आकर्षक ब्याज खोज्दा गोर्खाहरुको ४ अर्ब ७२ करोड डुब्यो ?

गोर्खाहरुको साहस र इमान्दारितालाई बेलायती 
राजपरिवार देखि सर्वसाधारण जनतासम्मले उच्च प्रशंसा गर्ने गरेका छन् । तस्विरः अलामी

गोर्खाहरुको साहस र इमान्दारितालाई बेलायती 
राजपरिवार देखि सर्वसाधारण जनतासम्मले उच्च प्रशंसा गर्ने गरेका छन् । तस्विरः अलामी

लन्डन । आकर्षक ब्याज पाउने प्रलोभनमा गोर्खाहरुले एउटा कम्पनीमा ३० मिलियन पाउण्ड (करिब ४ अर्ब ७२ करोड रुपैयां) खन्याएको तथ्य प्रकाशमा आएको छ । बेलायती अखवारहरुले यसबारे एक पछि अर्को समाचार प्रकाशित गरिरहंदा डेली एक्सप्रेसले लन्डनस्थित क्यापिटल वोर्ल्ड मार्केटको मासिक ५ प्रतिशत ब्याज दिने आश्वासनमा गोर्खाहरुले त्यत्ति भारी रकम डुबाएको तथ्य सार्वजनिक गरेको हो ।

ब्रिटिश आर्मी ब्रिगेडका गोर्खाहरु यस्तो प्रलोभनमा फंसेको अखवारको रिपोर्टमा छ ।

प्रहरीले लगानीकर्ता ६० जना गोर्खाहरुको पहिचान गर्दै उनीहरुलाई अगाडि आएर यथार्थ विवरण पेस गर्न अपिल गरिरहेको छ । तर, गोर्खाहरु यसमा बोल्न आनाकानी गरिरहेका छन् । अबको दुई सातासम्म पनि पीडितहरुबाट यथार्थ विवरण नआए सिधै मिलिट्री बेसमै गएर गोर्खा रेजिमेन्ट सदस्यहरुलाई यदि लगानी गरेको हो भने विवरण दिन अपिल गर्ने तयारी भइरहेको अखवारले लेखेको छ ।
चिफ इन्सपेक्टर डेभिड म्यान्लेले गोर्खा र नेपाली समुदायबाट सहयोग चाहिरहेको जनाएका छन् । उनले यदि कसैले लगानी गरेको भए विवरण दिन अपिल गर्दै बरु त्यो गोप्य राखिने बताए ।

प्रहरीले गत मार्चमा कम्पनी सम्वद्ध दश पुरुष र तीन महिलालाई जालसांझी तथा मुद्रा अपचलनको आशंकामा हेरोन टावर लन्डनबाट पक्राउ गरेको थियो । पछि उनीहरु सेप्टेम्बर सम्मका लागि जमानतमा छाडिए । अहिलेसम्म उनीहरुलाई कुनै चार्ज लगाइएको छैन् । प्रहरीले क्यापिटल वोर्ल्ड मार्केटका सबै कम्प्युटर र फाइल भने जफत गरेको छ ।

पत्रिकाका अनुसार, पीडितहरुले 020 7601 6830 वा वैकल्पिक एक्सन फ्रडको फोन नम्बर 0300 123 2040 मा सम्पर्क गर्न सक्नेछन् ।

तर, सिडब्लुएम प्रवक्ताले भने मिडिया आरोपहरुको खण्डन गरेका छन् । उनले नेपाली र गोर्खा समुदायसंग काम गर्न पाउनु सुःखद भएको जनाउंदै गोर्खाहरुप्रतिमात्र लक्षित गरेर उनीहरुलाई प्रलोभनमा पारिएको भन्ने खवरप्रति आपत्ति जनाएका छन् ।

ति प्रवक्ताले प्रहरीलाई यसबारे थप अनुसन्धान गर्न आग्रह गरेको जनाउंदै यस मुद्दामा हालसम्म कसैलाई अभियोग नलगाइएको पनि स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री