बिहीबार, मंसिर ५ २०७६ | Thu, November 21, 2019
नेपालको समय: १३:३५ | UK Time: 07:50

डाक्टरले पनि सित्तैँमा काम गर्नुपरिरहेको छ : डा. अरुण झा, अध्यक्ष, नेपलिज डक्टर्स एसोसिएसन, युके

विनेपाली
२०७१ फागुन ३० गते १२:५३

बेलायतको नेपाली समाजभित्र गुनासो छ कि नेपाली डाक्टरहरु समाजमा घुलमिल हुन चाहँदैनन् । प्रायजसो नेपाली कार्यक्रमहरुमा देखिँदैनन् । के साँच्चिकै यो गुनासो सत्य हो त ?
सन् १९८१ मा एमबीबीएस गरेर चिकित्सा क्षेत्रमा प्रवेश गरेका डा. अरुण झाले वीरगञ्ज अस्पतालबाट बिरामीको नाडी छाम्न शुरु गरे । बीचमा पाटनको मानसिक अस्पतालमा केही वर्ष काम गरे । सन् १९८६ मा युके छिरेका उनी हाल बेलायतको हार्टफोर्डसियर पार्टनरसिप मेन्टल ट्रष्टमा कन्सल्टयाण्ट साइकियाट्रिक छन् । डिमेन्सिया विज्ञ डा. झा अहिले युकेका नेपाली चिकित्सकहरुको संस्था नेपलिज डक्टर्स एसोसिएसनका अध्यक्ष छन् । प्रस्तुत छ उनीसित माथिको गुनासो र नेपाली डाक्टरहरुको अवस्थाका बारेमा गरिएको कुराकानी :

A Jha

तस्वीर सौजन्य ः डा अरुण झा

अहिले युकेमा नेपाली चिकित्सकको संख्या कति होला ?
नेपलिज डक्टर्स एसोसिएसनमा रजिस्टर्ड नेपाली चिकित्सकहरु एकसय जना छौँ। नन रजिस्टर्डलाई पनि गन्ने हो भने दुई/अढाई सय छौँ होला ।

युकेमा नेपाली चिकित्सकहरुको अवस्था कस्तो छ ?
पहिलाभन्दा अहिले नयाँ डाक्टरहरु यहाँ आउनेक्रम घट्दो छ । नियम कानुनहरु परिवर्तन भएर यहाँ आउन गाह्रो भएको छ । शुरु शुरुमा त गाह्रो हुन्छ । त्यो पहिले पनि थियो अहिले पनि छ । तर शुरुको चरण पार गरिसकेपछि र स्थायी काम पाएपछि जीवन सहज हुन्छ ।

नयाँ आउने चिकित्सकहरुलाई यहाँ आउन र काम पाउन कतिको सजिलो छ ?
गाह्रो छ । अस्ति भर्खर एकजजना डाक्टरसाब आउनुभएको थियो । क्लिनिकल एट्याचमेण्ट गर्नुभयो स्वयंसेवीरुपमा । अब भिसा सकिन लाग्यो । भिसा सकिने बेलामा दोधार परेर यता जाउँ कि उता जाउँ हुँदा अरु संस्थाले मद्दत दिनुपर्‍यो । हामीले पनि दियौँ । तर आँट गरेर बस्यो भने अवसर छ ।

नयाँ चिकित्सकहरुले यहाँ आएपछि के कस्तो प्रक्रिया पूरा गर्नुपर्छ ?
सबैभन्दा पहिलो चरण नेपालबाट बाहिर जान्छु भन्ने उद्देश्य राखेर मानसिकरुपमा तयार भइसकेपछि केही गाह्रो हुँदैन । नयाँ ठाउँमा गएपछि कहाँ बस्ने, कहाँ खाने सम्पर्क त चाहियो । यो त डाक्टरलाई मात्र होइन सबैलाई चाहियो । युकेमा यहाँको जेनेरल मेडिकल काउन्सिल  (जीएमसी) मा रजिस्टर्ड नभएसम्म काम गर्न पाइँदैन । त्यसको परीक्षा दिनैपर्छ । त्यसपछि यहाँको अनुभव र रिफरेन्स नभई काम पाइँदैन । त्यसैले तीन महिना/छ महिना त अनुभव र रिफरेन्सका लागि सित्तैँमा काम गर्नैपर्छ । त्यसबाहेक अरु उपाय छैन । अंग्रेजी बोल्ने, बुझ्ने, यहाँका मानिसहरु कसरी बस्छन् भन्ने बारेमा बुझ्न क्लिनिक एट्याचमेण्ट गर्नैपर्छ । अहिले यहाँ डाक्टरहरुको अभाव छ । त्यसैले शुरुको छ महिना बिताएपछि बाँकी समय सजिलो हुनसक्छ ।

