कायमै छ आधुनिक दास प्रथा

 

1510564_10202335337292134_644664911_n

आइएलओको परिभाषा अनुसार कसैलाई उम्कन नदिने परिबन्ध भित्र तलव नदिइ काममा लगाउनु दास बनाउनु हुन्छ । नेपालमा चन्द्र शंशेरले दास उन्मुलनको घोषणा गरेका थिए । अमेरिकामा अब्राहम लिंकनले दास प्रथाको उन्मुलन गरेका हुन् । बेलायतमा स्लेभ ट्रेड एक्ट अफ १८०७ (सन्) द्वारा दास उन्मुलन गरिएको मानिन्छ । तर, संसारका कुना काप्चाबाट दासहरु विकसित मानिएका देशमा झनपछि झन थपिँदै छन् । ती मध्ये नेपाली मुलका दासहरुको संख्या पनि कम छैन् ।

त्यो उन्मुलन भएको भनिएको प्रथा परम्परागत दास प्रथा हो र आधुनिक दास प्रथा कायम छ । विश्व भूमण्डलीकरणले आधुनिक दास प्रथा र मजदुरका रुपमा दास बनाएर किनबेच गर्ने तथा संसारको एक ठाउँबाट अर्को ठाँउमा पुर्याउने नयाँ स्वरुप सिर्जना गरेको छ । आधुनिक प्रविधि, यातायातको विकास तथा विज्ञानका सकारात्मक पक्षको टुकी मुनिको अध्यारो हो, आधुनिक दास प्रथा । बैदेशिक रोजगारीका क्रममा दास बन्नु पर्ने नेपालीको विवसता वेलावखत उजागर हुँदै गएका छन् । अरव लगायत विदेशमा दास बनेर पराइको सेवा गर्दागर्दै ज्यान गएका पाठकका आँखा रसाउने घटनाहरु पटक–पटक प्रकाशित हुने गर्दछन् ।

विश्वमा अव फेरि अर्को अलाउदाह इक्वेइनो (Olaudah Equiano) को आवस्यकता परेको छ । साहित्यमा उनको पुनर्जन्म हुनुपरेको छ । लेखकहरुको ध्यान यो मर्म प्रति तानिनु परेको छ । कविहरुको सोच आधुनकि दास उन्मुलनको आवाज घन्काउने आँधिवेहरी सिर्जना गर्ने दिशामा मोडिन परेको छ । श्रष्टाहरु दास उन्मुलनका लागि जागरण फैलाउने कदममा कदम मिलाउन लागि पर्ने बेला आएको छ ।

सन् १७४५ मा जन्मेका इक्वेइनो एक दास थिए । उनलाई बालक अवस्थामा नै अपहरण गरेर बेचिएपछि उनी दास भए । तर, उनले अवसरलाई सदुपयोग गरेकाले पढ्न लेख्न जान्ने भएका थिए । उनले दासत्वका पीडालाई आफ्नो आत्मकथाका रुपमा पुस्तक बनाए । उनको “दी इन्टरेस्टिङ न्यारेटिभ अफ द लाइफ अफ अलाउदाह इक्वेइनो अर गुस्टाभास भासा, द अफ्रिका” नामको आत्मकथा सन् १७८९ मा पहिलो पटक प्रकाशित भयो । त्यसपछि त्यो पुस्तक त्यस वेलाको सवै भन्दा बढी विक्री भएको पुस्तक बन्यो र लगातार थुप्रै संस्करणहरु प्रकाशित भए ।

उक्त पुस्तकले गर्दा बेलायतमा दास प्रथा उन्मुलनको विषयमा छलफल र वादविवाद चर्कियो । अन्त्यमा बेलायतका कानून निमार्ता अर्थात विधायकहरुको मन उनले पुस्तकमा उल्लेख गरेका दासका पीडाहरुबाट प्रभावित भए र स्लेभ ट्रेड एक्ट अफ १८०७ द्वारा बेलायतमा दास प्रथा उन्मुलन गरियो ।

खास गरेर नेपालका यूवा जगत विदेशिने लोभमा आफ्नो हरेक परिश्रमलाई विदेश जाने भूमिका तयार पार्नमा खर्चने गरेका हुन्छन्, आजभोलि । आज भन्दा पन्ध्र बीश वर्ष पहिलासम्म पनि अवस्था यस्तो थिएन् । विदेशिने लोभमा रुमल्लिनेहरु त्यति वेला पनि हुन्थे तर सवै यूवाले विदेशीने लोभ बोकेका हुन्थेनन् । तर विदेशको रमझम भित्र रमाइला पक्ष थोरै छन् वरु पीडा बोकेका दासका कथाहरु प्रशस्त छन् ।

विद्यार्थीले बीस घन्टा भन्दा वढी काम गर्नु गैर कानूनी हुन्छ । तर, गैरकानूनी काम गरेको पोल खुलेको खण्डमा अर्को वर्षको कोर्ष पढ्नका लागि थप्नु पर्ने भिसा नथपिने हो कि भन्ने डर मान्दै काम गरेर कमाएको पैसा कलेजमा तिरेपछि मात्र भिसा थपिने । यो देशबाट उम्कने परिस्थिति पनि छैन् । गैर कानूनी कामको तलव बुझेको भए पनि आफ्नो लागि तलव छैन् । बीस घण्टा मात्र काम गरे कोठा भाडा मात्र तिर्न पनि पुग्दैन । बेलायतीहरुलाई श्रमिक चाहिएकोले विद्यार्थीबाट काम गराउने र गैरकानूनी काम गरेको भन्ने खतराको खुकुरी घाँटीमा तेस्राएर दास वनाउने यहाको परिपाटी पनि छ । त्यसैले यो परिवन्ध आधुनिक दास वनाउने परिवन्ध हो ।

राम्रा सपना बुनेर बिदेशमा अझ सम्पन्न देशहरुमा पुगेका दासहरुको संख्या थुप्रै छ । तर, पीडा ब्यक्त गर्दा इज्जत जाला भन्ने डर पनि छ । नेपालका आफन्तहरुले आफ्नो दयनीयता जान्लान भन्ने डर छ ।

अझ कति पय त पन्ध्र लाख रुपैँया तिरेर बेलायत छिरेका छन् । एकदिन बेलायतमा स्थायी बसोवास गर्न पाउने कागज पाउने प्रतिक्षामा दासत्वको समय विताइरहेका छन् । होटल ब्यवसायमा मालिकले कागज मिलाइदेला कि भन्ने आशामा तलव नलिने गरी दास बनेका छन् कतिपय नेपाली ।

हाइली स्किलमा आउने केही नेपाली पनि आधुनिक दासत्वको चपेटामा पिल्सिरहेका छन्, यहाँ । भिसा थप्न र बेलायतको स्थायी बसोबास पाउने आशामा काम गरेर आउने तलव भन्दा वढी ट्याक्स तिर्न नक्कली आम्दानी देखाएर तलव नलिइ बेलायतीहरुको सेवा गरिरहेका दक्ष नेपालीहरु पनि आइएलओको परिभाषामा दास भित्र पर्छन् ।

यो नेपालीको मात्र समस्या होइन यो गरीब देशका जनतालाई धनी देशका जनताले दास बनाइ राखेको विश्वब्यापी समस्या हो ।

Email: [email protected]

प्रतिक्रिया

सम्बन्धित सामाग्री