जनआन्दोलनका योद्धा मैनालीलाई बचाउन बेलायतमा अभियान

ganesh mainali1

लन्डन । २०६२, ६३ को जनआन्दोलनका एकजना योद्धा अधिवक्ता गणेश मैनालीलाई बचाउन बेलायतमा एउटा अभियान शुरु गरिएको छ। हालै काठमाण्डौमा मैनालीलाई भेटेर सक्दो सहयोग गरि फर्किएकी समाजसेवी सुष्मा राईले मैनाली वचाउ अभियानमा सक्रियता बढाएकी हुन् ।

मैनालीको उपचारका लागि आर्थिक सहयोग जुटाउन हालै काठमाण्डौमा ‘अधिवक्ता गणेश मैनाली उपचार सहयोग अभियान समिति’ गठन गरिएको छ जसमा बेलायतबाट गैर आवासीय नेपाली संघ आइसीसी सदस्य सुषमा राई तथा रमेश बास्तोला समेत छन् ।

राईले मानवीय आधारमा दोश्रो जनआन्दोलनका योद्धा अधिवक्ता मैनालीलाई सघाउन यूकेवासी संघसंस्था तथा सम्पूर्ण नेपाली समुदायलाई हार्दिक अपिल गरेकी छिन् । “म छिट्टै फेरि नेपाल जान लागेकी छु। त्यसैले यहाँ बेलायतमा उठेको सबै सहयोग रकम मैले अधिवक्ता मैनालीको हातमै लगेर दिनेछु,” राईले भनिन् । त्यस्तै प्रवासी नेपाली मन्च बेलायतका अध्यक्ष रामशरण सिंखडाले पनि मैनालीको जीवन बचाउने अभियानमा सक्दो सहयोग गर्न आग्रह गरेका छन् ।

मैनाली प्रत्येक एक लाखमा एक जनालाई हुने गम्भीर तथा घातक ‘एएलएस’ पनि भनिने ‘मोटर न्युरोन डिजिज’ बाट ग्रस्त छन्। जनआन्दोलनमा सकृय रहँदा घाइते पनि भएका मैनाली अहिले राम्रोसंग हिंड्न पनि सक्दैनन्। मैनालीको शरीरको एक भाग त नचल्ने अवस्था छँदैथियो, हालसालैदेखि उनको शरीरका सम्पूर्ण भागमा यसको असर देखिन थालेको छ। निदाउन र शरीरको मांशपेशीलाई नियन्त्रणमा राख्‍न पनि उनले दैनिक कडा डोजको औषधि खानुपर्छ र नियमित फिजियोथेरापी गराउनुपर्छ। मैनाली आफ्नी श्रीमती र सानो छोरा सहित काठमाण्डौमा बसोबास गर्दै आएका छन्।

मैनालीको उपचारकालागि आर्थिक सहयोग जुटाउन काठमाण्डौमा ‘अधिवक्ता गणेश मैनाली उपचार सहयोग अभियान समिति’  गठन गरिएको छ। जसमा वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली, पूर्व महान्यायाधिवक्ता डा युवराज संग्रौला, लोकसेवा आयोगकी पूर्व सदस्य श्रीमती उर्मिला श्रेष्ठ, नेपाल बार एसोसियसनका उपाध्यक्ष टिकाराम भट्टराई, मानवअधिकारवादी सुबोध प्याकुरेल, वरिष्ठ पत्रकार तीर्थ कोइराला, शिव गाउँले लगायत छन् ।

मैनालीको उपचारकालागि सहयोग गर्न चाहनेले उनकी श्रीमती सन्जु तण्डुकार मैनाली तथा  लोकसेवा आयोगकी पूर्व सदस्य श्रीमती उर्मिला श्रेष्ठको संयुक्त नाममा नेपाल इन्भेष्टमेन्ट बैंक लगनखेल शाखामा खोलिएको बैंक खाता नं ०४००५०२०२५९५५२  स्वीफ्ट कोड NIBL NP KT मा सहयोग रकम पठाउन सक्नेछन् । अथवा, श्रीमती सुषमा राईलाई 07427653575 मा सम्पर्क गरी सहयोग गर्न पनि सकिनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री