एनआरएनए यूकेले भवन बनाउन दुई करोड पठाउने, प्रा. सुवेदी प्रमुख संरक्षकमा यथावत

FullSizeRender

लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले काठमाण्डौंमा एनआरएनए प्रधान कार्यालय भवन निर्माणका लागि दुई करोड रुपैयां पठाउने भएको छ । एनआरएनए यूके कार्यालय उलवीचमा सम्पन्न विशेष अधिवेशनपछिको पहिलो बैठकले उक्त कामका लागि संरक्षक परिषदलाई जिम्मा दिंदै संयोजकमा आइसीसी सल्लाहकार मेजर रि. डमर घलेलाई तोकेको छ ।  बैठकमै करिव ६० लाख रुपैयां दिने प्रतिवद्धता भएको छ । अघिल्लो साता प्रधानमन्त्री सुशील कोइरालाले उक्त भवनको शिलान्यास गरेका थिए । बैठकले हेवी वेट एक जना व्यक्तित्व प्रा. डा. सूर्य सुवेदीलाई प्रमुख संरक्षकमा यथावत राख्ने निर्णय गरेको छ ।

बैठकले स्कटल्याण्ड, नर्दन आयरल्याण्ड समेत समेटिने गरि क्षेत्रीय कमिटी गठन गर्ने निर्णय गरेको छ । संस्थाको विधानको १३ नं बुदांको ट लाई मानेर क्षेत्रीय कमिटी गर्ने निर्णय भएको हो । बैठकले काउन्सिल अवधारणामा जानेबारे अध्ययन गरि कार्यपत्र पेश गर्न अध्यक्ष महेन्द्र कंडेललाई जिम्मा दिएको छ ।

बैठकले नेपाल पत्रकार महासंघ, बेलायतसंग मिलेर पत्रकार अक्षयकोष वृद्धिका लागि च्यारिटी गर्ने निर्णय गरेको छ । उक्त च्यारिटीको समन्वय गर्न पत्रकार फडिन्द्र भट्टराई र वाचस्पति रेग्मीलाई जिम्मा दिने निर्णय भएको छ । यस अलावा संस्थाको नियमित वेलफेयर च्यारिटी गर्न उपाध्यक्ष कृष्ण तिमिल्सिनालाई संयोजक तोकिएको छ । बैठकले २१ फेब्रुअरीको विशेष साधारणसभाले कमल गुरुङको संयोजकत्वमा गठन गरेको आर्थिक छानवीन कमिटीमा डा. चन्द्र लक्सम्बा, कृष्ण भट्टराई र विजन भट्टलाई थप्ने निर्णय गरेको छ ।

वृद्ध आरोही मीनबहादुर शेरचनले पुनः आरोहणका लागि अनुमति कागजात पाएपछि आरोहणमा सघाउन ज्ञान शेरचनको संयोजकत्वमा एनआरएनए यूके आइसीसी सदस्यहरु थर्क सेन, सुरेन्द्र श्रेष्ठ र महासचिव 
राजकुमार त्रिपाठी सम्मिलित एउटा कमिटी बनाइएको छ ।

बार्सिलोनामा भएको सातौं क्षेत्रीय सम्मेलनको प्रतिवद्धता अनुसार एनआरएनए यूकेले चेपांग वस्तीमा एउटा घर बनाउने र यो अभियानका लागि आइसीसी सदस्य सुरेन्द्र श्रेष्ठलाई संयोजक तोकिएको छ ।

बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्धारमा ‘वेलकम टु नेपाल’ लेखि सर्वोच्च शिखर सगरमाथामाथि वुद्ध प्रतिमा स्थापना गर्ने निर्णय भएको छ । यसका लागि संरक्षक कुल आचार्य र सुरेन्द्र श्रेष्ठलाई संयोजक तोकी जिम्मा दिइएको छ ।

प्रमुख राजनीतिक दलका नेताहरु बोलाएर यहां एक वृहत अन्तरक्रिया गर्ने समेत सहमति भएको छ । बेलायतमा रहेका पिएचडी गर्ने नेपालीहरुलाई एकत्रित गरि उनीहरुको सिप र ज्ञान नेपाल र बेलायतस्थित नेपाली समुदायसम्म सदुपयोग गराउन एनआरएनए यूके पिएचडी फोरम गठन गरि कार्यक्रम आयोजना गर्ने निर्णय बैठकले गरेको छ । यसको संयोजन गर्ने जिम्मा डा. पदम सिंम्खडालाई दिइएको छ । उक्त कार्यक्रम २६ अप्रिलमा हुने तय भएको छ ।

उक्त बैठकमा आइसीसी सदस्यहरु सुरेन्द्र श्रेष्ठ, विजन भट्ट, थर्क सेन, सुष्मा राई, संरक्षक मेजर रि. डमर घले, संरक्षक कुल आचार्य लगायत कार्यसमिति सदस्यहरु सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री