‘घमण्डी राजा’को अद्भूत प्रतिभा

72880_435089203245014_2132958410_n

मुकाहांग लिम्बु

लण्डन । बेलायतका तीनहजार विद्यालयस्तरका प्रतिस्पर्धीलाई पाखा लगाउँदै उत्कृष्ट लेखक हुन सफल नेपाली किशोर मुकाहाङ लिम्बुलाई अहिले पनि विश्वास लाग्दैन कि आफूले जितेकोमा ।
बेलायती युवराज्ञी डचेज अफ कोर्नवालबाट पुरस्कार ग्रहण गरिसकेपछि उनी विश्वस्त हुन सकेका छैनन् यो सपना हो कि विपना हो ।
नेपालमा जन्मेर धरानको लोटस स्कुलमा पढ्दै थिए उनी । उनका बाबाआमाले बेलायत आउने निर्णय लिए । उनको अगाडि कुनै विकल्प थिएन । सन् २००७ थियो त्यो ।
हावापानी बेग्लै । पढाउने शैली फरक । वातावरण बिल्कुल पृथक ।
विश्वविख्यात अक्सफोर्ड विश्वविद्यालय काखैमा रहेको अक्सफोर्डसियरमा उनी बस्न थाले । जान थाले नयाँ स्कुल । जति उत्साह, उमंग थियो उति नै त्रास, भय पनि ।
भन्छन् – बालबालिकाहरुलाई नयाँ वातावरणमा घुलमिल हुन धेरै सजिलो हुन्छ । तर मुकाहाङको हकमा यो भनाइ चरितार्थ भएन ।
आमा रिना लिम्बु भन्छिन् – ‘शुरुमा एकदमै गाह्रो भयो । यहाँका रैथाने बालबालिकाले खाने खाना नखाने, स्कुलको क्यान्टिनको खाना नखाने, घरबाट आफ्नै खाना लैजाने ।’
घरबाटै खाना लैजानु मितव्ययी र स्वस्थकर पनि । त्यतिसम्म त ठीकै थियो । कतिपटक त मुकाहाङको खाना नै लुकाइदिएछन् साथीहरुले ।
नयाँ ठाउँमा यस्तो ‘बुलिङ’ ब्यहोर्नुपर्दा बालक मुकाहाङको मनमा कस्तो चोट पर्‍यो होला ?
‘एकपटक स्कुलबाट रुँदै घर आएपछि हामीले शिक्षकलाई उजुरी पनि गरेका थियौँ’ आमा रिना भन्छिन् ।
हो, आरम्भका दिनमा बेलायत आउँदा खप्नुपरेको मीठो/नमीठो, अनौठोपन, दुर्व्यबहार र पीडाले नै अहिले उनलाई बेलायतको विद्यालयस्तरको उत्कृष्ट कवि बनायो ।
उनको कवितामा ती दिनका पीडा लुकेका छन् ।
‘फस्ट स्टोरी’ नामक संस्थाले आयोजना गरेको सो प्रतियोगिताको यस वर्षको अवधारणा थियो ‘घर’ । इयर सेभेनदेखि नै कविता लेख्ने गरेका मुकाहाङ आफ्ना कविता शिक्षकलाई देखाउने गर्थे । शिक्षकले उनले लेखेका केही कवितामध्ये एउटालाई सो अवधारणासाग मेल खान्छ भनेर भनेका थिए ।
यसअघि पनि विभिन्न प्रतिस्पर्धाहरुमा उनी भाग लिन्थे । तर उपाधि नै चुम्ने मौका भने पाएका थिएनन् । धेरै माथि पुगेको भनेको टप ५० भित्रसम्म मात्र थियो । यसपटक पनि उनलाई जित्छु भन्ने कल्पना पनि थिएन रे ।
कल्पना नै नगरेको सफलता पाउँदा उनी त अचम्भित हुने नै भए । अझ उनकी आमालाई त छोराले प्रतिस्पर्धामा भाग लिएको पनि कुनै सुँइको थिएन ।
‘हामी डिसेम्बरमा नेपाल गएका थियौँ । फर्केर आएपछि ‘मैले जितेँ’ भनेर भन्दा हामी त आश्चर्यचकित भयौँ’ आमा रिना भन्छिन् ।

