आइतबार, मंसिर २ २०७५ | Sun, November 18, 2018
नेपालको समय: १३:५१ | UK Time: 08:06

राष्ट्रिय विपतलाई राष्ट्रिय शक्तिमा परिणत गर्ने योजना

विनेपाली
२०७२ वैशाख २३ गते १२:१२
surya subedi

प्रा डा सूर्य सुवेदी

नेपालमा गएको महाभुकम्पले ल्याएको क्षतिप्रति नेपालभित्र रहेका नेपाली मात्र नभै संसारभरि छरिएका नेपाली र नेपाललाई माया गर्ने सारा अन्तर्राष्ट्रिय समुदायलाई मर्माहत बनाएको छ । देशबाहिर रहेका सारा नेपाली नेपाललाई सहायता गर्न संगठित भएका छन् र जुर्मुराएका छन् । गत हप्ता लण्डनमा भएको एक नेपाली प्राज्ञिक भेलामा मात्रै झण्डै डेढकरोड रुपियाँ नेपालमा सहयोगका लागि जुट्यो । म लगायतका धेरैले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्यौँ र त्यो मध्येको धेरै रकम नेपाल पठाउने क्रम शुरु भइसकेको छ । बेलायतमा चर्चित नेपालकी शुभेच्छुक जोअना लुम्लेले नेतृत्व गरको राष्ट्रिय अभियानले झण्डै ३४ मिलियन पाउण्ड उठाइसकेको छ । मेरो छोराले काम गर्ने लण्डनको एक वित्तीय संस्थाले मात्रै पचास हजार पाउण्ड चन्दा दियो । नेपाल र नेपालीप्रतिको अन्तर्राष्ट्रिय सदभाव र सहयोगका इच्छाका यी केही उदाहरण मात्र हुन् ।
बेलायतमा धेरै विश्वविद्यालय, विद्यालय, सामाजिक संस्था, कम्पनीहरुमा बेलायतीहरुले आफैँले, नेपालीहरुले र बेलायती र नेपालीहरुले मिलेर नेपाललाई सहयोग जुटाउने अभियान चलेको छ । यस्तै अभियान संसारभरी चलेको जानकारी संसारभरि छरिएका स्वदेशी र विदेशी मित्रहरुबाट मैले पाएको चिठीपत्रहरुले बताएका छन् ।
नेपालको राष्ट्रिय विपतलाई राष्ट्रिय अठोट र अन्तर्राष्ट्रिय सहयोगले राष्ट्रिय पुनर्निर्माण र राष्टिय शक्तिका रुपमा परिणत गर्ने यो एउटा मौका हो । तत्काल राहत पुर्याउने र दीर्घकालिन राष्ट्रिय पुननिर्माणको योजना तर्जुमा गरेर विश्वसमक्ष प्रस्तुत गर्ने यो एउटा मौका हो । त्यसका लागि नेपालले तत्काल गर्ने कुराहरु निम्न छन् ।

१) राष्ट्रिय संकटको घडीमा नेपाली जनता र दलहरुबीच एकता छ र त्यो एकताको अठोट नेपालमा सुशासन अभिवृद्धि, संविधान लेखन र राष्ट्रिय पुनर्निर्माणमा उपयोग गरिनेछ भन्ने सन्देश प्रवाह गर्ने ।

२) राष्ट्रिय राहत र पुनर्निर्माणमा अहिलेका राजनीतिक नेतृत्वले गतिलो भूमिका निर्वाह गर्न सक्ने वा नसक्ने बारे राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा आशंका उठेका छन् र खासगरी हाइटी र अन्य देशमा जस्तै राष्ट्रका जनताका नाममा देश विदेशबाट उठेको रकमको दुरुपयोग हुन्छ कि भन्ने आशंका छ । त्यो आशंका निवारण गर्न देशभित्रको नागरिक समाजका केही प्रबुद्ध व्यक्ति र विदेशमा क्षमता भएका केही प्रवुद्ध वर्गको प्रतिनिधित्व भएको राष्ट्रिय उद्धार र पुनर्निर्माण कोष गठन गर्ने । त्यस्तो कोष सरकारको नेतृत्व गर्ने, प्रधानमन्त्रीकै अध्यक्षतामा गर्ने र केही प्रमुख मन्त्रीहरुलाई पनि समावेश गर्ने । सरकारी क्षमता र दुरुपयोगको राष्ट्रिय र अन्तर्राष्ट्रिय आशंकालाई सम्बोधन गर्न माथि भनिए बमोजिमको प्रतिनिधित्व भएमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा एउटा बेग्लै सन्देश प्रवाह हुने छ । बेलायतमा जोअना लुम्लेजस्ता नागरिक समाजका व्यक्ति अगुवा भएकोले यति धेरै चन्दा उठेको र चन्दा अभियानप्रति जनताको विश्वास भएको हो । नेपालले पनि त्यस्तै गर्नसक्छ ।

