१ हजार ५०० गोरखा कटौतीमा पर्न सक्ने !

तस्वीर मनेश गुरुङ फ्लीकर

तस्वीर इन्द्रेश गुरुङ फ्लीकर

लण्डन । गोरखाहरुले बेलायती सेनामा काम गरेको २०० वर्षगाँठ मनाउने पूर्वसन्ध्यामा ठूलो संख्यामा गोरखाहरु कटौतीमा पर्नसक्ने चर्चा चल्न थालेको छ ।
बेलायत सरकारले सैन्य संख्या घटाएर ‘स्लिम’ बनाउने योजना बनाएको भन्दै त्यसमा गोरखाहरु पनि स्वात्तै घट्नसक्ने विश्लेषण गर्न थालिएको छ ।
आज लण्डनबाट प्रकाशित डेली एक्सप्रेसले यसबारेमा एक विस्तृत र एक्सक्लुसिभ समाचार नै छापेको छ ।
सो समाचार अनुसार गोरखाहरुको एक बटालियन नै कटौतीमा पर्नसक्ने अनुमान गरिएको छ । कटौतीमा पहिलो बटालियन रोयल गोरखा राइफल्स पर्ने पनि समाचारमा दाबा गरिएको छ ।
बेलायती सेनाका पूर्व मेजर जनरल मार्क कार्लटन स्मिथले बेलायती सेनाको भावी संरचनाका बारेमा तयार पारेको मोडल अनुसार सो कटौती हुन लागेको बताइएको छ । उनको योजनामा बेलायतको कुल सेना ६० हजारमा झार्ने उल्लेख छ ।
स्रोतको हवाला दिँदै समाचारमा यदि उनको योजना लागू गरिएमा आगामी तीन वर्षमा १ हजार ५०० गोरखाली सेना घटाइने छ ।
गोरखाहरुको दोस्रो बटालियनलाई ब्रुनाइमा खटाइएको छ । र, ब्रुनाइ सरकारले खर्च ब्यहोर्ने गरेकोले सो बटालियनलाई कटौतीमा नचलाइने अनुमान गरिएको छ ।
प्रधानमन्त्री डेभिड क्यामरुनले गत महिनामात्र ब्रुनाइसित सो बारेमा पाँच वर्षका लागि सम्झौता नविकरण गरेका छन् ।
एक्सप्रेससितको कुराकानीमा बेलायती रक्षा मन्त्रालयले सेना कटौतीका बारेमा यकिन गरि नसकेको बताएको छ । तर मन्त्रालयले प्रस्तावित सन् २०२० पछिको बेलायती सेनाको संरचनाभित्र गोरखाहरुलाई कटाइने कुरा भने अस्वीकार गरेको एक्सप्रेसले जनाएको छ ।
एक्सप्रेसले स्रोतहरुको हबाला दिँदै गोरखाहरुको कटौतीको चर्चा सो प्रस्तावित सन् २०२०, योजना अनुसार नभएको प्रष्ट पारेको छ । १८ महिनाअघि सार्वजनिक सो योजनामा बेलायतको सेनाको संख्या ८२ हजारमा झार्ने उल्लेख छ ।
यसै महिना बेलायती प्रधानमन्त्री क्यामरुनले आगामी मेमा हुने निर्वाचनपछि बेलायतको सैन्य बजेट नकाटिने भनेर सुनिश्चित गर्न नसकिने स्वीकार गरेका थिए ।
रोयल युनाइटेड सर्भिसका थिंक ट्यांकहरुले सारै नै सेना कटौती भएको खण्डमा ५० हजारमा र्झनसक्ने अनुमान गरेका छन् जुन बेलायतले अमेरिकी स्वतन्त्रता युद्ध हारेको बेला सैन्य संख्या हो । जसलाई इतिहासमै न्यून मानिन्छ ।
गोरखाहरुलाई समान पेन्सन र अधिकारका लागि अभिनेत्री जोअना लुम्लेले पहल गरिदिएकी थिइन् र त्यसले ब्रिगेड अफ गोरखाजलाई बजेट सन्तुलन गर्न मुस्किल परेको बताइएको छ ।
एक्सप्रेस स्रोतका अनुसार यदि सैन्य संख्या ६२ हजारमा झारिएमा गोरखाहरुलाई एक बटालियनमा झार्ने योजना बनाइएको छ ।
एक्सप्रेस स्रोतको दाबीमा गोरखाहरु धेरै लामो समयदेखि कटौतीको जोखिममा पर्दै आएका हुन् तर उनीहरु अहिलेसम्म टिक्नुको मुख्य कारण उनीहरु सस्तो भएर नै हो । गोरखा ब्रिगेडको बजेट अरु ब्रिटिश ब्रिगेडको तुलनामा आधा मात्र छ ।
जोअना लुम्लेले समान पे र पेन्सनका लागि अभियान गरेपछि अहिले गोरखा ब्रिगेड कटौतीको तारो बनेको एक्सप्रेसको अनुमान छ ।
एक पूर्व गोरखा ब्रिगेडियरको भनाइ उदधृत गर्दै समाचारमा भनिएको छ, “मलाई जानकारी दिइएको छ कि गोरखाहरुको एक बटालियन कटौतीमा पर्दैछ र त्यसबाट करिब १ हजार ६०० गोरखाहरु जो युके र अन्य क्षेत्रमा काम गरिरहेका छन् उनीहरुलाई असर पर्ने छ ।”
पूर्व गोरखा सैनिक मेजर रिटायर्ड टिकेन्द्र दल देवानलाई पनि समाचारमा उद्धृत गरिएको छ । उनले यदि बेलायतको समग्र सैन्य संख्या घटाइयो भने गोरखा ब्रिगेडले पनि बराबर हिस्सा सेयर गर्नुपर्ने बताएका छन् ।
गोरखाहरुलाई बारम्बर कटौती गरिएको उल्लेख गर्दै उनले सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरणापछि गोरखा ब्रिगेड बन्द गरिदिएको र भारतीय रेजिमेण्टलाई दिएको भए पनि हुन्थ्यो भनेका छन् ।
बेलायतका पूर्व रक्षा मन्त्री तथा गोरखाहरुका कटु आलोचक सांसद जेराल्ड होवार्थले दुईसय वर्षदेखि युकेका लागि लडिरहेका गोरखाहरुलाई कटौतीको निशाना बनाइनु दुःख लाग्दो बताएका छन् । उनले सेना कटौतीको अवधारणाप्रति नै आफ्नो असहमति प्रकट गर्दै यदि कटौती भएमा गोरखाहरुलाई पनि दामासाहीमा कटौती गरिनु ठीकै भएको बताए ।
गोरखाहरुले पहिलो विश्वयुद्धमा २, दोस्रो विश्वयुद्धमा ९ र बोर्नियोमा १ गरी १३ भिसी पदक जितेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री