भूकम्पको पीडापछि तङ्ग्रन खोज्दै चलचित्र क्षेत्र

nepali-movie-resham-filili-title-song

काठमाडौँ । भूकम्पपछि अरु क्षेत्र झैँ नेपाली चलचित्र क्षेत्र पनि तङ्ग्रन थालेको छ । उपत्यकाका हलहरुमा चलचित्र प्रदर्शनीको क्रम सुरु भएको छ । दर्शकहरु विस्तारै आफ्ना दुःख र डर भुल्ने प्रयाससँगै आफ्ना प्रिय कलाकारहरुको अभिनय हेर्न चलचित्र घरसम्म जान थालेका छन् ।

“राजधानीका मुख्य मुख्य चलचित्र घरमा हिन्दी चलचित्र बढी चलेका छन्” – निर्माता रामप्रसाद रिजाल भन्छन् । भूकम्पको अघिल्लो दिनसम्म चलेका नेपाली चलचित्र पनि अहिले राजधानीका हलमा प्रदर्शनमा छन् । मोफसलका अधिकांश ठाउँमा भने चलचित्र बजारलाई भूकम्पले खासै प्रभाव पारेन ।

भूकम्पका कारण सर्वसाधारणका मात्र नभएर करिब १३८ चलचित्रकर्मीका घरमा समेत क्षति पुगेको छ ।

नेपाल चलचित्र प्राविधिक सङ्घ, नेपाल चलचित्र कलाकार सङ्घ, जनपक्षीय चलचित्रकर्मी सङ्घ तथा नेपाल चलचित्र द्वन्द्व सङ्घबाट प्राप्त विवरणअनुसार १२२ चलचित्रकर्मीका घर पूर्ण रुपमा क्षति भएका छन् । पाँचमा आंशिक क्षति पुगेको छ । थप ११ कलाकारका घरमा क्षति भए पनि पूर्ण विवरण आउन बाँकी छ ।

भूकम्पबाट राजधानी र मोफसलका धेरै चलचित्र भवनमा क्षति पुगेको छ । “भूकम्पमा परेर केही कलाकार घाइते भए पनि मानवीय क्षति भने व्यहोर्नुपरेन” – चलचित्र विकास बोर्डका प्रशासन अधिकृत हरिसिंह रैखोलाले भने ।  उनले सबै पीडालाई भुलेर चलचित्रकर्मी दर्शकको आँखामा खुसी भर्नेमात्र होइन भूकम्पपीडित जनताका टहरा निर्माण तथा राहत वितरणमा समेत जुटेको बताए ।

हास्यकलाकारहरु महजोडी, दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, सीताराम कट्टेल, कुञ्जना घिमिरे, नायक नायिका दिलीप रायमाझी, जीवन लुइँटेल, यशराज गराच, करिष्मा मानन्धर, झरना थापा, रेखा थापा, केकी अधिकारी र नीता ढुङ्गाना, पत्रकार प्रकाश सुवेदी, निर्माताद्वय अशोक शर्मा, सुनिलकुमार थापा, गीतकार बाबुराम दाहाल र सुमन गिरीलगायतका कलाकार यो कार्यमा सक्रिय छन् ।

निर्माता तथा बोर्डका सदस्य सुरेशदर्पण पोखरेलका अनुसार भूकम्पबाट चलचित्र क्षेत्रमा करिब रु १५ करोड बराबरको क्षति भएको छ । क्षति पूरा गर्न चलचित्रकर्मी एकजुट भएर लाग्नुपर्ने उनको भनाइ छ ।  “म संयोजक रहेको तथा नायिका केकी अधिकारीको सहकार्यमा खोलिएको संस्था ‘वी फर अल’ मार्फत हामीले घर टहरा निर्माणसँगै रु ४० लाखबराबरको राहत सङ्कलन गरयौँ” – बोर्डका सदस्य पोखरेलले भने ।

