‘नेपालमा छु कि उत्तर कोरियामा छुट्याउन गाह्रो भो’: अध्यक्ष घले

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष शेष घलेले महाभूकम्प पीडितहरुलाई राहत वितरणमा केन्द्रिकृत गर्ने सरकारी घोषणाप्रति असन्तुष्टी जनाएका छन्। राष्ट्रिय विपत्तिको अवस्थामा सरकारी संयन्त्रले समयमा प्रभावकारी रुपमा सेवा दिन नसकेको अवस्थामा यस्तो योजना ‍ल्याउन नहुने उनको तर्क छ।Shesh_Gale_With_Wife

भूकम्पबाट सबैभन्दा प्रभावित रहेको सिन्धुपाल्चोकमा पहिलो चरणको राहत वितरण गरेर फर्केका अध्यक्ष घलेले कान्तिपुर टेलिभिजनसँग कुरा गर्दै विदेशमा बस्ने नेपालीहरुले दुःख गरेर पठाएको सहयोग तत्कालै पीडितहरुको हातमा पुगोस् भन्ने आफूले चाहेको बताए। ‘हाम्रो कुनै हिडेन एजेन्डा छैन। विदेशमा बसेका ४० लाख नेपालीले दुःख गरी कमाएका एक /दुई डलरको सहयोग पीडितको हातमा तत्कालै पुगोस् भन्ने उद्देश्य मात्रै हो,’ घलेले भने, ‘विदेशमा बस्ने नेपालीहरुको प्रतिनिधित्व गर्दै त्यहाँ (सिन्धुपाल्चोक) गएको हो। तर बाँकी राहत सामग्री सरकारलाई बुझाउनु पर्ने भन्ने सन्देश आएको छ।’

जति शक्तिशाली सरकार भएपनि यस्तो विपतको सामना एक्लै गर्न नसक्ने भन्दै उनले नेपाल सरकार प्रभावकारी नभएको बताए। ‘अस्ट्रेलिया होस् कि अमेरिका यस्तो नेशसनल डिज्यास्टरको समयमा सहयोग चाहिन्छ नै,’ उनले भने ‘सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकमा हामी सबैभन्दा अघि पुगेका हौं। त्यहाँ सरकार पुगेको छैन’ उनले सरकारी काम जहाँ पनि ढिलो हुने बताए ।

उनले सरकारको निर्णयले आफू नेपालमा छु कि उत्तर कोरियामा छुट्याउन समस्या परेको बताए। ‘सरकार यति एक्स्ट्रिममा जान्छ भन्ने लागेको थिएन । मलाई त आज उत्तर कोरियामा बसेका छौं कि नेपालमा बसेका छौं भन्ने लाग्यो’, घलेले भने, ‘सामाजिक काम गर्नका लागि इनह्युमन बिहेवियर भयो ।’ उनले आफूले कहिले पनि सरकारप्रति गुनासो नगरेको भन्दै सरकारसँग सहकार्य गर्न खोजेको बताए ।

एनआरएनले पीडितहरुलाई वितरणका लागि तीस टन सामग्री हङकङबाट ल्याउँदै छ भने पीडितको सहयोगका लागि १० करोड रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ। तर अध्यक्ष घलेले राहतको सबै रकम प्रधानमन्त्री राहत कोषमा स्वतः जम्मा हुने निर्णयले प्रभावित हुनसक्ने चेतावनी दिएका छन्। ‘विदेशमा बस्ने साथीहरुबाट १५ लाखसम्मको प्रतिवद्धता आएको छ’ घलेले भने, ‘तर आरबि (राष्ट्र बैक) को पछिल्लो निर्णयले धेरै रकम नआउन सक्छ ।’

एनआरएनको पहलमा क्यानाडाबाट आएको १५ जना स्वास्थ्यकर्मीको टोलीले सिन्धुपाल्चोकमा शिविर चलाएर भूकम्प पीडितहरुको उपचार गराइरहेको छ। घले दम्पत्तिले व्यक्तिगत रुपमा २ करोड रुपैयाँ भूकम्प पीडितहरुलाई दिने घोषणा गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री