४ घण्टा ३९ मिनेटमा पूरा गरिन् कल्पनाले लण्डन म्याराथन

Kalpana 3
लण्डन । नेपाली किशोरी कल्पना लिम्बुले ४ घण्टा ३९ मिनेटमा लण्डन म्याराथन पूरा गरेकी छिन् ।
विश्वका ठूला म्याराथनमध्ये एक मानिने भर्जिन लण्डन म्याराथनमा १८ देखि ३९ वर्ष उमेर समूहमा भाग लिएकी कल्पनाको दौड पूरा गरेको आधिकारिक समय ४ घण्टा ३९ मिनेट ५२ रहेको आयोजक भर्जिन म्याराथनले जनाएको छ ।
आइतबार लण्डनमा सम्पन्न सो म्याराथनमा करिब ३८ हजारले भाग लिएको बीबीसीले जनाएको छ ।
एक्जिटर विश्वविद्यालयमा अर्थशास्त्रमा स्नातक अध्ययन गरिरहेकी १८ वर्षिया लिम्बुले भारतमा बेचिएका नेपाली बालबालिकाको उद्धारमा कार्यरत एस्थर बेञ्जामिन ट्रष्टको सहयोगका लागि म्याराथन दौडेकी थिइन् ।
४२ किलोमिटर दौड पूरा गरेपछि उनले भनिन्, “थकाइ पनि लागेको छ, खुशी पनि लागेको छ ।” म्याराथन दौड्ने माहौल अत्यन्त उत्साह जगाउने भएकाले दौड अवधिभर बीचैमा छोड्छु भनेर सोच्नै नपाएको उनले बताइन् । दौड्दा छेउछेउबाट पानी, जुस, खानेकुराहरु दिने, टिसर्टमा लेखिएको नाम बोलाएर हौसला दिँदा १८ माइल दौडेको उनले थाहै पाइनन् । त्यसपछि भने थाक्दै गएको अनुभव उनले गरिन् ।

Kalpana 22

तयारीका क्रममा साथीहरुसित ३५/३६ किलोमिटर दौडेकी उनलाई हजारौँ धावकहरुका बीचमा दौड्दा अलि फरक महसुस भयो । “दायाँ-बायाँ अघि-पछि सबैतिर दौड्नेहरु, अलि अगाडि जाउँ भन्दा पनि मान्छे नै मान्छे । अलि फोकस गर्न मलाई गाह्रो भयो” उनले भनिन् ।
५ घण्टामा दौड पूरा गर्ने उनको योजना थियो । त्यसभन्दा २० मिनेट अगावै दौड पूरा गरेकोमा उनी खुशी छिन् । त्यससँगै २ हजार पाउण्ड सहयोग उठाउने उनको लक्ष्यमा १ हजार ७४८ पाउण्ड उठाउन उनी सफल भएकी छिन् ।
छोरीले सकुशल म्याराथन पूरा गरेपछि पिता विश्वासदीप तिगेला पनि प्रशन्न छन् । “युनिभर्सिटीमा अर्को हप्तादेखि परीक्षा शुरु हुँदैछ कतै घाइते भैदियो भने पढाइमा असर पर्छ भन्ने पीर थियो” उनले भने ।
नेपालको राजनीति र अर्थनीतिमा असाध्यै रुचि राख्ने कल्पनालाई म्याराथनको अघिल्लो दिनमात्र नेपालमा गएको भुकम्पले झनै दुःखी बनायो । तैपनि उनले दौड पूरा गरेरै छाड्ने अठोट परिवर्तन गरिनन् ।
अर्को वर्ष पनि म्याराथन दौडने कि भन्ने प्रश्नमा उनले भनिन्, “युनिभर्सिटीमा पहिलो वर्ष पढाइमा त्यति समय दिन नपर्ने भएकाले यो साल दौड्न पाएँ । अर्को वर्षदेखि पढाइको चाप बढ्छ । त्यसैले अर्को साल त भन्न सक्दिनँ तर भविष्यमा कुनै दिन फेरि दौडौँला ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री