३) नेपालप्रति अन्तर्राष्ट्रिय समुदायको अत्यन्तै ठूलो माया, सरोकार र सहयोगको भावना छ । त्यसलाई नेपालको पुनर्निर्माणमा उपयोगमा ल्याउनका लागि एउटा अन्तर्राष्ट्रिय स्तरको नेपाल सरकार, नेपाली नागरिक समाज र नेपाल बाहिर रहेका नेपाललाई संसारमा परिचय गराउन सक्ने क्षमता र हैसियत भएका व्यक्तिहरु समावेश भएको समिति गठन गरी योजनावद्ध तरिकाले अन्तर्राष्ट्रिय सहयोग जुटाउन लागि परेमा संसारका धेरै देशका सरकारहरु, राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरु, वित्तीय संस्थाहरु, संसारका धनाढ्य व्यक्तिहरुबाट नेपाललाई ठूलो सहयोग जुटाउन सकिने मेरो विश्वास छ र त्यसका लागि आफ्नो भूमिका निर्वाह गर्न म तयार छु । ब्रिटेन नेपाल मेडिकल ट्रष्टको एक अध्यक्षको नाताले र एनआरएनए युकेको संरक्षकको नाताले यी संस्थाहरुमार्फत सहयोग जुटाउन म लागि परेको छु र उल्लेख्य रकम उठिसकेको पनि छ । तर अन्तर्राष्ट्रिय रुपमा र बृहत स्तरमा यो अभियानमा लान सकिन्छ भन्ने मेरो योजना र विश्वास छ ।

४) देशभित्र राजनीतिक संरचना राम्रो नभै र सुशासनका प्रत्याभूति नभई अन्तर्राष्ट्रिय समुदायको सहयोगले मात्र देश बन्दैन । नेपालमा राजनीतिक संक्रमण अनावश्यक रुपले लम्बिएको छ । भ्रष्टाचार मौलाएको छ र राजनीतिक नेतृत्व असक्षम देखिएको छ । राष्ट्रिय संकटको घडीमा राजनीतिक नेतृत्वले सक्षम, सशक्त र स्वच्छ नेतृत्व दिन सकेन भने जनताले विद्रोह गर्ने संभावना त्यतिकै छ । त्यसो भएमा त्यस्ले लोकतन्त्रको भविष्यलाई र लोकतन्त्रलाई संस्थागत गर्ने कार्यलाई अस्तब्यस्त पार्न सक्छ । तसर्थ, नेपालका राजनीतिक नेतृत्वले आफ्ना संकीर्ण दलीय अडानलाई त्यागेर राष्ट्रिय हितमा निर्णय गर्ने समय आएको छ । त्यसका लागि अहिलेको भैरहेको १४ अंचल र ७५ जिल्लालाई नै अधिकतम भन्दा अधिकतम शक्ति विकेन्द्रीकरण गरी अधिकार सम्पन्न गराएमा त्यसले नै संघीयताको उद्देश्य पूरा गर्ने छ । नेपालमा १४ प्रदेश र ७५ उपप्रदेश अहिलेकै संरचनाभित्र बनाउनु नै उत्तम छ । राज्य पुनसंरचना गर्ने भनेको देश टुक्रा टुक्रा पार्ने होइन । राजनीतिक संस्कारमा, शासन पद्दतिमा र शक्तिको बाडफाँडमा राज्य पुनसंरचना गर्नु हो । त्यो नै नेपालको आवश्यकता हो ।

५) नेपालमा एकपटक पाण्डोराको बक्स खोलिसकियो र यसले अनगिन्ती समस्याहरु ल्यायो । मेरो राष्ट्रिय, अन्तर्राष्ट्रिय अनुभवका आधारमा यस्तो पाण्डोराको बक्स नखोल्न व्यक्तिगत र मिडियामार्फत धेरै वर्षअघि आग्रह गरेको थिएँ । अब संघीयताका नाममा फेरि अर्को पाण्डोराको बक्स नखोल्न म सबै नेतालाई आग्रह गर्दछु । नेपालमा संघीयता र पहिचान चाहिएको छ तर त्यो जनतालाई अधिकार सम्पन्न गराउनका लागि हो र त्यो राज्यशक्तिको उचित बाडफाँड र अधिकतम भन्दा अधिकतम विकेन्द्रीकरण गरेर हासिल गर्न सकिने कुरा हो ।

६) अन्त्यमा, राजनीतिक मुद्दामा अझै अल्झिने समय छैन । राष्ट्रिय विपतलाई राष्ट्रिय शक्तिमा र राष्ट्र पुनर्निर्माणमा उपयोग गर्नका लागि राष्ट्रका सबै दल, तप्का, वर्ग र समुदायले एउटा प्रतिज्ञा गर्नुपर्ने समय आएको छ ।
अस्तु ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक