लन्डनमा प्रेरणाका लागि गीत

10943656_909509672446695_8088768048258778021_n
लन्डन । बेलायतमा सामान्यतया नेपाली समुदाय माझ हरेक साता जसो विभिन्न कार्यक्रम आयोजना गरिन्छ । हरेक कार्यक्रमको आफ्नै उद्देश्य हुन्छ र सहभागिता पनि नेपालीकै बढी । तर, यसै साता रिचमिक्स् सिनेमामा आयोजना गरिएको एक च्यारिटी कार्यक्रम अलि भिन्न रह्यो । भिन्न यस अर्थमा कि कार्यक्रमको मुख्य आकर्षण नेपाली गीत संगीत थियो भने त्यहां उपस्थित दर्शक विभिन्न देशका थिए र नेपाली दर्शकको उपस्थिति भने औंलामा गन्न सकिन्थ्यो ।
खादा, सम्मान, प्रमुख अतिथि रहित र प्रत्यक्ष रुपमा नेपाल चिनाउने यस कार्यक्रममा आफूलाई नेपाली समुदायको अगुवा ठान्नेहरु जो खादा र सम्मानका लागि भनेपछि सयौं माइल टाढा पुग्छन्, उनीहरुको उपस्थिति भने शून्य नै रह्यो ।
मात्र ५ पाउण्ड प्रवेश शुल्क राखिएको सो कार्यक्रममा नेपालीहरुको न्यून सहभागिताबारे गायक गंगा थापासंग प्रश्न गर्दा मनिलो स्वरमा उनले भने, ‘हामीले कसैलाई पनि व्यक्तिगत निमन्त्रण गरेनांै । खादा, माला र सम्मानको व्यवस्था गरेनौं, थुप्रै नेपाली संघ संस्थाका लागि च्यारिटी भन्दै आफ्नो प्रस्तुति दिए तर आज अन्य समुदाय माझ देशलाई चिनाउने अवसर पाउंदा तिनै संघ संस्थाका एक प्रतिनिधि पनि उपस्थित भएनन् । हामीले कार्यक्रमको जानकारी फेसबुक पेज मार्फत गराएका थियौं । जो जो उपस्थित हुनुभयो उहांहरुलाई धेरै धेरै धन्यवाद ।’

11084441_10203994223551946_623917262_n

‘गीत प्रेरणाको लागि’ नाम दिइएको यस कार्यक्रमलाई सेलेब्रेट लाइफ इभेन्ट एण्ड कल्चर अफ ग्लोवलले आयोजना गरेको थियो । कार्यक्रममा नेपाली समुदाय माझ परिचित गायक गंगा थापा र उनको समूहले नेपालको विभिन्न भागमा गाइने करिव आधा दर्जन गीत प्रस्तुत गरे । रबिन हेमिंग्स, साइमी डी, विश्व शाही, श्रेया राई, राचेल हेटर, हनिफ खानको समूह नाम्लो ब्याण्डले विभिन्न भाकाका गीत प्रस्तुत गरिरहंदा दर्शक माझबाट अमेजिङ म्यूजिक भन्दै तालीको गडगडाहट गुन्जिरहेको थियो । साथै कार्यक्रममा बङ्लादेशका चर्चित गायक तथा गायिकाले पनि प्रस्तुति दिएका थिए । नेपाल र बङ्लादेशको संस्कृति झल्काउने उद्देश्यका साथ आयोजना गरिएको सो कार्यक्रमबाट सकंलित रकम नेपालमा फुड फर पिपल र बङ्लादेशमा म्यूजिक फर डेभेलोपमेन्टका लागि खर्च गरिने आयोजकले बताएको छ ।
द प्रेम रावत फाउण्डेसनले शुरुवात गरेको फुड फर पिपल प्रोजेक्ट निकै सफल भएको आयोजकले बताएका छन् । सन् २००९ मा स्थापित सो संस्थाले नेपालको तसरपु गाउंका न्यून स्तरका बालबालिका तथा वृद्धाहरुलाई सफा पानी तथा पौष्टिक खानेकुरा प्रदान गर्दै आएको र आगामी दिनमा यस कार्यक्रमलाई अन्य गाउंमा पनि विस्तार गर्दै लैजाने बताइएको छ ।

कार्यक्रमलाई रिचमिक्स, लोट्री फन्डेड, आर्ट काउन्सिल इङ्गल्याण्ड लगायतका संस्थाहरुले प्रायोजन गरेका थिए ।

सबै तस्विरहरुः कृष्ण सुवेदी

11085816_10203994223351941_1922795041_o

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री