मगरको सल्लाह खरानीको डल्ला नहोस् : दुत पुन, अध्यक्ष मगर संघ युके

DUT'S PROFILE PHOTO
दुतबहादुर पुन मगर संघ युकेको अध्यक्ष हुनुहुन्छ । तर उनको परिचय यतिमा मात्र सीमित हुँदैन ।  समाजसेवी, पत्रकार, कवि, कथाकार, गीतकार सबै हुन् उनी । उनीसित मगर संघ युकेका गतिविधिका बारेमा गरिएको कुराकानी :
 
 
अध्यक्षज्यू यतिखेर मगर संघ युके के गर्दैछ  ?
 
छोटकरीमा भन्नुपर्दा एकातिर मगर संघ युके नेपालमा गएको महाभूकम्पको लागि चन्दा संकलन गर्दै छौं भने अर्कोतिर बुद्ध नेपाली ओपन कन्सर्टको तयारीमा जुटिराखेका छौं ।
 
नेपालमा गएको महाभूकम्पको लागि चन्दा संकलन गर्नु पर्नेमा मगर संघ युके चुपचाप छ भन्ने आरोप छ नि ? 
 
यो निराधार र असत्त्य कुरो हो । भुकम्प गएको १२ घण्टा भित्रमा मगर संघ युकेले आफ्नो बाह्रै वटा शाखा समितिहरुलाई चन्दा संकलनको लागि निर्देशन दिएको थियो र फलस्वरूप आजको दिनसम्ममा नेपाली २६ लाख रुपियाँभन्दा बढी चन्दा उठेको अबगत गराउन चाहन्छु । 
 
अहिलेसम्ममा त राहत बितरण गरिसक्नु पर्नेमा वितरणको लागि अल्मलिनु भएको त स्वीकार गर्नु हुन्छ ?
 
ठूलो संस्थामा काम गर्दा अलि समय त लाग्छ नै तर यसो भनिरहँदा राहत वितरणमा ढिलो भएको पनि होइन । हामी अल्मलिएको पक्कै होइन । हामी कुरामा भन्दा काममा बिस्वाश लिन्छौं । चन्दा उठ्ने क्रम जारी छ । हतार हतार किन गर्ने ? हामी जे गर्छौं सबै कुरा ठिक गर्छौँ हेर्दै जानु होला । 
 
राहत कहिले र कुन माध्यमबाट वितरण गर्नु हुन्छ ? 
 
मगर संघ युके यो समयमा बुद्ध नेपाली ओपन कन्सर्टको लागि पूर्ब तयारीमा जुटेको छ । बुद्ध नेपाली ओपन कन्सर्ट सनिवार २० जुनको दिनमा सम्पन्न हुने छ । त्यसपछि सम्पूर्ण शाखा समितिका अध्यक्षहरुसंग बैठक बसेर कसरी राहत वितरण गर्ने तथा कुन माध्यमबाट राहत वितरण कार्यक्रम संचालन गर्ने भन्ने बारेमा छलफल गर्ने छौं । त्यसपछि मात्र राहत वितरण कार्यक्रम अगाडी बढ्ने छ । आत्तिनु पर्ने जरुरी मैले देखेको छैन । ढुक्क हुनु होला मगर संघ युकेले भुकम्प पीडित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई दिर्घकालिन योजना पस्कने विचार गरेको छ ।  
 
विश्व मगर महासंघ बेल्जियम र मगर अन्तर्राष्ट्रिय मंचका बारेमा लफडा पनि भैराखेको भन्ने सुनिन्छ नि ? 
विश्व मगर महासंघ बेल्जियम र मगर अन्तर्राष्ट्रिय मंच, फरक फरक संस्थाहरु भए पनि दुवैको उद्देस्य भनेको संसारभरि छरिएर बस्नु भएका मगरहरुलाई एकै थलोमा उभ्याउनु र मगरहरुको तथा नेपालीहरुको हकहित, अधिकार, संस्कृति र पहिचानको लागि केही गर्न सकिन्छ कि भनेर खोलिएको संस्था हो । जहाँसम्म लफडाको कुरो उठाउनु भएको छ जसमा संस्थाभन्दा व्यक्ति हाबी हुन गएको कारणले यो लफडा शुरु भएको छ । एउटा अभिभावकको हैसियतले नेपाल मगर संघले यो लफडालाई जति सक्दो चांडो सल्टाउनु तथा निर्मुल पार्नुपर्छ ।
 
मगर संघ युके अन्तर्राष्ट्रिय मगर मंचको संयोजक हो भनिएको छ वास्तविकता के हो ?  
 
मगर संघ युके अन्तर्राष्ट्रिय मगर मंचको संयोजक संस्था हो भनेर हामीले पनि सुनेको हो तर हामीलाई नेपाल मगर संघबाट आधिकारिक पत्र प्राप्त भएको छैन । नेपाल मगर संघले २०७१ फाल्गुन १५, १६ र १७ गते मगर दिवसको समयमा मगर अन्तर्राष्ट्रिय मंच गठन गर्नको लागि प्रतिनिधि, पर्यबेक्षक र आर्थिक सहयोग सम्बन्धमा आधिकारिक पत्र आएको थियो सोही अनुरुप मगर संघ युकेले मगर अन्तर्राष्ट्रिय मंच गठन गर्नको लागि प्रतिनिधि, पर्यबेक्षक र आर्थिक सहयोग पठाएको थियो तर पटकपटक पत्रचार गरी मगर अन्तर्राष्ट्रिय मंच गठन गरको बैठकको माइन्युट र कार्यविधि पत्र मगाउँदा पनि आजसम्म प्राप्त भएको छैन । कार्यविधि प्राप्त भएको थियो तर पढ्न नसकिने अवस्थामा थियो र पुन: मगाएका छौं तर आजसम्म प्राप्त भएको छैन । अब त आश पनि मरिसक्यो  ।  मगर संघ युकेलाई अब कसरी अगाडि बढ्ने नैतिक संकट छ । मगर संघ युके मगर अन्तर्राष्ट्रिय मंचको संयोजक संस्था हो भनेर मुखले भन्ने तर आधिकारिक पत्र पठाउन नसक्ने । नेपाल मगर संघको यो ढुलमुले नीतिले मगर संघ युके साँच्चिकै दोधारमा तथा अन्योलमा परेको छ । यद्धपि मगर संघ युकेले मगर अन्तर्राष्ट्रिय मंचको संयोजकको लागी दाबी गरिएको पनि थिएन । निवेदन पनि दिएका होइनौँ र कसैले संयोजक गरिदिनु पर्यो भनि आग्रह पनि गरेका थिएन । हामीले त नेपाल मगर संघ एउटा अभिभाबक संस्था भएको कारणले नेपाल मगर संघले नै लिड गरोस भन्न चाहन्थ्यौँ ।
 
अन्तमा केही भन्नु छ ?
 
मगरको सल्लाह खरानीको डल्ला नहोस । विश्व मगर महासंघ बेल्जियम र मगर अन्तर्राष्ट्रिय मंच खोल्दा हामीले धेरै समय र पैसा खर्च गरेका छौं । एक दुई खराब नियत भएका व्यक्तिहरुको नितान्त व्यक्तिगत र राजनीतिक स्वार्थका कारणले गर्दा यो क्षति बेहोर्नु परेको छ । यी खराब नियत भएका  तथा नितान्त व्यक्तिगत र पोलिटिकल स्वार्थ भएका व्यक्तिहरुलाई बेलैमा सचेत गराई सजाय दिनु पर्छ र हामी हाम्रो उद्देश्यको साथ अगाडि बढ्नु पर्छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री