ने कुरालाई संकेत गरिएको छ यस पुस्तक मार्फत ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक