बेलायती बजेट : बढी कर उठाउने, न्यून आय भएकालाई सेकाउने

George Osborne

बेलायती चान्सलर जर्ज अोसबोर्न /फोटो गार्डियनबाट

 

लण्डन । बेलायतका चान्सलर जर्ज ओसवोर्नले आगामी आर्थिक वर्षका लागि बेलायतको संसदमा बजेट प्रस्तुत गरेका छन् ।
‘बृहत आकांक्षा राख्ने मुलुकको ठूलो बजेट’ नाम दिएको बजेटमा धेरै कर उठाउने र दिँइदै आएको सुविधा घटाउने लक्ष्य लिएको छ ।
प्रस्तुत बजेटमा आउँदो अप्रिलदेखि न्यूनतम ज्याला ७.२० पाउण्ड प्रतिघण्टा तोकिएको छ भने सन् २०२० देखि सो ज्याला ९ पाउण्ड प्रतिघण्टा हुने बताइएको छ । अहिले न्यूनतम ज्याला ६.५० पाउण्ड छ ।
बजेटमा सार्वजनिक सेवाका कर्मचारीको तलब आगामी चारवर्ष १ प्रतिशत मात्र बढ्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, राज्यबाट पाउने विभिन्न सुविधा एउटा परिवारले बढीमा वर्षमा २६ हजार पाउण्डभन्दा बढी नपाउने सीमा तोकिएको छ । जसअनुसार लण्डन बाहिर बढीमा वार्षिक २० हजार पाउण्ड र लण्डनभित्र वार्षिक २३ हजार पाउण्ड मात्र सुविधा पाइने छ ।
यस्तै, भिक्टोरिया क्रस, जर्ज क्रस लगायतका उच्च सैनिक पदक पाउने सैनिकहरुलाई धन्यवाद स्वरुप वर्षेनी २ हजार १२९ देखि १० हजार पाउण्ड सम्म थप पेन्सन पाउने बजेटमा व्यवस्था गरिएको छ ।
काउन्सिलको घरमा भाडामा बस्ने, लण्डनभित्र ४० हजार वार्षिक आय हुने र लण्डनबाहिर ३० हजार पाउण्ड वार्षिक आय हुनेले सन् २०१७ १८ देखि बजार मूल्य बराबर भाडा तिर्नपर्ने छ तर त्यस्तो भाडा १ प्रतिशतले घटाइएको छ ।
काम गर्ने उमेर (१८-२१ वर्ष)पुगेका युवाहरुले पाउने बेरोजगार भत्ता चारवर्षका लागि बन्द गरिएको छ भने वार्षिक ४२ हजार पाउण्डभन्दा कम आम्दानी भएका परिवारका सदस्यहरुले पाउने स्ट्यूडेण्ट ग्रान्टलाई सन् २०१६ देखि लोनमा परिणत गरिएको छ ।
बजेटमा कर्पोरेट ट्याक्स २० प्रतिशतबाट १८ प्रतिशतमा झारिएको छ भने अागामी वर्षदेिख वार्षिक ११ हजार पाउण्डसम्मको कमाइमा कर नलाग्ने भएको छ ।
चान्सलर ओसवोर्नले बेलायतको आर्थिक वृद्धि यसवर्ष २.४ प्रतिशतले हुने प्रक्षेपण गरेका छन् भने सन् २०२० मा १० लाख नयाँ काम खुल्ने भविष्यवाणी गरेका छन् ।
विपक्षी दल लेबोरकी कार्यबाहक नेतृ ह्यारियट हरम्यानले यो बजेट कामदार वर्गका लागि अझ नराम्रो सिद्ध हुने प्रतिक्रिया दिएकी छिन् । तेस्रो ठूलो स्कटिश न्यानलिष्ट पार्टीले यो बजेटले गरिबहरुको जीवन थप पीडादायी बनाउने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री