सगरमाथा तेक्वान्दोले नेपालमा स्पोर्टस् सेन्टर बनाइदिने

फण्ड रेजमा डोजांग

फण्ड रेजमा डोजांग

लन्डन । बेलायतमा सबैभन्दा धेरै शाखा स्थापना गरेर विद्यार्थीलाई तेक्वान्दो प्रशिक्षण गराउंदै आएको नेपालीको पुरानो डोजाङ सगरमाथा तेक्वान्दो डोजाङले नेपालमा स्पोर्टस् सेन्टर बनाइदिने भएको छ । भूकम्प प्रभावित कुनै एक क्षेत्रमा सुविधासम्पन्न स्पोर्टस् सेन्टर बनाउने निर्णय भएको सगरमाथा डोजाङका संस्थापक मास्टर राष्ट्र राईले जनाएका छन् । सगरमाथाले प्रिडेटर तेक्वान्दोसंग मिलेर यस्तो काम गर्न लागेको हो ।

यस प्रोजेक्टका लागि यी दुई क्लवले फण्ड रेज अभियान थालिसकेका छन् । गत सप्ताहन्तमा डोजाङ आवद्ध विद्यार्थीले खेल प्रदर्शन गरि करिब एक हजार पाउण्ड संकलन गरे । यसबाहेक रोयल स्कुल मिलिट्री इन्जिनियरिङ रेजिमेन्ट जिम स्टाफबाट पनि एकहजार दुई सय १२ पाउण्ड संकलन भएको छ । मास्टर राईले बेलायती जनताले आफ्नो अभियानमा उत्साहजनक सहभागिता जनाएको उल्लेख गरे ।

प्रोजेक्ट सफल बनाउन सगरमाथा र प्रिडेटर तेक्वान्दोले संयुक्त रुपमा आगामी जुन २१ मा अल्डरसटस्थित ग्यारिसन स्पोर्टस् सेन्टरमा तेक्वान्दो फ्रेण्डसीप डे मनाउने भएका छन् । उक्त दिनको मुख्य उद्देश्य कोषअभिवृद्धिसहित बेलायती र नेपाली खेलाडीबीचको सम्वन्ध अरु प्रगाढ बनाउनु रहेको राईले बताए । 
सांस्कृतिक तथा तेक्वान्दो खेल प्रदर्शन गरिने उक्त दिन कार्यक्रममा सहभागी भएर आफ्नो अभियानमा साथ दिन आयोजकले आग्रह गरेका छन् ।

६ पटक चुङ डो क्वान नेशनल च्याम्पियसनसीप सगरमाथाले नेपालको विपत्तिमा यसअघि पनि सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री