सेप ब्लाटर पांचौं पटक फिफा अध्यक्ष

blatter_3031222b

लन्डन । विश्व फुटबलको प्रशासकीय निकाय फिफाको अध्यक्षमा सेप ब्लाटर पांचौं कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । स्वीट्जरल्याण्डमा आयोजित फिफा अधिवेशनमा एकमात्र प्रतिद्वन्द्वी राजकुमार अलि बिन अल हुसेन प्रतिष्पर्धाबाट बाहिरिए पछि ब्लाटर सो संगठनको अध्यक्षमा पुनः निर्वाचित भएका हुन् ।

ब्लाटरका एकमात्र प्रतिद्वन्द्वी जोर्डनका राजकुमार हुसेनले पहिलो चरणको मतदानमा कूल २०९ मतदातामध्ये ७३ मत प्राप्त गरेका
थिए ।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले दुई तिहाइ मत प्राप्त गर्न नसकेमा दोश्रो चरणको मतदान गराउनुपर्ने फिफाको विधान छ । तर, दोश्रो चरणको मतदान हुनुअघि नै राजकुमार अलिले आफूले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेपछि नेतृत्व पुनः ब्लाटरमाथि आएको हो । फिफाका वरिष्ठ अधिकारीहरुको जुरिचमा पक्राउसंगै ७९ वर्षीय ब्लाटरलाई फिफा नेतृत्व छाड्न व्यापक दवाव परेको थियो । तर, उनले कोही व्यक्तिले गल्ती गरेपनि संगठन नै दोषी नभएको जिकिर गर्दै आएका थिए ।

गत बुधबार संयुक्त राज्य अमेरिकाको न्याय मन्त्रालयले फिफाका वरिष्ठ अधिकारीहरु विरुद्ध धोखाधडी तथा मुद्रा अपचलन लगायतका अभियोगहरु दर्ता गरेपछि स्वीस प्रहरीले फिफाका सातजना वरिष्ठ अधिकारीलाई जुरिचमा पक्राउ गरेको थियो ।

अमेरिकी न्याय मन्त्रालयले उनीहरु विरुद्ध गएको दुई दशकभन्दा बढी अवधिमा पन्ध्र करोड डलर भन्दा बढी रकम घुस लिएको तथा भ्रष्टाचार गरेको अभियोग लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री