भूकम्प पीडितलाई राहत उठाउँदै मनाइयो बेलायतमा साकेला

Kirat Rai6
लण्डन । बेलायतको वकिङ नजिकै किरात राईहरुको आफ्नै भूमि ग्याम्बलस लेन, रिप्लेमा अवस्थित माङखिम तथा साकेलास्थल किरात राई घरमा उभौली (यालेदोङ ५०७५) साकेला युकेका किराता राईहरुले फरक ढंगले मनाए ।
कार्यक्रममा कुनै व्यानर र सजावटहरु थिएनन् । कसैले अतिथि आयोजकको व्याजहरु लगाएका थिएनन् । पाहुनालाई खादाले स्वागत गरिएको थियो र मुख्य मन्चमा थियो भूकम्पले प्रभावित नेपालको दर्दनाक तस्वीरहरु र सँगै आह्वान गरिएको थियो सहयोगका लागि ।
कार्यक्रमको प्रारम्भ भूकम्पमा परी अकालमै मृत्यु हुनेहरुको चिरशान्तिको कामना गर्दै उपस्थितहरुबाट दिप प्रज्वलनबाट गरिएको थियो साथमा किराती धामीले सबैलाई परम्परा अनुसार चोख्याउने कार्य गरेका थिए ।

कार्यक्रमको दोस्रो भागमा किरात राईहरु भूमि पुत्र अनि प्रकृतिको पूजक भएको हुंदा साकेलाको पूजा र यो संकटकाल फेरि नदोहोरियोस् भनी किरात धामीबाट शिली भुमे पूजा विधिपुर्वक सम्पन्न गरी अन्तमा आर्थिक राहत संकलनको कार्य दिनभर गरिएको थियो ।
विगतमा साकेला सिली प्रतियोगिता अनि उभौली धुमधामसंग मनाए पनि यो वर्ष त्यस्तो नभएको र पूजा आराधनामा मात्र सीमित रहेको साकेला उभौली कोर्डिनेटर तथा संघका उपध्यक्ष चन्द्रबहादुर राईले बताए ।

किराँती धामी (नाछोङ) किताबसेर राईले टाउकोमा सेतो फेटा लगाई सुम्निमा–पारुहाङ्गको तस्विर, ढोल र झ्याम्टासहित सेउलीको थानमा उभौली भूमिपूजा गरी थान वरिपरि नाचेर विधि अनुरुप कार्यक्रमको सुरुवात गरेका थिए । कार्यक्रममा गिल्डफोर्ड बोरो काउन्सिलकी डेपुटी मेयर निकी नेल्सन स्मिथ, किराँत राई यायोक्खा सल्लाहकार तथा पूर्व अध्यक्ष प्राध्यापक श्रीमती सुमाया राई, ग्रेटर रसमोर नेपाली समाजका अध्यक्ष रिटायर्ड मेजर टिकेन्द्रदल देवान जेपी, रेडियो बिजिडब्लुएसका निर्देशक रिटायर्ड मेजर सोनाम सेर्पा, किराँत सुनुवार सेवा समाज बेलायतका सल्लाहकार तथा पूर्व अध्यक्ष जंग सुनुवार, तमुधीँ युकेका अध्यक्ष रामचन्द्र गुरुङ र क्यानाडाबाट धनकेशर राई अतिथि थिए ।

sakela_1
यो चाड गाउँघरका बूढापाकाहरु साथै केटाकेटीहरु ढोल झ्याम्टा निकालेर झन्डै १५ दिनसम्म मनाइन्छ । खेतीपाती लगाउने समय भएकोले अन्नवाली वा उव्जनी बढोस्, आँधीबरी, असिना नआइदियोस्,अन्नबालीमा रोग नलागोस् भनी सुम्निमा र पारुहाङ्गसँग बल र शक्तिको आर्शीवाद माग्दै कुखुराको भाले बली दिएर भूमि पुज्ने चलन चलिआएको पाइन्छ । बालबालिका,बृद्ध सबै आपसमा गोलो घेरा लगाएर विभिन्न जनावर,चराचुरुङ्गीहरुको नक्कल गदै साकेला नाच शिली नाच्ने गरिन्छ । विशेष चौँरीको पुच्छर (पोमी) र र्छिलिङ (सिलिमा) नाचको मुल्की (सिलीमोपा) ले प्रयोग गर्दछ ।

नाचमा सहभागी पुरुषहरुको पोशाक खाडीको दौरा सुरुवाल, कोट र ढाका टोपी, विनायो, र्मुचुङगा,लिम्चिङबुङ,मयूर र लुईचेको प्वाँख हुने गर्दछ भने महिलाले छिटको गुन्यु, ढाकाको पछ्यौरी, मखमल वा ढाकाको चोलो र सेतो पटुकी लगाई ढुङग्री,मुन्द्री, बुलाकी,हारी, सिक्काको माला जस्ता गरगहना लगाउने चलन छ ।

उभौली र उधौली किराँत समुदायले वर्षमा दुईपटक मनाउने गर्छन् । साकेला उभौली बाली लगाउने बेलामा बैशाख पूर्णिमाको दिन र उधौली बाली उठाउने बेला मंङसिर पूर्णिमाको छेकमा मनाउने गरिन्छ । किराँतहरुको मुन्धुम अनुसार वर्षलाई उभौली र उधौली गरी दुई भागमा बाँडिन्छ । उभौली र उधौली किराँत समुदायको मुख्य चाड हो । याक्खाले चासुवा, सुनुवारले फोलफ्यादर, लिम्बुले चासोक तङनाम र राईहरुले उभौलीलाई साकेला र उधौलीलाई छौवा भन्ने गर्छन् ।

६ करोड नेपाली रुपैयाको लागत र १४७ रोपनी रहेको आफनै भूमि माङखिम तथा साकेला स्थलमा पहिलो पटक राईहरुले साकेला सम्पन्न गरेका हुन् । सो ठाउँमा माङखिम मुलघर, (पूजाघर) निर्माण कार्य यसै वर्ष सुरुवात गरिने योजना भएकोले भूमिपूजा गर्नै पर्ने बाध्यता रहेको र नेपालको हालको स्थिति शोकाकुल रहेका कारण फरक ढ‌ंगले यसपटक साकेला मनाइएको संघका अध्यक्ष पदम राईले जानकारी दिए ।
भूकम्प पिडितहरुका लागि करिब ६ लाख नेपाली रुपैयाँ राहत सो दिन संकलन गरिएको जानकारी संघका कोषाध्यक्ष डम्बर राईले दिए । त्यो भन्दा अगावै संकलन भइसकेको हालसम्ममा राई यायोक्खा बेलायतले करिब ३१ लाख नेपाली रुपैयाँ उठाइसकेको अध्यक्ष राईले बताए ।

Kirat Rai2

प्रतिक्रिया

सम्बन्धित सामाग्री