भुकम्पले एकदिन पनि टिक्न दिएन खुशी

युएइमा कार्यरत श्याम कँडेलका श्रीमती र बहिनी जो भुकम्पमा बिते

युएइमा कार्यरत श्याम कँडेलका श्रीमती र बहिनी जो भुकम्पमा बिते

अबुधाबी । शुक्रबार छोरा जन्मिएको खबरले संसारकै सबैभन्दा खुसी मान्छे आफूलाई सम्झिँदै क्याम्पका साथीहरुलाई पार्टी दिएका मेलम्ची सिन्धुपाल्चोकका श्यामसुन्दर कँडेलको खुसी १२ घन्टा पनि टिक्न सकेन । शनिबारको भूकम्पले उनको हर्षलाई शोकमा बदलिदियो । अस्पतालबाट डिस्चार्ज भएपछि नवजात छोराका साथ घर प्रवेश गरेको १० मिनेटमै उनकी २० वर्षिया  श्रीमतीसहित बहिनी, हजुरआमा र धर्तीमा पाइला टेकेको दुई दिनका छोरालाई भूकम्पले एकै चिहान पारिदियो । ‘घरको गारोले सबैलाई किचेछ’, उदास स्वरमा कँडेलले भने, ‘एक दिनअघिको संसारकै सुखी मान्छे म एकदिन पछि संसारकै दुःखी र एक्लो भएँ ।’ भुँइचालोमा परे पनि उनका बुबा र कान्छी आमा चाहिँ भागेर बाँचेको उनले बताए ।
अबुधाबीस्थित एक सेक्युरिटी कम्पनीमा क्लिनरको काम गर्ने कँडेल १६ महिनाअघि यूएई आएका थिए । उनकी श्रीमती पनि केही महिना अघि यही थिइन् । गर्भवती भएपछि बच्चा जन्माउन यहाँ महँगो पर्ने भएको कारण ६ महिना अघि श्रीमतीलाई नेपाल पठाएको उनले बताए । उनकी श्रीमती हाउस मेडको काम गर्थिन् ।
कँडेलकी २० वर्षिया बहिनी चाबहिलको ब्रिलियन्ट एकेडेमीमा १२ मा पढ्दै थिइन् । उनको परीक्षा आउन लागेको थियो । भाउजूलाई सहयोग गर्न काठमाडौंबाट घर गएकी थिइन् । आमाको केही समयअघि निधन भएको घाउ सुक्न नपाउँदै आफ्नो जीवनमा झनै ठूलो चोट आइपरेको उनले रुँदै बताए । ‘यत्रो चोट म कसरी सहूँ’, उनले रुँदै भने, ‘घर अनि परिवार मात्र होइन, मेरो त जीवनमै भुइँचालो गयो । सबै सपनाहरुमै भुँइचालो गयो ।’
कँडेलको सहयोगका लागि मिडलइस्ट सेक्यरीटी कम्पनीमा कार्यरत नेपालीहरुले आर्थिक सहयोग संकलन अभियान चलाएको सहयोगी नवराज ढकालले जानकारी दिएका छन् । सोही दिन सहयोग राशी ६ हजार ७ सय ५२ दिराम संकलित भएको ढकालले बताए । कँडेल आइतबार नेपाल गएको जानकारी ढकालले दिएका छन् भने सहयोग संकलन जारी रहने बताइएको छ ।

