भूकम्प पीडितमा समर्पित एउटा सांझ…

DSC05038

तस्विरः भिजन संसार

 

लन्डन । उनीहरु न कुनै संस्थामा आवद्ध छन्, न लोकप्रियताको लोभ । उनीहरुमा केवल सीप थियो । त्यही सीपको सदुपयोग गर्दै संगीतकर्मीहरुले गत सप्ताहन्त लन्डनमा एउटा बेजोड सांस्कृतिक कार्यक्रम गरे भूकम्प पीडितका लागि । कन्सर्टको नाम थियो ‘प्याट्रोटिक नाइट’ । नामले नै प्रष्ट्याइसकेको छ, कार्यक्रम राष्ट्रिय भावनाले ओतप्रोत गीतमा मात्र समर्पित रहेको ।

गत आइतबार ह्यारो बरो फुटबल क्लव हलमा आयोजित कार्यक्रम भावुक लाग्थ्यो । स्टेजको बायांतिर ठूलो पर्दामा भूकम्पले तहसनहस मातृभूमि र मानिसहरुको रोदन गुन्जिरहेको थियो । गाउने बजाउनेहरु पनि तीन घण्टा लगातार त्यस्तै मन छुने धुन छरिरहेका थिए ।

बेलायतमा रहेर पनि व्यवसायिक संगीतकर्म गरिरहेको संगीतकर्मीहरुको एउटा समूहले त्यस सांझ २२ वटा गीत प्रस्तुत गर्यो । विपत्तिका बेला विश्वभर गाइने एउटा अंग्रेजी गीत ‘वी आर द वल्र्ड’ बाहेक बांकी नेपाली राष्ट्रिय गीत थिए ।

कार्यक्रमको शुरुमा मह क्याम्पमा मात्र अभिनय गर्ने वरिष्ठ अभिनेत्री सावित्री शर्माले शुभकामना मन्तव्य दिइन् । त्यस क्रममा उनले आफू अहिले बेलायत रहेपनि मातृभूमिको पीडाले छट्पटिएर सानै पहल किन नहोस्, कन्सर्टमा प्रत्यक्ष अप्रत्यक्ष सहभागी भएको बताउंदै बेलायतको नेपाली डायस्पोराको स्वदेशप्रतिको लगाव र सहयोग देखेर खुशी लागेको बताइन् । अनि मौनधारणपछि ननस्टप गीत 
संगीत गुन्जिए ।

म मरे पनि मेरो देश बांचिरहोस्, देशले रगत मागे मलाई बली चढाऊ, हे आमा नेपाल, मेरो टोपी, रातो र चन्द्र सूर्य, हर रात सपनीमा, गाउं गाउंबाट उठ जस्ता गीतका धुनमा भावुक नहुने जमात देखिएन ।

कार्यक्रम प्रस्तुत गर्ने समूहमा लिड भोकलिष्ट प्रमोद शर्मा, लिड एवं रिदम गितारिष्ट डम्बर सुब्बा, बेस गितारिष्ट संगीत कुशु, फिमेल भोकलिष्ट सिता वनेम, लिड गितारिष्ट आयुस कार्की, ड्रमर निकेश पुडासैनी र तबलामा उज्ववल श्रेष्ठ थिए ।

‘आफ्नो क्षमताले भ्याएसम्म देशका लागि केही गरौं भन्ने उद्देश्य हाम्रो थियो’, गायक प्रमोद शर्माले भने । कार्यक्रमको परिकल्पना र संयोजन गरेका हुन् आयुश कार्कीले ।

उक्त च्यारिटी सांझबाट करिब २५ सय पाउण्ड संकलन भएको जनाउंदै शर्माले प्रशासनिक खर्च कटाएर बांकी रकम धादिङमा क्षतिग्रस्त विद्यालय निर्माणमा पठाइने जनाएका छन् । कार्यक्रममा अतिथी ब्याण्ड मुक्ति एण्ड रिभाइलले पनि संगीत प्रस्तुत गरेको थियो ।

DSC05052

11230972_10153160287647758_5670037775662359520_n

प्रतिक्रिया

सम्बन्धित सामाग्री