गोर्खा च्यानल प्रसारणको औपचारिक शुरुवात

गोर्खा च्यानलका हस्तीहरु कार्यक्रममा फोटो खिचाउंदै । तस्विरः एभरेष्ट गौतम

गोर्खा च्यानलका हस्तीहरु कार्यक्रममा फोटो खिचाउंदै । तस्विरः एभरेष्ट गौतम

लन्डन । करिब तीन वर्षदेखि बेलायतबाट सञ्चालित गोर्खा टिभीको सिस्टर कम्पनी गोर्खा च्यानल प्रसारणको औपचारिक शुरुवात भएको छ । गत ७ डिसेम्बरबाट आइपी टेक्नोलोजी र वेवमार्फत २४ सै घण्टा प्रसारण शुरु भएपनि आइतबार लन्डनस्थित क्ले ओभन ब्याङक्यूटिङ हलमा आयोजित एक समारोहबीच औपचारिक शुरुवात भएको घोषणा गरिएको हो ।

कार्यक्रममा च्यानलका मार्केटिङ चिफ वाङ तामाङले च्यानल सञ्चालनको उद्देश्य, यसका भावी योजना, च्यानलबाट प्रसारण हुने कार्यक्रमको रुपरेखा, विज्ञापन शुल्क र अफरहरुबारे अवगत गराएका थिए ।

तामाङले छोटो समयमै आफ्ना दर्शक अत्यधिक बढेका जनाउंदै निकट भविष्यमै च्यानललाई स्याटेलाइटमार्फत प्रसारण गर्ने योजना भइरहेको सुनाए । उनले बेलायतमा रहेका नेपालीलाई स्वदेशको खवर र बेलायतस्थित नेपाली डायष्पोरामा भइरहने गतिविधि प्रसारण गरेर सूसुचित गराउने आफूहरुको उद्देश्य रहेको जनाए । ‘विश्वभर छरिएर रहेका नेपालीलाई एकीकृत गर्ने हाम्रो उद्देश्य छ’, उनले थपे ।

तामाङ र आइटी चिफ अमन गौचनले उपस्थित दर्शकदीर्घाबाट आएका जिज्ञासाहरुको जवाफ दिएका थिए ।

कार्यक्रममा आइटी चिफ अमन गौचन, पिआर एवं प्रशासनका दीप राना, प्रोडक्सन हेड राजेन्द्र भट्ट, निर्देशक विमला सेने र नेपाली तथा अन्य एसियन समुदायका प्रतिनिधि, व्यवसायी, सञ्चारकर्मी, कर्मचारी एवं व्यवस्थापकहरुको सहभागिता थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री