भुकम्पबाट अछूतो रहेन कोही

शनिबारको भुकम्पमा परी यूएईमा कार्यरत धेरै नेपालीहरुका आफन्तहरुको मृत्युको भएको खबर आइरहेको छ । गोरखा सेवा समाजका सचिव विनोद श्रेष्ठले आफ्नी मीत आमाको निधन भएको जानकारी दिएका छन् भने मोरङका मोहन राई आफ्ना पूर्व छिमेकी भोजपुरका ओमप्रकाश निरौलाकी काठमाडौंमा अध्ययनरत छोरीको निधन भएको छ । दुबईमा कार्यरत नुवाकोट रालुका गाउँका दिलिप खड्काले आफ्नी भाउजूको निधन भएको जानकारी दिएका छन् भने सोही ठाउँका हरि अधिकारीकी भान्जीको घरले किचेर मृत्यु भएको छ । खड्का र अघिकारी दुबै जनाको गाउँमा रहेका घरहरु पूर्ण रुपमा नष्ट भएकोले उनीहरुले सहयोगको अपिल गरेका छन् ।
स्थानीय रोयल गार्डमा कार्यरत धादिङका दिनेशकुमार गुरुङले आफ्नी हजुरआमाको भूकम्पमा परी ज्यान गएको जानकारी दिएका छन् भने भूकम्प गएको लामो समयसम्म पनि आफ्ना आमाबुबा सम्पर्कविहीन भएको बताएका छन् ।
धादिङ सेवा समाजका अध्यक्ष भीम अधिकारीको काठमाडौंको गोंगबुमा नवनिर्मित २ वटा घरमा क्षति पुगेको बताएका छन् । एलसीडी, फ्रिज, दराजसहित लाखौं रकम बराबरको क्षति भएको अधिकारीले बताएका छन् । यूएईकै एक सेक्युरिटी कम्पनीमा कार्यरत सुनसरीका ऋषिकेष ढकालले नवनिर्मित घरको भान्साकोठामा क्षति पुगेको बताएका छन् ।

सहयोगका लागि पहलकदमी

rahat from dubai

भुकम्पमा परी भएको जनधनको क्षतिको विवरण यो समाचार तयार पार्दासम्म आउने क्रम जारी छ । भुकम्पका कारण जनधनको क्षति भएका यूएईमा कार्यरत नेपालीहरुको सहयोगका लागि यहाँ क्रियाशील नेपाली संघसंस्थाहरु आकस्मिक बैठक बसी यथाशक्य सहयोग गर्ने निर्णय गरेका छन् ।
यूएईका लागि नेपाली राजदूत धनन्जय झाको निवासमा एनआरएन र क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधिहरुको बैठकले एनआरएनको संयोजकत्व तथा दूतावासको निगरानीमा यूएईमा कार्यरत अधिकांश संघसंस्था, समाजसेवी तथा व्यावसायी सम्मिलित आर्थिक सहयोग संकलन गर्ने एक कमिटी गठन गरेको छ । एनआरएनको पहलमा संकलित रकम प्रधानमन्त्री देवी तथा राहत कोषमा जम्मा गरिने बताइएको छ । उक्त कोषमा रहेको रकम पीडितसमक्ष पुग्न ढिलो हुने भन्दै केही संस्थाहरुले आपत्ति जनाएका छन् ।
दुबईमा नेपाली समाज तथा दुबईमा उपलब्ध संघसंस्थाका पदाधिकारीहरुको बैठकले १३ सदस्यीय राहत तथा सहयोग समिति गठन गरी सबै नेपाली संघसंस्थासँग सहकार्य गरी आर्थिक संकलन गर्ने निर्णय गरेको नेपाली समाजका अध्यक्ष ज्ञानेन्द्र कार्कीले बताएका छन् । सामूहिक सहयोग संकलन गर्ने निर्णय गरे पनि केही जिल्लागत संघसंस्थाहरुले पनि छुट्टाछुट्टै आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेका छन् । भूकम्पकै कारण नेपाल आदिवासी जनजाति महासंघ यूएईले आगामी मे १ मा आयोजना गर्न लागेको आदिवासी जनजाति महोत्सव स्थगित भएको छ । यूएई सरकारले पनि नेपालको सहयोगका लागि राहतका सामग्री र ८८ जना उद्धारकर्ताको टोलीसहितको विमान आइतबार नेपालतर्फ पठाएको थियो ।
दुबईको राहत नेपाल पुग्यो
राहत संकलनमा दुबईमा क्रियाशील नेपालीहरु सक्रिय देखिएका छन् । नेपाली बिज्नेस काउन्सिल दुबई, नेपाली समाज तथा अन्य संघसंस्था र व्यक्तिहरुको सक्रियतामा संकलित १७ सय ५२ केसी बराबरको खाद्यान्य, लत्ताकपडा, त्रिपाल तथा ब्लाङ्केट लगायतका सामग्रीहरु गत ३० अपि्रलमा नेपाल पुगेको नेपाली समाजका अध्यक्ष ज्ञानेन्द्र कार्कीले जानकारी दिएका छन् । अघिल्लो दिन नेपाली बिज्नेस काउन्सिलको संयोजन तथा दुबईमा उपलब्ध संघसंस्थाका पदाधिकारी र मनकारी नेपालीहरुको उपस्थितिमा पत्रकार सम्मेलन गरी सहयोगका लागि आहृवान गरिएको थियो । सहयोगको अपिल गरेको भोलिपल्ट एक ट्रक बराबरको सामग्री जम्मा पारी रेड क्रसेन्टको सहकार्यमा एयर अरेबियामार्फत नेपाल पठाइएको छ । यो अभियान एक हप्तासम्म नियमित चल्ने काउन्सिलका कोषाध्यक्ष एकेन्द्र थापाले बताएका छन् । यस अभियानमा नेपालीका साथसाथै भारतीय, पाकिस्तानी, सिंगापुर, बंग्लादेशी नागरिकहरुले पनि सहयोग गरेको व्यावसायी दीपा पाण्डेले जानकारी दिएकी छिन् ।