mukahang limbu

बेलायती युवराज्ञीबाट पुरस्कार थाप्दै मुकाहाङ

डचेज अफ कोर्नबालबाट पुरस्कार लिँदा कस्तो लाग्यो त भन्ने प्रश्नमा मुकाहाङले भने ‘म असाध्यै नर्भस थिएँ । नर्भसकै कारण अघिल्लो रात राम्रोसित सुत्न पनि सकेको थिइनँ ।’
हुने बिरुवाको चिल्लो पात भनेजस्तो मुकाहाङको बानी यस्तो छ कि आफूभन्दा अग्लो किताबको चाङमा हराउनुपर्ने ।
कसैले पैसा दियो भने पुस्तक किन्नुपर्ने । आफ्नो वजनभन्दा भारी भारी पुस्तक पढ्नमा आनन्द आउने ।
शुरुमा वकिल बन्छु भन्ने मुकाहाङको ‘प्यासन’ अब लेखक बन्नेमा बदलिएको छ । तर उनी आफैँ भने अहिले ‘पर्फमिङ आर्टिस्ट’ बन्ने धुनमा छन् । भन्छन्, ‘लेखन पनि यसकै एउटा पाटो हो ।’
‘मिदास टच’ भनेजस्तो मुकाहाङले भाग लिएको जुनसुकै क्षेत्रमा अब्बल नउत्रेको विधा नै छैन । बाबा पल्टनमा हुँदै ‘मुलुकसिंहको छोरो धेरै तिक्ष्ण छ’ भनेर पल्टनभरि कुरा चलेको आमा स्मरण गर्छिन् ।
बाउबाजेहरुले चाहन्छन् मुकाहाङ डाक्टर बनोस् । उनकी आमालाई पनि शुरुमा त्यस्तै लाग्थ्यो रे । छोराको रुचि बदलिँदै जाादा आमाको पनि सोचाइमा १८० डिग्रीको फेरबदल आएको छ । उनी भन्छिन्, “ऊ जे बन्न चाहन्छ म ‘सपोर्ट’ गर्छु ।”
त्यसैले होला मुकाहाङ आफ्नो प्रेरणाको स्रोतको नाम लिँदा हलिउडका स्टारहरुको पंक्तिमा आफ्नी आमाको नाम लिन छुटाउँदैनन् ।

10473566_661880917232507_6035016536933259494_o

अामा रिना सुनुवार लिम्बु माथि मुकाहाङ मुनीको फोटोमा

मुकाहाङ । शुद्ध लिम्बु भाषामा राखिएको नाम । अर्थ हुन्छ ‘घमण्डी राजा’ तर सो अर्थ असाधारण प्रतिभाका धनी मुकाहाङसित मेल खाँदैन । नेपालभित्रकै नवपुस्तामा पश्चिमी नामको दबदबा भएका बेला मुकाहाङ चाहिँ परम्परागत आफ्नो नाममा गर्व गर्छन् ।
पढाइमा सधैँ अब्बल उनी गीत गाउन नाच्न मन पराउँछन् । परम्परागत लिम्बु भेषभूषा लगाउन रुचाउने उनी लिम्बु गीत र नाच पनि उत्तिकै झ्याम्मिन्छन् ।
उनका पिता मुलुकसिंह लिम्बु बेलायती सेनामा कार्यरत थिए । स्वास्थ्यमा समस्या आएपछि उनी अहिले सेवाकास लिएर नेपालमै बस्छन् । बेलाबखत आउजाउ गर्छन् ।
आर्थिक, सामाजिक वा प्राज्ञिक बिरासत बोकेको परिवारबाट आएकाहरुको जुनसुकै क्षेत्रमा दबदबा रहने युकेमा अंग्रेजी मूल भाषा नभएको सामान्य नेपाली परिवारबाट आएका मुकाहाङले हासिल गरेको उपलब्धि सबैका लागि अनुकरणीय छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री