तीन हेलिकप्टर उड्न नदिइएकामा बेलायतको आपत्ति

Chinook_97021429_220266c

लन्डन । भूकम्पपछि उद्दार प्रयोजनले नेपाल पठाइएका तीन ब्रिटिश मिलिट्री हेलिकप्टर (चिनोक) उडानमा अनुमति नदिइएपछि बेलायतले आक्रोश पोखेको छ । नेपालको परराष्ट्र अधिकारीहरुले त्यस्ता हेलिकप्टर ज्यादै ठूला भएका र तिनले उडान भर्दा भूकम्प प्रभावित क्षेत्रका घरमा झन् क्षति पुग्ने चिन्ता व्यक्त गर्दै नेपाल छिर्न रोकेपछि बेलायतको आक्रोश आएको हो । बेलायतले संयुक्त राष्ट्रसंघीय एजेन्सीहरुले सडक नपुगेको दुर्गम गाउंमा उद्दार तथा राहत सामाग्री वितरण गर्न अतिरिक्त हेलिकप्टर आवश्यक रहेको बताएपछि घरमा कुनै असर नपार्ने खालका ति हेलिकप्टर छानिएको प्रष्ट्याएको छ ।

दि रोयल एयर फोर्स (आरएएफ) का तीन हेलिकप्टर गत साता देखि नयां दिल्लीमा छन् । बेलायत सरकारका प्रवक्ताले मंगलबार यसबारे नेपालका अधिकारीहरुसंग वार्ता भइरहेको बताएको दि टाइम्सले छापेको छ । ‘हामीले छलफल गरिरहेका छौं । अझै पनि ति हेलिकप्टर उड्न अनुमति नदिइनु सांच्चिकै निराशाजनक छ’, ति प्रवक्ताको आक्रोश छ ।
बेलायतले पहिलो शक्तिशाली भूकम्प गएको पांच दिनपछि गत अप्रिल ३० मा चिनोक्स् नेपाल पठाउने घोषणा गरेको थियो । करिब ८ दशकपछि गएको उक्त विनाशकारी भूकम्पले ८ हजार बढिको ज्यान लिइसकेको छ भने १७ हजार ८०० जना घाइते भएका अनुमान छ ।

यो पीडाबीच मंगलबार मध्यान्ह गएको ७ दशमलव ३ रेक्टर स्केलको दोश्रो ठूलो भूकम्पले मुलुकभर ५ दर्जन जतिको हताहती र हजारौं घाइते भएका समाचार छ । भूकम्पबाट नेपालमा ८० लाख मानिस प्रत्यक्ष प्रभावित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री