नेपाली मूलका कैनी बने बेलायतमा काउन्सिलर

B Kaini

लण्डन । नेपाली मूलका बच्चुकैलाश कैनी बेलायतको डार्टफोर्ड काउन्सिलको काउन्सिलर पदमा निर्वाचित भएका छन् ।

काउन्सिलको बिहीबार सम्पन्न निर्वाचनमा लेबोर पार्टीका तर्फबाट काउन्सिलरका उम्मेदवार रहेका कैनीले विजय हात पारेका हुन् ।

काउन्सिलका अनुसार जोइस ग्रीन वार्डबाट उम्मेदवार रहेका कैनीले ८४६ मत पाएका थिए । सोही वार्डबाट लेबोरकै उम्मेदवार मार्क आण्ड्रयु म्याडिसन पनि निर्वाचित भएका छन् ।

सो वडामा कन्जरभेटिभ पार्टीका उम्मेदवार तेस्रो र युकिपका उम्मेदवार चौथो स्थानमा चित्त बुझाउन बाध्य भए ।

काउन्सिलको कुल निर्वाचनमा कन्जरभेटिभले वर्चस्व जमाएको छ । कन्जरभेटिभले ३४, लेबोरले ७ र बाँकी ३ स्थान अन्यले अोगटेका छन् ।

 

तनहुँ घाँसीकुवा ३ कमलबारीमा जन्मेका कैनी विगत १० वर्षदेखि बेलायतमा बस्दै आएका छन् । लण्डनको स्थानीय अस्पतालमा म्यानेजर रहेका उनी सन् २००९ देखि लेबोर पार्टीमा आवद्ध रहेका छन् । उनी ग्रीनिच युनिभर्सिटीमा विद्धावारिधि पनि गर्दैछन् ।

निर्वाचित भएपछि फेसबुकमा उनले आफूलाई विजयी गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

बेलायतमा बिहीबार सम्पन्न अामचुनावसँगै कतिपय स्थानमा स्थानीय चुनाव पनि भएको थियो जसमा उम्मेदवार रहेका नेपाली मूलका व्यक्तिहरुका बारेमा विस्तृत परिणाम आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री