एक भारतीय महिला योगीको सहकार्य तथा नायिका करिष्मा मानन्धरको पहलमा पीडितका लागि ७५ टहरा निर्माण गरिएको छ । पुख्र्याैली घर भत्किएका हास्य कलाकार दीपकराज गिरी पीडा बिर्संदै पीडितहरुको पीडा भुलाउने प्रयास गरिरहनुभएको छ । गिरीको गत वर्ष ‘सुपरहिट’ भएको फिल्म ‘छ एकान छ’को पुनः प्रदर्शन भयो । त्यसबाट उठेको सम्पूर्ण रकम उहाँले भूकम्पपीडित घर निर्माणमा खर्च गरिने उद्घोष गरेका छन् ।

नवनियुक्त चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले भूकम्प प्रभावित ठाउँमा पालमा जीवन बिताइरहेका गाउँले माझ कलाकर्मीहरुले प्रहसन एवम् नृत्यजस्ता विभिन्न क्रियाकलाप गर्दै पीडितको पीडालाई थोरै भए पनि भुलाउने प्रयास गरिरहेको बताए ।

‘पिरतीको छाता ओढाउँला’ गीतले नै चर्चामा ल्याएर सुपरहिट हुने अपेक्षा गरिएको ‘रेशम फिलिली’ रिलिजको भोलिपल्टै भूकम्पको मारमा परयो । उक्त समयमा ‘सेतो बाघ’, ‘हवल्दार सुन्तली’, ‘अर्धकट्टी’, ‘नाइ नभन्नु ल–३’ जस्ता अत्यधिक चर्चामा आएर सफल हुने अपेक्षा गरिएका चलचित्र पनि भूकम्पले गर्दा प्रदर्शनमा पूर्णविराम लाग्न पुगे । प्रदर्शनमा रहेका यी चलचित्रले घाटा व्योहर्नुपरेको अध्यक्ष राईको ठहर छ ।

“चलचित्र क्षेत्र सिर्जनात्मक भएकाले भूकम्पबाट प्रत्यक्ष देखिनेभन्दा धेरै अदृश्य क्षति पुगेको छ, चलचित्र क्षेत्र पुरानै अवस्थामा फर्कन कम्तीमा वर्षदिन लाग्छ” – अध्यक्ष राई भन्छन् ।  यी चलचित्र पुनः प्रदर्शनमा आउने क्रम सुरु भइसकेको छ । यसले पुरानै अवस्थामा फर्कने मार्गप्रशस्त गरेको कलाकर्मीहरु बताउँछन् ।

राई अध्यक्ष भएसँगै बोर्डले भूकम्प पीडितको सहयोगार्थ रु पाँच लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरयो । स्वदेशी चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धीका रुपमा पुरयाउन अहिले पहल थालिएको अध्यक्ष राईले बताए ।

बक्स अफिस, सिनेमा घर र सिनेमाको वर्गीकरणसँगै आएको चलचित्र नीति कार्यान्वयन गर्ने, राष्ट्रिय चलचित्र पुरस्कारलाई निरन्तरता दिने, चलचित्रसम्बन्धी अभिलेख राख्ने र चलचित्र क्षेत्रमा जीवन व्यतित गरेकालाई सुविधाको व्यवस्था गर्नेजस्ता चुनौती नेपाली चलचित्र क्षेत्रसामु छ ।

स्तरीय चलचित्र निर्माण गर्न उद्योगपति तथा गैरआवासीय नेपालीलाई लगानीका लागि आकर्षित गर्ने, चलचित्र विषय अध्ययनका लागि विश्वविद्यालय स्थापना गर्न पहल गर्ने, सार्क चलचित्र महोत्सव आयोजना गर्नेजस्ता कैयौँ ‘दीर्घकालीन सोच’ ल्याएको अध्यक्ष राईले बताए ।  “राज्यले नै राम्रो चलचित्र बनाउनेलाई प्रोत्साहित गर्नुपर्छ, त्ससका लागि एउटा चलचित्र बराबर कम्तीमा पनि रु १० लाख लगानी गर्नुपर्छ,” उनी भन्छन् – “मेरो दुई वर्षे कार्यकालमा केही गरेरमात्र जान्छु ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री