पूर्वमन्त्री खपाङ्गीको उपचारमा आर्थिक अभाव

Gore dai 2

काठमाडौँ । जनजाति नेता तथा पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीमगरको स्वास्थ्योपचारमा आर्थिक संकट आइपरेको छ ।
उनका परिवारका सदस्यका अनुसार आर्थिक अभावका कारण अहिले दैनिक सरसफाइ र सुई दिनका लागि नर्स राख्नुको साटो परिवारकै सदस्यले काम चलाउनु परेको छ ।
“दैनिक थेरापी गराउन आउनेलाई दिनुपर्ने दैनिक १ हजार रुपियाँ दिन नसकेको पनि दुई महिना भयो” खपाङ्गीकी श्रीमती विद्या खपाङ्गीले भनिन् ।
अहिले खपाङ्गीको उपचारका लागि दैनिक २ हजार रुपियाँ चाहिने परिवारका सदस्यले जानकारी दिए । पहिलेभन्दा स्वास्थ्य सुधार हुँदै गएकाले औषधि घटाएर दुईवटा औषधि मात्र खुवाउने गरिएको छ ।
२०७० वैशाख १२ गते काठमाडौँमा मोटरसाइकलको ठक्करबाट अर्धचेत अवस्थामा पुगेका खपाङ्गी अहिले पनि अर्धमृत अवस्थामा सैय्यामै लडिरहेका छन् । उनी आफन्त र परिवारजनलाई चिन्न सक्ने भएका छन् । “नातिनीले काइायो दिएर ‘केश कोर्नुस् त हजुरबा’ भन्दा आफ्नै हातले केश कोर्न प्रयास गर्नुहुन्छ । तर आफूले केश कोर्न नसक्दा र इन्जेेक्सनको पीडा सहन नसक्दा आँखाबाट तर्तरी आँशु झारेर रुनु हुन्छ” श्रीमती खपाङ्गीले भनिन् ।
खपाङ्गीको उपचारका लागि देशविदेशका मगर र जनजातिहरुले व्यक्तिगत र सांगठानिक रुपमा सहयोग गरेका थिए । नेपालमा उपचार सम्भव नभएपछि उनलाई सिंगापुर लगेर उपचार पनि गरिएको थियो ।
घरपरिवार नभनी सामाजिक कार्यमा आजिवन खटेका खपाङ्गीको उपचारका लागि हात जोर्नुपर्दा श्रीमती खपाङ्गीलाई पीडा र आक्रोश पनि उठ्छ । “मेरो श्रीमान्ले जति गर्नु देश र समुदायलाई गरेकै हो तर अहिले मृत्यु सैय्यामा जुधिरहँदा पनि सरकार मौन छ । सबैले बलेकै आगो मात्र ताप्दा रहेछन् । मैले अरुबाट धेरै आशा गरेको पनि होइन, एक कल फोन मात्र गरेर उहाको स्वास्थ्य स्थिति बुझने कोसिस न त आफ्नै समाजका ब्यक्तिले गर्छन् न त सरकारी व्यक्तिले नै” उनले आक्रोश पोखिन् ।
उनका अनुसार सरकारले त खपाङ्गीको बारेमा कहिल्यै चासो देखाएको थिएन तर पछिल्ला दिनमा मगर र जनजाति समुदायले पनि वास्ता गर्न छाडेका छन् ।

खपाङ्गीकाे उपचारका लागि उनकी छोरीज्वाइँले घर धितो राखेर कर्जा लिएका छन् । तर समयमा कर्जा चुक्ता गर्न नसक्दा घर नै लिलाममा परिसकेको बताइन्छ ।

Gore dai 1

प्रतिक्रिया

सम्बन्धित सामाग्री