एनआरएन मानसिक सन्तुलन हराएको बालक जस्तो

Kangmang Naresh

गैर आवासीय नेपाली संघ (एनआरएनए)ले नेपाली नागरिकताको निरन्तरतालाई पहिलो एजेण्डाको रुपमा अघि ल्याएको थियो । कुनै समय द्वैध नागरिक्ताको नाराबाजी थाप्यो, मुखमा शब्दको मसाल बोकेर । हामीले भन्यौँ, काम राम्रो हुँदैछ काँधमा काँध थाप्न सघाउँछौ । तर, हामीले त्यहीबेला भनेका थियौँ, गैर आवासीय नेपाली संघ (एनआरएनए) उद्मोग वाणिज्य महासंघजस्तो देखिन्छ । उनीहरुले भन, गाउँमा स्याल कराउनु र बास्दै गरेको नौसिंगे भाले हराउनुजस्तो मात्र भएको हो । यसलाई संयोग जस्तो मान्नु पर्छ । हामी केही वर्ष दोधारमा उभियौँ । केही समयपछि हामीले भन्यौँ, यो हाइब्रिड गरेको उद्मोग वाणिज्य महासंघको अनुहारजस्तो देखिन्छ । हामीले लेख्यौँ, खबरदार एनआरएनएको मुद्दालाई टाई बाँध्नेले मात्र पाँचतारे होटलमा बसेर व्यापारको ललिपप नखाउँ । ललिपप खान पाओस् देश बाहिर रहेका सम्पूर्ण नेपालीहरुले । जो कुल्ली काम गर्छन्, बाघवीर चौधरीहरु अरब र मलेसियामा । जो व्यापार गर्छन् उपेन्द्र महतो, देवमान हिराचन, जिवा लामिछाने र शेष घलेहरु जापान, रसिया र अष्ट्रेलियामा ।

यी सबै गैर आवासिय नेपाली नै हुन भन्ने लाग्छ बाहिरी आँखामा । भित्री आँखाले हेर्दा उद्मोग वाणिज्य महासंघजस्तो देखिन्थ्यो धमिलो आकृतिमा । गैर आवासीय नेपाली संघ (एनआरएनए) को एजेण्डा नागरिकता निरन्तरताको सवाल अस्थिरपंजर मात्र हैन एकात्मकताको जालोमा बेरिएको पुतली र अलैँचीको कोथीमा रस चुस्दा मरेका माहुरीहरुका अवस्थाजस्तो ।

विषय हो, जातिय, धार्मिक र राजनैतिक संगठनमा आवद्ध भएकालाई अब एनआरएनएमा प्रतिबन्ध । यसको अर्थ के हो र कहाँ गएर मेल खान्छ ? कहाँ कुन खाली पेजमा टाइपराइटरले कपी पेस्ट गर्यो । उसलाई कसले कपी पेस्ट गर्न लगायो यी माथिका एै एै एै मा प्रतिबन्ध भनेर ? यसबारे धेरै सोच्न आवश्यक छैन कि ?

विदेश मन्त्री महेन्द्रबहादुर पाण्डेहरु डुक्रिए नेपाली दुतावास लण्डनमा । किन चाहियो दोहोरो नागरिकता भन्दै । मिनेन्द्र रिजालहरु बेलायतमा भजनमण्डली गर्दै भने, तपाईहरु जस्ता ब्यक्तिहरु नेपाल आउनुहोस् । किन आवश्यक छ तपाईहरुलाई नागरिकता निरन्तरता ? भीम रावलहरुले पनि यही विषयलाई कालोमोसोमा चेरीको रंग दल्दै हत्केलामा कलर फोटोकपी गरे गैर आवासीय नेपालीहरुका अनुहारमा । विदेश मन्त्री महेन्द्रबहादुर पाण्डेले सार्क राष्ट्रमा रहेका नेपालीहरुलाई र भारतमा रहेका नेपालीलाई पनि गैर आवासीय नेपालीको कित्तामा राखिदिए । सार्क राष्ट्रमा रहेका नेपालीहरुलाई एनआरएनको शब्दजालले लाली पाउडर लगाई दिन मिल्छ या मिल्दैन विदेश मन्त्रीको कुर्सीमा बसेर उनले नै जानुन् ?

राजनैतिक अधिकारविहीन दोहोरो नागरिकता दिने विषयमा नेपाल सरकार र विभिन्न ठूला राजनैतिक पार्टीका नेताहरुले विभिन्न टिभी र अखबारहरुमा बोले । तर राजनैतिक अधिकारविहीन नागरिकता हामीलाई स्वीकार छैन भनी एनआरएनले बोलेको हामीले कहिल्यै सुनेनौँ । हामी दिमाग नभएको बालकजस्तो बुख्याँचा हुन चाहँदैनौँ कहिल्यै भनेन ।

एनआरएनले नबोल्नुको शाब्दिक उत्तर भेटिन थालियो उनीहरु हिँड्ने गोहहरुमा । त्यो उतर यस्तो रैछ जातिय, धार्मिक र राजनैतिक संगठनमा आवद्ध भएकालाई अब एनआरएनमा प्रतिबन्ध । यो सरल शब्दमा मिसिएको जटिल निर्णय एनआरएन आइसिसीले गरेजस्तो देखिन्छ ।

सम्पूर्ण अधिकारसहितको दोहोरो नागरिकताको विषयलाई एनआरएनले उठाइरहनु पर्छ र पर्ने थियो तर नेपाल सरकारले भने झैँ एनआरएन आइसिसीले जातिय, धार्मिक र राजनैतिक संगठनमा आवद्घ भएकालाई अब एनआरएनमा प्रतिबन्ध लगाएको छ । उपेन्द्र महतो, देवमान हिराचन, जिवा लामिछाने र शेष घलेका अनुहारहरु एनआरएनको सेफ्टि बक्समा हाँस्दैछ कि रुँदैछ ?

आम गैर आवासीय नेपालीहरुले प्रश्न सोध्ने समय आएको छ र सोध्न सक्नुपर्छ । नेपाल सरकार र राजनैतिक पार्टीका नेताहरुले बोलेको आवाजलाई टाउकोमा बोकी किन आलङ्गकारिक निर्णय गर्यो एनआरएन आइसिसीले । एनआरएनले ब्यापारीहरुलाई मात्र प्रतिबन्ध लगाएको छैन । किन लगाएनन् ब्यापारीहरुलाई ? कति निरही एनआरएन वा कति बलियो वा कति स्वार्थी उपेन्द्र महतो, देवमान हिराचन, जिवा लामिछाने र शेष घलेहरु । या कति बलिया उनीहरु या कति नैतिकवान उनीहरु । ब्यापारीलाई प्रतिबन्ध लगाउने आँट गरेनन् उनीहरुले । एनआरएनले गरेकोको निर्णयलाई चौरस्तामा उभिए कसैले ठीक भन्दैछन् । कसैले गल्ति भन्दैछन् । आ-आफ्ना प्यानलबाट हटेर एनआरएन उर्फ उद्मोग वाणिज्य महासंघको अनुहार र निर्णयलाई हेरिरहँदा हामीले देखिरहेका छौँ, मानसिक सन्तुलन गुमाएको एउटा बालक जस्तो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री