यूकेको स्थानीय निर्वाचनमा दुई पूर्व गोर्खालाई सफलता

Nabin Siwa

काउन्सिलर नविन सिवा

लण्डन । यूकेको हालै सम्पन्न स्थानिय निर्वाचनमा दुई पूर्व गोरखा सैनिकहरुलाई सफलता मिलेको छ ।
यस्तै, एक नेपाली मूलका गैर गोरखा सैनिकले पनि यहाँ काउन्सिलरमा निर्वाचित हुने मौका पाएका छन् ।
प्राप्त विवरण अनुसार पूर्व गोरखा सैनिक नविन कुमार सिवाले फोल्क्स्टोनको सेपवे डिस्ट्रिक्ट काउन्सिलको स्याण्डगेट भ्याली वडाबाट काउन्सिलरको चुनाव जितेका छन् ।
बेलायती सेनामा २४ वर्ष बिताएका सिवाले सत्तारुढ कञ्जरभेटिभ पार्टीका तर्फबाट चुनाव जितेका हुन् । ताप्लेजुङको फुङलिङ बजारमा जन्मिएका सिवा सन् २००२ देखि युकेमा बसोबासरत् छन् ।
फोल्क्स्टोन नेपाली समाज, ताप्लेजुङ समाजका सल्लाहकार रहेका उनी व्यवसायी पनि हुन् । उनीसहित हरि श्रेष्ठ र विष्णु तामाङको लगानीमा सन् २००५ मा स्थापित गोरखा सेक्युरिटी सर्भिसेज यूकेको नेपाली समुदायमा सफल व्यवसायका रुपमा चिनिन्छ ।

काउन्सिलर टासी भुटिया । तस्वीर द टेलिग्राफ

काउन्सिलर टासी भुटिया । तस्वीर द टेलिग्राफ

यसैगरी, मेडवे काउन्सिलको प्रिन्सेस पार्क वार्डबाट पूर्व गोरखा सैनिक टासी भुटियाले पुनः चुनाव जितेका छन् । सत्तारुढ कञ्जरभेटिभ पार्टीका उम्मेदवार रहेका उनले सर्वाधिक मतका साथ चुनाव जितेका हुन् ।

यसअघि सन् २००९ मा पनि उनले सोही वार्डबाट चुनाव जितेका थिए । चाथाममा बस्ने भुटिया कञ्जरभेटिभ पार्टीका तर्फबाट काउन्सिलरको चुनाव जित्ने पहिलो नेपालीमूलका व्यक्ति हुन् ।

यसअघि धन गुरुङले लिवरल डेमोक्र्याटिक पार्टीका तर्फबाट सन् २००७ मा फोल्कस्टोन सेपवे डिस्ट्रिक्ट काउन्सिलबाट चुनाव जितेका थिए । यसपटक पनि काउन्सिलरका उम्मेदवार रहेका गुरुङले सफलता भने हात पार्न सकेनन् ।

Goverdan Silwal

काउन्सिलर गोबर्द्धन सिलवाल सागर

यसैगरी, हार्टफोर्डसियरस्थित डोकोरम बोरो काउन्सिलबाट गोबर्द्धन सिलवालले काउन्सिलरको चुनाव जितेका छन् । ललितपुरमा जन्मिएका सिलवाल विगत १५ वर्षदेखि युकेका बस्दै आइरहेका छन् ।
कञ्जरभेटिभ पार्टीको तर्फबाट ग्रोभहिल वार्डमा उम्मेदवार रहेका उनले १ हजार १४२ मतका साथ चुनाव जितेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी युनाइटेड किंगडम इण्डिपेण्डेन्ट पार्टी (युकिप) का ९९६ मत पाएका थिए । उनको वार्डबाट सबै कञ्जरभेटिभ पार्टीका काउन्सिलर निर्वाचित भएका छन् ।
साहित्य लेखनमा रुचि राख्ने सिलवालको साहित्यिक उपनाम सागर हो ।
यसअघि डार्टफोर्ड काउन्सिलमा नेपाली मूलका बच्चुकैलाश कैनीले लेबोर पार्टीका तर्फबाट काउन्सिलरको चुनाव जितिसकेका छन् ।
यसपटक स्थानिय निर्वाचनमा उम्मेदवार रहेका कप्रसाद छन्त्याल, चन्द्रावती राई, दावा शेर्पा लगायतले भने चुनाव जित्न सकेनन् ।

यसअघि मेट्रोन काउन्सिलमा पूर्व गोरखा सैनिक गमबहादुर गुरुङले काउन्सिलरको चुनाव जितेका थिए । उनी पदमा रहँदारहँदै क्यान्सर रोगबाट बिते । अर्का पूर्व गोरखा सैनिक विष्णुबहादुर गुरुङ हाउन्स्लो काउन्सिलमा उपमेयर छन् । अर्का नेपालीमूलका डा जगन्नाथ शर्मा पौड्याल नर्थ योर्कसायरको कोलवर्न काउन्सिलमा उपमेयर छन् ।

केही वर्षयता बेलायतको राजनीतिमा नेपाली मूलका बेलायतीहरुको सहभागिता बाक्लिन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री