सहयोगी हातहरु जुट्दै
भूकम्पपीडितहरुको राहत संकलनमा स्वस्फुर्त सहयोग जुटेको छ । विभिन्न कम्पनीमा कार्यरत नेपालीहरुले आफ्नो कम्पनीमार्फत राहत सामग्री संकलन गरी बुझाउन थालेका छन् । दुबईको सत्वामा एक चाइनिज रेस्टुरेन्टमा कार्यरत स्टोर म्यानेजर सन्तोष खाँडले आफ्ना सबै स्टाफहरुको एक दिन बराबरको तलब भूकम्प पीडितहरुको उद्धारका लागि छुट्याएको बताए । उक्त रकमबाट तीन बोरा नयाँ कपडा र ड्राई फुड खरिद गरी दुबईमा जम्मा गरी नेपाल पठाएका छन् । ‘सन्तोष त एक प्रतिनिधि पात्र मात्र हुन्’, युवा व्यावसायी विदुर राउतले भने, ‘भूकम्पको प्रभावमा परी भोकभोकै रोएका नेपालीहरुको सहयोगका लागि स्वस्फूर्त रुपमा धेरै नेपालीहरुले सहयोग जम्मा गरेका छन् ।’
दूताबासमा श्रद्धान्जली सभा
भूकम्पमा परी अकालमा ज्यान गुमाउनेहरुको चीर शान्तिको कामना गर्दै नेपाली दूतावास परिसरमा एक श्रद्धान्जली सभा गत १ मे मा गरिएको छ । मृतक आत्माहरुको समरण गर्दै एनआरएन यूएईको संयोजनमा एक मिनेट मौनधारण समेत गरियो । सभामा यूएईमा क्रियाशील जातीय, राजनीतिक र जिल्लास्तरीय संघसंस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति थियो ।

shradanjali in embassey
रेस्टुरेन्टको फाइदा भूकम्पपीडितलाई
अबुधाबीमा सञ्चालित नेपाल प्यालेस रेस्टुरेन्टको एक साताको सम्पूर्ण आम्दानी भूकम्प पीडितहरुलाई दिने व्यावसायी रामभुवन चौधरीले घोषणा गरेका छन् । अबुधाबीको मुटुमै रहेको अति व्यस्त रेस्टुरेन्टको गत अपि्रल २६ देखि मे २ तारिखसम्मको सम्पूर्ण आम्दानी राहत स्वरुप दिने चौधरीले बताएका हुन् । हरेक दिन १५ हजार दिराम्स बराबरको कारोबार हुने उक्त रेस्टुरेन्टको एक दिनको औसत कमाइ ५ हजार दिराम्स हुने र एक साता बराबर ३५ हजार दिराम्स बराबरको सहयोग लिएर आगामी बिहीबार आफैं नेपाल गई वितरण गर्ने चौधरीले बताएका छन् । चौधरी कार्यरत बीएमडब्लु कम्पनीबाट पनि सहयोग संकलन गरी उनको नेतृत्वमा करिब ५० लाख नेपाली रुपैयाँ बराबरको राहत सामग्री तथा खाद्यान्न वितरण गर्ने बताइएको छ ।
दुबईमा सञ्चालित सिल्भर स्पुन नेपाली रेस्टुरेन्टकी सञ्चालिका दीपा पाण्डेले पनि आफ्नो कमाइको २५ प्रतिशत रकम समाजसेवामा खर्चिने बताएकी छिन् ।
राहतभन्दा प्रचार बढी
भूकम्पपीडितहरुको राहत संकलनमा हल्ला बढी भएको जनगुनासो बढ्दै गएको छ । हाम्रो संस्थाले यति राहत संकलन गर्यो है, समाचार लेखिदिनुप्यो भन्ने फोन आएको नाम उल्लेख नगर्ने सर्तमा एक सञ्चारकर्मीले बताए । आफूलाई समाजसेवी बताउनेहरुले फेसबुकमा सङ्कलित राहत बक्ससहितको फोटो धमाधम अपलोड गरेबाट पनि राहतभन्दा प्रचार बढी भएको देख्न सकिन्छ ।
यसैबीच प्रवासी नेपाली मञ्चले प्रधानमन्त्री राहत कोषमा २ लाख ५० हजार नेपाली रुपैयाँ जम्मा गरेको छ । धेरै जिल्ला तथा जातिय संस्थाहरुले छुट्टाछुट्टै राहत सङ्कलन गरिरहेका छन् । प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम वास्तविक पीडितसमक्ष नपुग्ने र उक्त पैसामा राजनीति हुने भन्दै गोरखा, स्याङ्जा, धादिङ लगायतका जिल्लास्तरीय संस्थाहरुले जिन्सीका साथै नगद समेत संकलन गरिरहेका छन् । एनआरएनले भने खाडी मुलुकमा बिना अनुमति रकम संकलन गर्नु गैरकानुनी हुने भन्दै आर्थिक रकम संकलन नगरेको अध्यक्ष कृष्ण भुसालले बताएका छन् ।

एक्सचेन्जमा सेवा शुल्क फ्रि
यहाँस्थित विभिन्न एक्सचेन्ज कम्पनीहरुले नेपालमा पैसा पठाउन लाग्ने सेवा शुल्क निशुल्क गरेका छन् । अल अहालिया एक्चेन्जले सबैभन्दा पहिला प्रधानमन्त्री राहत कोषमा पठाउने रकममा सेवा शुल्क निशुल्क गरेको जानकारी अल अहालियाका नेपाल प्रतिनिधि बेनीबहादुर कार्कीले बताए । अल अहालिया एक्सचेन्जले निश्चित समयको लागि सर्बसाधारणलाई पनि निःशुल्क पैसा पठाउने सेवा दिएको कार्कीले बताए । उक्त एक्चेन्जले रेट पनि अरुभन्दा धेरै दिने बताइएको छ ।
त्यसरी नै भूकम्पकै कारण सबै नेपालीहरुलाई पैसा पठाउन सहज होस् भनी यूएई एक्सचेन्ज, हबिब एक्सचेन्ज, जोयआलुकास एक्सचेन्ज र अल अन्सारी एक्सचेन्जले एक महिनासम्म सर्भिस चार्ज निःशुल्क गरेका छन् । यहाँस्थित एक्सचेन्जहरुले ५० हजार नेपाली रुपैयाँसम्म १५ दिराम्स र त्योभन्दा माथिको रकमका लाथि २० दिराम्ससम्म सर्भिस चार्ज लिने गरेका थिए । भूकम्पका कारण सेवाग्राहीलाई राहत पुगोस् भनी अभियान चलाइएको हबिब एक्सचेन्जका नेपाल कोअर्डिनेटर दीलिप प्रसाईले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री