नेपाली डाक्टरहरुलाई हेर्ने पब्लिकको दृष्टिकोण कस्तो छ ?
नेपाली डाक्टरहरु प्रायले राम्रै काम गर्नुभएको छ । उहाँहरुको ख्याति पनि राम्रो छ । हामी इमानदार र भरपर्दा छौँ । शिक्षण र अनुसन्धानमा तुलनात्मक रुपमा हामीले गर्न सक्ने जति गर्न सकेका छैनौँ । नेपालीहरुलाई सबैले राम्रो रुपमा हेर्ने गरेका छन् । मिहिनेती जात हो, समस्या खडा गर्दैन भनेपछि के चाहियो । नेपाली डाक्टरहरु समग्रमा सफल छन् ।

नेपाली डाक्टरहरु युकेमा कसरी आए यसबारे बताइदिनुहोस् न ।
नेपालबाट नेपाली डाक्टरहरु बाहिर जानुको मुख्य दुई कारण थियो । पहिलो, एमबीबीएसको पढाइ नै नेपालमा थिएन । पोष्ट ग्राजुयसनको त कुनै कोर्स हुने कुरै भएन । त्यसमा एउटा सरकारी तवरबाट अर्को निजी सम्पर्कबाट विदेश पढ्न जाने गरिन्थ्यो । यी दुवै बाटोबाट आएका नेपाली डाक्टरहरु यहाँ छन् ।

युकेमा नेपाली डाक्टरहरु आउन थालेको चाहिँ कति भयो ?
नेपाली डाक्टरहरु सन् १९६० बाट आउन शुरु गरे तर धेरै १९७० मा आए । करिब ४०/४५ वर्षदेखि नेपाली डाक्टरहरु यहाँ छन् । त्यो बीचको २० वर्ष नेपाली डाक्टरहरुका लागि स्वर्ण युग थियो ।

कुन अर्थमा स्वर्ण युग भन्नुभएको हो ?
किनभने त्यतिबेला यहाँ आउन सजिलो थियो । यहाँका डिग्रीको विश्वव्यापी मान्यता थियो । सबै डाक्टरहरुलाई म पनि त्यस्तो डिग्री गरौँ भन्ने चाहना हुन्थ्यो । काम पनि पाउन सजिलो थियो ।

 

Dr Arun Jha

तस्वीर ः एभरेष्ट गौतम

प्रसंग अलि बदलौँ,  अहिले नेपलिज डक्टर्स एसोसिएसनले के के गर्दै हुनुहुन्छ ?
एसोसिएसनका सदस्य र परिवारका लागि वार्षिक साधारण सभा गर्छौँ र वर्षमा तीनपटक कार्यसमितिको बैठक बस्छौँ। नेपाली समुदायमा के हुँदैछ ? नेपाली समाजभित्र कसैलाई कुनै समस्या परेको छ कि ? कसरी सहयोग गर्न सक्छौँ भनेर सल्लाह गर्छौँ । यससँगै नेपालमा स्वास्थ्य क्षेत्र वा अन्य क्षेत्रमा सहयोग गर्छौँ । गत सालमा पनि सुनकोशीमा आएको बाढीपीडितका लागि छ लाख रुपियाँभन्दा बढी सहयोग गर्‍यौँ । यसबाहेक मानसिक रोग, मधुमेह, दन्त चिकित्सा लगायतका क्षेत्रमा क्याम्प गछौँ, तालिम दिन्छौँ र उपकरण वितरण गर्छाैँ । यहाँ पनि केही दिनअघि मुटुरोगका बारेमा जानकारी दिएका थियौँ । बीचबीचमा ड्रग्स, अल्कोहलका बारेमा जनचेतनामूलक कार्यक्रम गरेका थियौँ ।

