भूकम्प पीडितको उद्धारमा हौसला थप्न पुरस्कारको घोषणा

rescued baby

भुकम्प गएको कैयाँ घण्टापछि सकुशल उद्धार गरिएको शिशु

लण्डन । महाभूकम्पमा पुरिएका, चेपिएकाहरुको उद्धारमा प्रोत्साहन दिने उद्देश्यले विश्व नेपाली साहित्य महासंघले उद्धारकर्तालाई पुरस्कारको घोषणा गरेको छ ।
महासंघको विश्व केन्द्रीय समितिको हालै बसेको बैठकले भुकम्प पीडितको विवेकपूर्ण र बहादुरीपूर्वक उद्धार गर्ने १० व्यक्तिलाई प्रति व्यक्ति ५० हजार रुपियाँ नगद पुरस्कार दिने निर्णय गरेको हो ।
उद्धार कार्य प्रभावकारी हुन सकोस् र उद्धारकर्ताहरुमा उत्साह थपियोस् भन्ने उद्देश्यले सो पुरस्कारको घोषणा गरिएको महासंघका अध्यक्ष विश्वासदीप तिगेलाले बताए । ”भुकम्प गएको २१ दिनसम्म पनि पुरिएका, चेपिएकाहरु जिवितै भेटिएको विगतको दृष्टान्त भएका कारण जोडतोडले उद्धार कार्यमा लाग्न हुन महासंघ अनुरोध गर्दछ”, उनले भने ।
उद्धारमा संलग्न सर्वसाधारण, सेना, पुलिस जो कसैलाई उनीहरुको साहसिक कार्यको मूल्याङ्कन गरी नगद पुरस्कार प्रदान गरिने भएको छ ।
विश्वभरका नेपाली तथा गैर नेपालीहरुबाट सहयोग संकलन गरेर सो पुरस्कार दिइने भएको छ । उर्जाशिल युवाहरुकै अग्रसरतामा यसअघि अनिस खालिङ बचाउ अभियान शुरु भई ३ करोड र पूर्वमन्त्री गोरे बहादुर खपाङ्गीको उपचार सहयोग संकलनको पनि करिब डेढ करोड रुपियाँ संकलन भएको थियो ।
पहलकर्ताहरुले पुरस्कारका बारेमा सबैलाई जानकारी दिनको लागि अर्थकुइकनेपालसपोटडटकम www.gofundme.com/nepalearthquakeuk पनि संचालन गरेका छन् ।
सहयोग संकलन राम्रोसंग भएको खण्डमा भूकम्पमा परिवारका पूरै सदस्य गुमाई सिर्फ एक्ला सदस्य मात्र बाँकी भएकाहरुलाई आर्थिक सहयोग गर्ने निर्णय पनि महासंघले गरेको छ । महासङ्घका सदस्य भूकम्पमा पीडित भएको खण्डमा महासङ्घले सहयोग गर्ने भएको छ । महासङ्घले उद्धार तथा राहत वितरण कार्यमा  अनियमितता गर्नेको पनि पर्दाफास गर्ने निर्णय गरेको छ । त्यसको निम्ति महासङ्घ सदस्यहरुलाई निर्देशन जारी गरेको छ ।
भूकम्पबाट मृत्यु भएकाहरुप्रति १ मिनेट मौनधारणबाट शुरु भएको बैठकले बहुप्रतिक्षित विश्वब्यापी खुल्ला कविता प्रतियोगिता २०१५ को नतिजालाई देश शोकमा परेकाले स्थगित गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री