डाक्टरहरु नेपाली समाजमा घुलमिल हुँदैनन् भन्ने गुनासो छ । के साँच्चिकै नेपाली डाक्टरहरु घुलमिल हुन नचाहेका हुन् त ?
शुरुशुरुमा डाक्टरसाबहरु जो २५/३० वर्षअघि आउनुभयो । युकेमा नेपालीको संख्या कम थियो । जब मानिसहरु कम्ती हुन्छ घरको सम्झना बढी आउँछ । नेपाली बोल्न पाउँ, नेपाली खाना खान पाउँ भनेर नेपलिज डक्टर्स एसोसिएसन बनाइयो । त्यतिबेला अरु संस्था पनि थिएनन् । म सन् १९८६ मा आउँदा नै त्यो भोगेको हुँ । अहिले तीन/ चार वर्षमा त नेपालीको संख्या यति बढेको छ कि जता गए पनि नेपाली भेट्नुहुन्छ । संस्थाहरु पनि तीन/चार सय भइसके । यस्तो अवस्थामा नेपाली डाक्टरहरु समाजमा भेटिएनन्, घुलमिल भएनन् भन्ने गुनासो ठीकै हो । किनकि डाक्टरहरुमा मात्र होइन अरु संस्था पनि त्यस्तै छ । जस्तो एनआरएनमा जति कार्यकारी पदमा छन् उनीहरुबाहेक अरुलाई त्यहाँभित्र के भइरहेको छ त्यो थाहा हुँदैन ।
अर्को कुरा, हाम्रो गतिविधि युकेमा कम छ, नेपालमा बढ्ता छ । त्यसैले हामीलाई सर्वसाधारणले देख्नुहुन्न किनभने हाम्रो उद्देश्य कसैलाई देखाउने मार्केटिङ गर्ने होइन । हाम्रो संस्था पनि सानो छ । यसबाहेक पेशागत रुपले पनि डाक्टरहरुलाई धेरै ब्यस्त हुनुपर्ने हुन्छ ।

बाहिरबाट हेर्दा सबैले राम्रो देख्छन् तर नेपाली डाक्टरका समस्या चाहिँ के छन् ?
जमिसकेका डाक्टरहरुको पेशागत समस्या छैन । बरु चुनौतीहरु आएका छन् । जस्तो छोराछोरी यहीँ जन्मे हुर्के । नेपाली बोल्न छाडे । त्यसले पिरोलेको छ । बिहेबारी गर्नुपर्दा नेपालीभन्दा बाहिर जानुपर्ने अवस्था आइपरेको छ । यहाँ आउँदा नेपाली नागरिक थियौँ तर यहाँको नागरिकता लिएपछि नेपाली नागरिकता त्याग्नुपर्‍यो । त्यसले नेपालसितको सम्बन्ध टुटेको महसुस भएको छ ।

बेलायतजस्तो सम्पन्न मुलुकमा नेपाली डाक्टरहरुले हासिल गरेको अनुभव र ज्ञानबाट नेपालजस्तो मुलुकले कसरी लाभ लिन सक्छ ?
मेरो विचारमा अहिले हामीले यहाँ जे प्रविधि अपनाएका छौँ जुन सुविधा दिइरहेका छौँ ती सबै नेपालका प्रमुख शहरहरुमा उपलब्ध छन् । त्यसो हुनाले नेपालमा बाहिरबाट ल्याउनुपर्छ भन्ने आवश्यकता म देख्दिनँ । बरु पैसा हुनेले मात्र ती सबै सेवासुविधा उपभोग गर्न पाएका छन् बहुसंख्यक नेपालीले पाएका छैनन् । त्यो समस्या कसरी समाधान गर्ने प्रमुख प्रश्न हो । त्यसका लागि नेपालीहरुले नै कसरी सबैलाई पुग्नेगरी वितरण गर्ने भन्ने बारेमा गम्भीरतापूर्वक सोच्नुपर्छ ।

प्रस्तुति ः नरेश खपाङ्गीमगर

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक